हरिश्चन्द्र बाग, कञ्चनपुर, २४ चैत । सुदूरपश्चिम प्रदेशमा हुलाकी सडक खण्ड कालोपत्रे गर्ने काम अलपत्र परेको छ । कैलालीको सत्ति–भजनी–धनगढी र लम्की–टिकापुर–खक्रौला तथा कञ्चनपुरको डोकेबजार–बेलौरी–बेलडाँडी–दैजी सडक खण्ड कालोपत्रे गर्न पटक–पटक म्याद थप गर्दासमेत ६ वर्षदेखि काम अधुरै छ ।
तराई मधेसको दक्षिणी भेगको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सुदूरपश्चिमका कैलाली र कञ्चनपुर खण्डको सडक कालोपत्रे गर्ने कार्य अलपत्र छ । निर्माण कम्पनीले समयमा काम नगर्दा आम उपभोक्ता, व्यवसायी मात्रै होइन सडक आसपास घर भएका हजारौँ नागरिकले लामो समयदेखि सास्ती खेप्नुपरेको कञ्चनपुरको बेलौरी बजारका स्थानीय व्यवसायी गोकर्ण रानाले गुनासो गर्नुभयो । उहाँले स्थानीय तहका जनप्रतिनिधिदेखि सरोकारवाला पक्ष सबै मौन भइदिँदा ठेकेदारले लापरबाही गरिरहेको आरोप समेत लगाउनु भयो ।
कञ्चनपुरको डोकेबजार–बेलौरी–बेलडाँडी–दैजी ६२ किलोमिटर लम्बाइको पूर्व–पश्चिम सडक खण्डमा २६ किलोमिटर सडक अझै कालोपत्रे हुन बाँकी छ । निर्माण कम्पनीहरूले सडक कालोपत्रे गर्ने ठेक्का पाएको ६ वर्ष नाघिसक्यो । हुलाकी सडक कालोपत्रेका लागि पाँच पाँच पटक म्याद थप्दा समेत काम भएको छैन । सञ्चारमाध्यममा आलोचनाका खबर आएपछि काम गरेजस्तो गर्ने तर कुनै न कुनै बहाना बनाएर फेरि हराउने निर्माण कम्पनीहरूको प्रवृत्ति छ । थपिएको म्याद भित्र कालोपत्रे गरिसक्ने गरी काम गरिरहेको निर्माण कम्पनी शर्मा राजेन्द्र जेभीका बेलडाँडी–दैजी साइट इन्चार्ज हरिदत्त पन्तको जिकिर छ । तीन खण्ड मध्ये बेलौरीदेखि बेलडाँडीसम्मको सडक खण्ड निर्माणको ठेक्का पाएको बाबा हंस सिद्धिशाही जेभी त हुलाकी राजमार्ग योजना कार्यालयकै सम्पर्कमा नआउने गरेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर दीपक सुनारको भनाइ छ ।
निर्माण कम्पनीको काम गराई कछुवा गतिमा भएकोले राजमार्ग कालोपत्रेको काममा अत्यन्त ढिलासुस्ती र चरम लापरबाही भएको छ । निर्माण कम्पनीहरूले कालोपत्रे गरेको सडक खण्डसमेत ठाउँ ठाउँमा टुटफुट भइसकेको छ भने केही ठाउँमा भत्किएको छ । हुलाकी राजमार्ग कालोपत्रे गर्ने क्रममा निर्माण कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरी आँखामा छारो हाल्ने कार्य गरेको उपभोक्ताहरूको गुनासो छ ।
सुदूरपश्चिममा हुलाकी सडक खण्डको अवस्था
डोकेबजार–बेलौरी–बेलडाँडी–दैजी ६२ किलोमिटर लम्बाइको पूर्व–पश्चिम सडक खण्ड
- कालोपत्रे सम्पन्न : ३५.७ किलोमिटर
- कालोपत्रे हुन बाँकी : २६.३ किलोमिटर
- थप गरिएको अन्तिम म्याद : २०८० असार ३०
- भौतिक प्रगति : ७८ प्रतिशत
- आर्थिक प्रगति : ७५ प्रतिशत
सत्ती–भजनी–धनगढी ४४ किलोमिटर लम्बाइको पूर्व–पश्चिम सडक खण्ड
- कालोपत्रे सम्पन्न : ० किलोमिटर
- कालोपत्रे हुन बाँकी : ४४ किलोमिटर
- थप गरिएको अन्तिम म्याद : २०८० पुस २९
- भौतिक प्रगति : ४१ प्रतिशत
- आर्थिक प्रगति : ३२ प्रतिशत
लम्की–टिकापुर–खक्रौला २९.७१२ किलोमिटर लम्बाइको उत्तर–दक्षिण सडक खण्ड
- कालोपत्रे सम्पन्न : ३ किलोमिटर
- कालोपत्रे हुन बाँकी : २६.७१२ किलोमिटर
- थप गरिएको अन्तिम म्याद : २०८० पुस २५
- भौतिक प्रगति : ४५ प्रतिशत
- आर्थिक प्रगति : ३७ प्रतिशत