हरिश चन्द्र बाग, कञ्चनपुर, ०३ माघ । आरक्षपीडितको समस्या समाधान गर्न संघीय सरकारका मन्त्रीत्रय शक्ति बस्नेत, बिना मगर र पद्मा अर्यालले चाँसो देखाउनु भएको छ । कञ्चनपुर जिल्ला स्थित तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) विस्तारका कारण विस्थापित भएका परिवारलाई उचित व्यवस्थापन गर्ने सम्बन्धमा कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनुभएकी खानेपानी मन्त्री बिना मगरको पहलमा वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र भूमि व्यवस्था मन्त्री पद्मा अर्याल यही माघ ४ गते शनिबार कञ्चनपुर पुगेर स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरका आरक्षपीडित जनताहरु संगको भेटघाटमा उचित बासस्थानको व्यवस्था गर्ने प्रतिबद्धता जनाए अनुसार उहाँकै अग्रसरतामा थप दुई मन्त्री पनि कञ्चनपुर पुग्ने बताइएको छ । यसअघि तीनैजना मन्त्रीहरूले सिंहदरबारमा आरक्ष पीडितहरुको समस्या समाधान गर्न सामुहिक छलफल गर्नु भएको थियो । कञ्चनपुरका आरक्ष पीडित र सुकुम्बासी जनताको मागलाई छिटो भन्दा छिटो सम्बोधन गर्न तीनैजना सहमत हुनुभएको थियो । यसअघि पनि लामो समयदेखि आरक्ष पीडितहरुले तीनै तहका सरकारका जनप्रतिनिधिहरुसँग भेट गरी आफूहरुको मागलाई सम्बोधन गर्न पटकपटक ध्यानाकर्षण गराउँदै आएका थिए ।
आरक्षपीडितका समस्या समाधान गर्न तीनजना मन्त्रीबीच व्यापक छलफल ।।
आरक्ष विस्तारका क्रममा विस्थापित भएका परिवारलाई उचित व्यवस्थापन गर्ने सम्बन्धमा वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, भूमि व्यवस्था मन्त्री पद्मा अर्याल र खानेपानी मन्त्री बिना मगरबीच पुस तेस्रो साता व्यापक छलफल भएको थियो । कञ्चनपुरका आरक्ष पीडितहरुको मागलाई छिटो भन्दा छिटो सम्बोधन गर्न तीनै जना मन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उक्त क्षेत्रका पीडित जनताका समस्या समाधान गर्न खानेपानी मन्त्री बिना मगरले अगुवाई गरिरहनु भएको छ ।
यसअघि पनि आरक्ष पीडितहरुले वन तथा वातावरण मन्त्री बस्नेतसँग भेट गरी घरबार विहीन भएका नागरिकलाई उचित व्यवस्थापन गर्नुपर्ने माग राखी ध्यानाकर्षण गराएका थिए । छलफलमा वन मन्त्री बस्नेतले घरबारविहीन भएका उक्त क्षेत्रका जनताको उचित बसोबासका लागि व्यवस्थापन चाँडो गर्नुपर्ने बताउनु भएको थियो । उहाँले संकटकालको समयमा आरक्षबाट पीडित हुँदै आएका भूमिहीन जनताको व्यवस्थापनमा सरकार गम्भीर रहेको बताउनु भयो ।
त्यस्तै भूमि व्यवस्था मन्त्री अर्यालले पनि घरबारबिहीन आरक्ष पीडितहरुको मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको प्रतिक्रिया जनाउनु भयो । मन्त्री अर्यालले जग्गाविहीन परिवारलाई उचित क्षतिपूर्ति दिन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । २०५८ सालमा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा सरकारले कञ्चनपुर जिल्लाका दश वटा गाविस रौतेलीविचुवा, बेल्डाँडी, रामपुरविलासपुर, लक्ष्मीपुर, पिपलाडी, झलारी, दैजी, सुडा, देखतभुली र कृष्णपुर लगायतका स्थानबाट बस्ती विस्थापित गरेको थियो ।
विस्थापित भएका परिवारले हालसम्म पनि जग्गा पाउन सकेका छैनन् । माओवादी द्वन्द्वको संकटकालका बेला विस्थापित भएका परिवारहरू शिविर बनाएर अझैपनि खुला आकाशमुनि जीवन बिताइरहेका छन् । लामो समयदेखि शिविरमा टहरा बनाएर बस्दै आएका विस्थापित परिवारले जग्गा दिएर भएर पनि सरकारले समस्याको समाधान गर्नुपर्ने माग राख्दै आएका छन् ।