हरिश्चन्द्र बाग, कञ्चनपुर, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीको बेलौरी नगर सभापतिमा विष्णु प्रसाद शर्मा चयन हुनु भएको छ । आइतबार कञ्चनपुरको बेलौरीमा भएको नगर भेलाले शर्मालाई नगर सभापतिमा चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सुदूरपश्चिम प्रदेश ईन्चार्ज ज्ञानेन्द्र महताले जानकारी दिनुभयो । उहाँका अनुसार उपसभापतिमा गणेश बहादुर लामिछाने, सचिवमा तारा सिंह बिष्ट, कोषाध्यक्षमा देवकी पाण्डेय तथा सदस्यहरूमा पूर्ण बहादुर खड्का, दीपक भट्ट, कुमार कार्की, गोपीलाल चौधरी, बिरबल खत्री र पुष्पा भुसाललाई चयन गरिएको छ ।
नगर सभापति शर्माले आफूलाई विश्वास गरी राष्ट्रिय स्वतन्त्र पार्टीको नगर सभापति जस्तो गरिमामय पद्मा चयन गरेकोमा पार्टी प्रति कृतज्ञता व्यक्त गर्दै गाउँ, समाज र देशको लागि अहोरात्र लागिपर्ने प्रतिबद्धता जनाउनु भएको छ । टोल टोलमा राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठन विस्तार गर्न सिङ्गो नगरको टिम खटिने सभापति शर्माको भनाइ छ । उहाँले समाजमा भइरहेका गलत गतिविधि विरुद्ध डटेर लड्ने दाबी समेत गर्नुभयो ।
सभापति शर्माले नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीको नगर नेतृत्व सम्हाल्नु भएको हो । सभापति हुनु पूर्व आइतबार दिउँसो आफ्नो सामाजिक सञ्जालमा शर्माले लेख्नु भएको छ, "विगत लामो समयदेखि आजका मितिसम्म पार्टीमा लागी पार्टीका लागि मैले भ्याएसम्म पार्टीको हकहितका लागि लागे । तर पार्टीमा म पनि छु भन्ने मलाई कुनै अनुभूति समेत नभएकोले आजकै मितिदेखि नेपाली काँग्रेस पार्टी परित्याग गरेको घोषणा गर्दछु ।"
त्यस्तै, नगर सचिव तारा सिंह बिष्टले पनि नेपाली काङ्ग्रेस पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी सचिवको जिम्मेवारी सम्हाल्नु भएको हो । सचिव पदमा चयन हुनु पूर्व आइतबार दिउँसो आफ्नो सामाजिक सञ्जालमा बिष्टले लेख्नु भएको छ, "२०४८ सालदेखि आजका मितिसम्म यस नेपाली काँग्रेस पार्टीमा लागी यस पार्टीका लागि मैले भ्याएसम्म पार्टीको हकहितका लागि काम गर्दै आइरहँदा पार्टीका केही जिम्मेवार व्यक्तिले गरेको व्यवहार प्रति चित्त नबुझेको र म यो नेपाली काँग्रेस पार्टीमा म पनि छु भन्ने मलाई कुनै अनुभूति समेत नभएकोले आजकै मितिदेखि उक्त पार्टी परित्याग गरेको घोषणा गर्दछु ।"