हरिश्चन्द्र बाग, बैतडी । यही बैशाख ८, ९ र १० गते बैतडीको मेलौलीमा हुन गइरहेको बृहत् स्वास्थ्य शिविरको सम्पूर्ण तयारी पूरा भएको छ । मेलौली नगरपालिकासँगको सहकार्यमा बैतडी समाज कैलालीले आयोजना गर्न लागेको उक्त शिविर मणिलेक माध्यमिक विद्यालयको प्रांगणमा हुने बताइएको छ । शिविर बिहान ८ बजेदेखि सुरु हुने छ । शिविरका लागि मेलौली पुगेका आयोजक तथा चिकित्सकहरू सहितको टोलीलाई मेलौली नगरपालिका सहित आधा दर्जन बढी संघसंस्थाहरूले भव्य स्वागत गरेका छन् । पाटन, सलेना, बाकोट, मेलौली र काडाँ बजारमा आगन्तुकहरूको स्वागत गरिएको हो ।
उक्त स्वास्थ्य शिविरमा नेत्र रोग विशेषज्ञ डा. विद्या प्रसाद पन्त, डा. ओम प्रकाश पन्त, जनरल हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. नर बहादुर मौनी, डा. ज्ञानेन्द्र जोशी, फिजिसियन चेतराज भट्ट, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रवीन्द्र देव भट्ट, युरो सर्जन डा. जोनेश तिवारी, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. जीवन बानियाँ, बाल रोग विशेषज्ञ डा. सुमन नेपाल, मानसिक, मनोरोग तथा नसा रोग विशेषज्ञ डा. साजन खड्का, मनोवैज्ञानिक परामर्शदाता डा. सुशील चटौत, दन्त रोग विशेषज्ञ डा. सन्तोष पाण्डेय र डा. सङ्गीता पाण्डेद्वारा सेवा प्रदान गरिने छ ।
बैतडी समाजले गर्दै आएको स्वास्थ्य शिविरसँगै त्यस क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ त्यहाँ रहेका स्थानीय सरकार र सरोकारवालासँग पर्यटनका विषयमा अन्तरक्रिया गर्ने र समाजको तर्फबाट त्यस भेगका धार्मिक पर्यटकीय स्थलहरूको अवलोकन गरी वृत्तचित्र तयार पारी प्रचारप्रसार गर्ने शिविर संयोजक गजेन्द्र वीर चन्दले जानकारी दिनुभयो ।
तीन दिनसम्म हुने उक्त शिविरकै बिचमा समाजले बैशाख ९ गते मेलौलीमा दशौँ बृहत् रक्तदान महोत्सव गर्ने तयारी समेत गरेको छ । रक्तदान कार्यक्रमले स्थानीय युवाहरूलाई रक्तदान प्रति जनचेतना र रक्तदान गर्न अभिप्रेरित गर्न मद्दत पुग्ने हुनाले पायक पर्ने सम्पूर्णलाई रक्तदान गर्न उक्त कार्यक्रम संयोजक राज बहादुर चन्दले आह्वान समेत गर्नुभयो । समाजले हालसम्म नौ पटक रक्तदान कार्यक्रम गरेको र रक्तदान कार्यक्रममा ८ सय ५४ जनाले रक्तदान गरेको संयोजक चन्दले बताउनु भयो ।