हरिश्चन्द्र बाग, कञ्चनपुर, २३ चैत । देशको राजधानीमा मिटर ब्याज विरुद्धको आन्दोलन उत्कर्षमा पुगेको बेला कञ्चनपुरका पीडितहरूबाट पनि न्यायका लागि प्रशासनमा उजुरी पर्न थालेको छ । मिटर ब्याज र सोसँग सम्बन्धित घटनाहरूलाई गम्भीर अपराधका रूपमा लिई पीडितलाई उचित न्याय र पीडकलाई सजायको व्यवस्था गर्न सरकारले कानुन नै बनाउने आश्वासन दिएसँगै देशभर यससँग सम्बन्धित घटनाहरू बाहिर आउन थालेका हुन् ।
कञ्चनपुरको बेलौरीका केही पीडितहरूले समेत आफूहरूलाई न्याय र दोषीलाई कानुन बमोजिम सजायको माग गर्दै ठगी, जालसाजी तथा मिटर ब्याज सम्बन्धी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा उजुरी दिएका छन् । बेलौरी नगरपालिका वडा नम्बर १० बण्डाजाला बस्ने मिना कुमारी चौधरी, सोही वडाको भुडा बस्ने काली चौधरी र बेलौरी नगरपालिका वडा नम्बर ८ पचुइ बस्ने घुम्मन रानाले बेलौरी बजारमा राज कम्प्युटर लगायत थुप्रै व्यवसायका सञ्चालक राजकुमार चौधरी र उनकी श्रीमती रिता चौधरी विरुद्ध ठगी, जालसाजी तथा मिटर ब्याज विरुद्ध उजुरी दिएका हुन् । उनीहरूले दिएको उजुरी जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको बताइएको छ ।
बेलौरी नगरपालिका वडा नम्बर १० बण्डाजाला बस्ने मिना कुमारी चौधरीले आफ्ना ससुरा बम बहादुर डगौराको नाममा रहेको कुल ७३८२.५० वर्ग मिटर क्षेत्रफल (२१.८४१ कट्ठा) को जग्गा ससुराका भान्जा नाता पर्ने सरोज चौधरीले जालसाजी गरी बेलौरी बजार बस्ने राजकुमार चौधरीको श्रीमती रिता चौधरीको नाममा रजिस्ट्रेसन पास गरी ठगी गरेको बताएकी छन् । २०७४ साल असोजमा आफूहरू पसल राख्ने मनसायले ऋण निकाल्न बैङ्किङ कारोबार गर्ने सल्लाह गरिरहेको समयमा आफ्नै ससुराको भान्जा नाता पर्ने सरोजले ससुरालाई ललाइ फकाइ गरी बैङ्किङ कारोबार गरिदिन्छु भनी आफ्नो निजी स्वार्थ पूर्तिका लागि परिवारका अन्य कुनै सदस्यलाई जानकारी समेत नगराई बेलौरी बजार बस्ने राजकुमार चौधरीको जालमा पारी उनीहरूकै संलग्नतामा मालपोत कार्यालयमा लगी राजकुमारकी श्रीमती रिता चौधरीको नाममा जमिन पास गरेको उजुरीकर्ता मिनाको भनाइ छ । हालसम्म उक्त व्यक्तिबाट आफ्नो घरपरिवारले कुनै पनि रकम नलिएको र उल्टै रु. १ लाख २० हजार रकम ब्याज तिर्छु भनी लगेकोले उक्त ठगी गर्ने व्यक्तिलाई कानुन बमोजिम आवश्यक कारबाही गरिदिन माग गर्दै मिनाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा उजुरी दर्ता गराएकी हुन् । न्यायका लागि यसअघि वडा कार्यालयदेखि नगरपालिका कार्यालयसम्म हारगुहार गर्दा न्याय नपाएको उनको दुखेसो छ ।
बेलौरी नगरपालिका वडा नम्बर १० भुडा बस्ने काली कुमारी चौधरीले सोही राजकुमार चौधरीबाट आफू पनि ठगिएको बताएकी छन् । आफ्नो घरपरिवारलाई ऋण लागेको बेला साहु महाजनको रूपमा सम्पर्क भएका राजकुमारले २०७६ सालमा रु. २ लाख रकम ऋण दिएको र बाँकी ऋण पनि तिरिदिने भनी कागजमा ८ लाख कर्जा देखाई १ वर्षमा पैसा फिर्ता गरे जमिन फिर्ता गर्ने भनी कागजी सम्झौता र सोही मितिमा आफ्नो क्षेत्रफल २१३५ वर्ग मिटर (६.३१६ कट्ठा) र १७९० वर्ग मिटर (५.२९५ कट्ठा) गरी जम्मा ११.६११ कट्ठा जग्गा राजकुमारले आफ्नी श्रीमती रिता चौधरीको नाममा रजिस्ट्रेसन पास गरेको उजुरीकर्ता काली कुमारी चौधरीको भनाइ छ । अहिले सबै हरहिसाब गरेर जग्गा धनी पुर्जा फिर्ता माग्न जाँदा कहिले १८ लाख त कहिले त्यसको दोब्बर जति रकम माग गर्ने गरेको र पैसा नदिने भए जग्गा जमिन खाली गर्न धम्की दिने गरेको उनको आरोप छ ।
त्यस्तै, बेलौरी नगरपालिका वडा नम्बर ८ पचुइ बस्ने घुम्मन रानाले पनि राजकुमार चौधरी विरुद्ध नै ठगी तथा मिटर ब्याज लगाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् । २०७२ पुसमा साहु महाजन राजकुमार चौधरीसँग सम्पर्क भई घरायसी खर्चको लागि रु. ३ लाख ऋण लिएको रानाको भनाइ छ । त्यस समयमा राजकुमार चौधरीले बैङ्कमा आफ्नो राम्रो सम्बन्ध भएको दाबी गर्दै जग्गाधनी पुर्जा आफ्नो नाममा नामसारी गर्न र त्यसैलाई धितो राखेर ऋण निकाली दिने लोभ देखाउँदा घेर पर्खाल समेत भएको पक्की घर सहितको कुल १६५५ (४.८९६ कट्ठा) वर्ग मिटर क्षेत्रफलको जग्गा उनकै नाममा जग्गा रजिस्ट्रेसन पास गरिदिएको र त्यस समयमा मालपोत कार्यालयमा लागेको रु. ५५ हजार ७२० रकम राजस्व तिरी सावाँ रकम र राजश्व तिरेपछि भएको रु. ३ लाख ५५ हजार ७२० को वार्षिक ३६ प्रतिशतका दरले ६ महिनासम्म हुन आउने रकममा नगद २५१ थप गरी कुल ४ लाख २० हजारको करार नामा कागज गरेको रानाले बताएका छन् । आफूले नगद पाएको रु. ३ लाखबाट ५ प्रतिशत कमिसन स्वरूप १५ हजार र एक महिनाको ब्याज स्वरूप १० हजार ६७१ गरी २५ हजार ६७१ रकम त्यसै समयमा राजकुमारलाई दिएको घुम्मनले पोल खोलेका छन् । तर त्यो कमिसन रकम कसलाई दिइयो भन्ने कुरा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् । त्यसको २ महिनापछि किस्ता स्वरूप रु. ५० हजार नगद रकम समेत राजकुमारलाई बुझाएर आएको उनको भनाइ छ ।
सहमति अनुसारको रकम ६ महिना पुग्नै लाग्दा फिर्ता गर्न जाँदा राजकुमार चौधरीले आनाकानी गरेको र थानामा झिकाई आफू र आफूलाई सहयोग गर्ने व्यक्तिहरूलाई समेत धाक धम्की दिई सहमति उल्लङ्घन गरेको घुम्मन रानाले आरोप लगाएका छन् । यस बिचमा गाउँ समाजमा बसेर छलफल गर्दा मोटो रकम माग गरेको हुँदा आफूलाई चित्त नबुझेपछि विवाद बढ्दै गएको रानाको भनाइ छ । पछिल्लो समयमा सम्पर्क गर्दा रु. ३६ लाख रकम दिए मात्रै जमिन फिर्ता गर्ने, नत्र घरजग्गा खाली गराउने धम्की दिने गरेकोले कानुन बमोजिम कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको रानाले बताएका छन् । मिटर ब्याज र त्यससँग सम्बन्धित केही उजुरी दर्ता हुन आएको र तिनीहरूलाई आवश्यक छानबिनको प्रक्रियामा अगाडि बढाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । मिटर ब्याजसँग जोडिएका केही विषयमा कानुनमा समेत पर्याप्तता नभएकोले नेपाल सरकारले कानुनी प्रबन्ध गर्न पनि लागिरहेको हुँदा सोही अनुसार कामकारबाही अगाडि बढाएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको भनाइ छ । उक्त घटनाहरूमा ठगी तथा जालसाजी समेत आकर्षित हुने देखिन्छ ।
बेलौरी नगरपालिका वडा नम्बर ४ क्रान्ति चोक चपर्तला बस्ने देव प्रसाद चौधरीले समेत आफू पनि पीडित रहेको बताएका छन् । उनै साहु महाजन राजकुमार चौधरीसँग २०७७ फागुनमा रु. १२ लाखको कारोबार भएको देव प्रसादको भनाइ छ । राजकुमारबाट आफूहरूलाई आवश्यक परेकोले रु. ५ लाख २ हजार ४ सय ८६ नगद लिएको र आशा लघुवित्तमा राखेको आफ्नो जग्गाधनी पुर्जा निकाल्न लागेको रु. ४ लाख १३ हजार ५ सय खर्च समेत उनैले तिरी दिएको बताइएको छ । सो बापत १ वर्षमा फिर्ता हुने गरी देव प्रसाद चौधरीको नाममा रहेको १०२४.३७ वर्ग मिटर (३.०३० कट्ठा) र उनकी आमा हिंगाली चौधरीको नाममा रहेको २१४९ वर्ग मिटर (६.३५७ कट्ठा) जिउनी खेत समेत राजकुमारले आफ्नी श्रीमती रिता चौधरीको नाममा पास गर्दा लागेको राजश्व र मालपोत खर्च गरी २ लाख ८४ हजार १४ रुपैयाँ समेत जोडेर जम्मा १२ लाखको हिसाब किताब भएको उनको भनाइ छ । सोही दिन एक वर्षको भाका राखी ब्याज समेत जोडेर रु. १५ लाख १२ हजार ९ सय रकम बुझिलिएको कागज गरेको र त्यसको एक महिना पछि घरका अन्य दाजु भाइले समेत थाहा पाएपछि स्थानीय जनप्रतिनिधि, गाउँका भद्र भलादमीहरू साक्षी बसेर दुवै पक्षबाट भएको कागजमा रु. १७ लाख ४५ हजार १८० रकमको ३ वर्षको व्याज समेतको हुन आउने रकम भई कागजात गरेको देखिन्छ ।
पछिल्लो कागजात अनुसारको भाका नाघ्न अझै एक वर्ष बाँकी छ । यसबिचमा उक्त रकम बुझाई आफ्नो नामको जग्गा फिर्ता लिन भनेर साहुकहाँ जाँदा अब उक्त जग्गा फिर्ता नहुने भन्दै उल्टै थर्काउने गरेको देव प्रसादकी श्रीमती हिमित्री चौधरीको भनाइ छ । न्यायका लागि नगरपालिकाको न्यायिक समिति र इलाका प्रहरी कार्यालयमा जाँदा त्यहाँ निवेदन समेत दर्ता नगरिदिएको बताउँदै उनले अब अदालतमै जाने निधो गरेको बताएकी छन् । यिनै विषयमा प्रतिवादी भनिएका राजकुमार चौधरीसँग प्रतिक्रिया लिँदा उनले आफूले कसैलाई ठगी, जालसाजी र मिटर ब्याज चलाउने कार्य नगरेको बताएका छन् । अफवाह फैलाई आफ्नो चरित्र हत्या गर्ने कोसिस भइरहेको बताउँदै उनले यो सरासर झुटो रहेको जिकिर गरेका छन् । आफूले उनीहरूलाई ऋण दिई सहयोग गरेको र त्यसका सबै कागजात आफूसँग सुरक्षित रहेको उनको भनाइ छ ।