हरिश्चन्द्र बाग, कञ्चनपुर, ०६ बैशाख । सुदूरपश्चिम प्रदेशका तराइका दुई जिल्ला कञ्चनपुर र कैलाली बाढीको उच्च जोखिममा रहेका जिल्ला हुन् । पछिल्लो एक दशकयता वर्षातमा आउने बाढीले वर्षेनी ठूलो धनजनको क्षति गर्ने गरेको छ । त्यस्तो क्षतिलाई न्यूनीकरण गर्नका लागि कञ्चनपुरको पुनर्वासमा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास गरिएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) को आयोजना तथा पुनर्वास नगरपालिकाको समन्वयमा आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन परियोजना एमरेड अन्तर्गत दोदा जलाधार क्षेत्र प्रभावित समुदायहरूका लागि आधारभूत खोज तथा उद्धार सम्बन्धी ४ दिने तालिम बैशाख ३ देखि ६ गते सम्म सञ्चालन गरिएको छ ।
बुधबार दोदा नदीमा खोज तथा उद्धार सम्बन्धी कृत्रिम नमुना अभ्यास समेत गरिएको परियोजना संयोजक महेश घिमिरेले जानकारी दिनुभयो । कृत्रिम नमुना अभ्यासमा नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम समितिका प्रशिक्षक लक्ष्मण दत्त भट्ट र दीपराज चटौतले विपद्को समयमा गरिने गतिविधिको स्थलगत अभ्यासको सहजीकरण गर्नुभएको थियो । बैशाख ३ देखि तालिम प्रदान गरिएको र अन्तिम दिन बुधबार नदीमै नमुना अभ्यास गरिएको हो । नमुना अभ्यासपछि समग्र तालिम र अभ्यासको समीक्षा गर्दै कार्यक्रमको समापन गरिएको छ । समापनका क्रममा सम्बोधन गर्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले बाढीजन्य विपद्को जोखिम न्यूनीकरणका लागि नगरपालिकाले विभिन्न प्रयासहरू गरिरहेको उल्लेख गर्दै सबै नागरिकहरूलाई सचेत र जागरूक बनाउन आवश्यक रहेको बताउनु भयो । विपद् पूर्व तयारीलाई प्राथमिकता दिई गरिने यस्ता अभ्यासले जोखिम न्यूनीकरण गर्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो । पूर्व सूचना प्रणालीलाई समेत नगरपालिकाले प्राथमिकता दिएको उहाँको भनाइ छ ।
तालिममा सहभागीहरूले विपद्को समयमा आफू मात्रै नभई अरूलाई समेत बचाउन सकिने विषयमा ज्ञान प्राप्त गरेको सुनाउनु भयो । खोज तथा उद्धार कार्यदलका ६६ जना मध्ये ३३ जनालाई अहिले तालिम दिइएको छ भने बाँकी खोज तथा उद्धार कार्यदलका ३३ जना, प्राथमिक उपचारका ३३ जना र पूर्व सूचना प्रणालीका ३३ जना गरी ९९ जनालाई चरणबद्ध रूपमा तालिम र अभ्यास गराइने परियोजनाले जनाएको छ । यसका अतिरिक्त पुनर्वासका ९ वटा समुदायमा जनवरीदेखि आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन परियोजना लागु गरी बाढी प्रभावित नदी तटीय क्षेत्रहरूमा ८६ बिघा उखु खेतीमा सहयोग गरेको बताइएको छ । कार्यक्रमलाई प्रभावकारी बनाउन पुनर्वास नगरपालिका र भागेश्वर चिनी उद्योगसँग समेत सहकार्य गरिएको बताइएको छ । विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्व अभ्यासले महत्त्वपूर्ण सहयोग गर्ने विश्वास गरिएको छ ।
यसअघि बैशाख ३ गतेका दिन गरिएको उद्घाटन समारोहमा उक्त तालिमको अध्यक्षता नेपाल राष्ट्रिय समाज कल्याण संघका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले गर्नुभएको थियो भने प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगर उपप्रमुख भुलिया कुमारी राना हुनुहुन्थ्यो । त्यस क्रममा उहाँले दोदा प्रभावित समुदायहरूका लागि सो तालिमको आयोजना गरेकोमा आयोजक एनएनएसडब्ल्युए र एमरेड परियोजनालाई हार्दिक धन्यवाद दिँदै विपद् पूर्व तयारीका लागि सबै निकायहरूबिच पारस्परिक सहयोग र समन्वय हुन जरुरी रहेको कुरामा जोड दिनुभएको थियो । प्राकृतिक विपद्हरूलाई रोकथाम गर्न नसके पनि पूर्वतयारको माध्यमबाट विपद्को असरलाई न्यून गर्न सकिन्छ र पुनर्वास नगरपालिकाले पनि विगतको बाढीको अनुभवलाई आत्मसात् गर्दै रबर वोट खरिद गरी पूर्व तयारीका कार्यहरू सुरु गरिसकेको छ भने स्थानीय आपत्कालीन केन्द्रको सञ्चालनको तयारीको थालनी गर्दै प्रविधिको प्रयोग गरेर पूर्व सूचना प्रणाली मार्फत मौसमको जानकारीमा सबैको पहुँच पुग्ने किसिमको सूचना संयन्त्रको तयारी गर्ने योजना रहेको कुरा बताउनु भयो ।
उद्घाटन समारोहकै क्रममा सम्बोधन गर्दै एनएनएसडब्ल्युएका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले विपद् जोखिम व्यवस्थापनका सन्दर्भमा कुनै एक पक्ष वा निकायले मात्र समाधान गर्न नसक्ने हुँदा यो त बहुपक्षीय सरोकारको विषय हो भन्नुभयो । विपद्को सामना गर्ने पहिलो वर्ग भनेकै स्थानीय समुदाय भएको हुनाले स्थानीय समुदायलाई विपद् प्रति जागरूक बनाउन, विपद्सँग सम्बन्धित योजना तथा कार्यक्रम तर्जुमा गर्न तथा विपद्को घटना हुनासाथ प्रतिकार्यका लागि परिचालित हुन समुदाय स्तरमा खोज तथा उद्धार कार्यदल गठन गरी खोज तथा उद्धार तालिमको आयोजना गरिएको उहाँको भनाइ छ । समुदाय स्तरमा गठन गरिएका समिति तथा कार्यदलहरूलाई पालिकामा अभिलेखीकरण गरी संस्थागत रूपमा परिचालन गर्नुपर्ने कुरामा विशेष जोड दिनुभएको छ । समुदाय स्तरमा गठन भएका समितिहरूलाई पालिका स्तरबाट परिचालन गरी विपद्को क्षेत्रमा सहकार्य गर्दै विपद् पूर्व, विपद् अवधि र विपद् पश्चात्का सबै गतिविधिहरू सञ्चालन गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभएको छ । कार्यक्रमको सहजीकरण एनएनएसडब्ल्युएका मिल अफिसर गोविन्द नारायण उपाध्यायले गर्नुभएको थियो भने स्वागत मन्तव्य र कार्यक्रमको उद्देश्यबारे परियोजना संयोजक महेश घिमिरेले प्रकाश पार्नु भएको थियो । कार्यक्रमका उद्देश्य बारे प्रकाश पार्दै घिमिरे भन्नुहुन्छ, “विपद्को पहिलो झट्का सहने रेस्पोडेन्डको रूपमा समुदाय रहने हुँदा समुदाय स्तरमा गठित कार्यदलहरूको खोज तथा उद्धार गर्न सक्ने क्षमता अभिवृद्धि गर्ने तथा भविष्यमा हुन सक्ने मानवीय क्षतिलाई न्यूनीकरण गर्न कार्यदललाई सङ्गठित गर्नका लागि यो तालिमको आयोजना गरिएको हो ।”