हरिश्चन्द्र बाग, कञ्चनपुर, ०६ बैशाख । कञ्चनपुरको बेलौरीमा रहेको बेलौरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र सदस्य पदमा मतदान हुने भएको छ । बुधबार साँझ प्रकाशन गरिएको उम्मेदवारहरूको अन्तिम सूचीमा उल्लेख भए अनुसार अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदमा दुई दुई जनाको उम्मेदवारी दर्ता भएको छ भने सदस्य पदका लागि १२ जनाको उम्मेदवारी रहेको छ । निर्वाचन संयोजक नारायण सिंह ऐरीले दिनुभएको जानकारी अनुसार अध्यक्ष पदमा हिरासिंह बिष्ट र लक्ष्मीनारायण चौधरीको उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा डम्बर दत्त भट्ट (हिरासिंह बिष्ट प्यानलबाट) र जल बहादुर चौधरी (लक्ष्मीनारायण चौधरी प्यानलबाट) को उम्मेदवारी दर्ता भएको छ । अन्य पदाधिकारीका लागि भने हिरासिंह बिष्ट प्यानलबाट एकल उम्मेदवारी परेको छ । उद्योग उपाध्यक्षमा विजयलक्ष्मी श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा हरिप्रसाद खरेल, महासचिवमा गोविन्द प्रसाद सापकोटा, सचिवमा वसन्त पुन मगर, कोषाध्यक्षमा महेन्द्र सिंह बुडालको एकल उम्मेदवारी परेको हो । उहाँहरू निर्विरोध निर्वाचित भइसके पनि निर्वाचन समितिले घोषणा भने गर्न बाँकी छ ।
आठ जना सदस्य पदका लागि हिरासिंह बिष्ट प्यानलबाट देव बहादुर शाही, भवेश्वर पाण्डेय, यम बहादुर खत्री, कृष्ण प्रसाद बगाले, विष्णुमाया अर्याल, तारासिंह बिष्ट, घनराज सुवेदी र दिनेश बहादुर कुँवरको उम्मेदवारी दर्ता भएको छ भने लक्ष्मीनारायण चौधरी प्यानलबाट आशिष् सुनार, दिनेश चौधरी, रामेश्वर न्यौपाने र खडक बहादुर चौधरीको उम्मेदवारी दर्ता भएको बताइएको छ । बेलौरी उद्योग वाणिज्य संघको नयाँ कार्य समिति चयनका लागि यही बैशाख ९ गते मतदान हुने निर्वाचन समितिले जनाएको छ । यस पटक जम्मा ५ सय २८ जनाले मतदान गर्न पाउने छन् ।