हरिश्चन्द्र बाग, कञ्चनपुर, १४ चैत । पहिलो चरणमा देशका ३२ वटा पालिकाहरूमा औद्योगिक ग्राम बनाउने सरकारको योजना अनुरूप २०७६ पुस २७ गतेका दिन कञ्चनपुर जिल्लाका बेलौरी र पुनर्वास नगरपालिकामा पनि औद्योगिक ग्राम बनाउने सम्झौता भएको थियो । सङ्घीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र बेलौरी नगरपालिकाबिच सोही मितिमा औद्योगिक ग्राम बनाउने सम्झौता भई रु. ९२ लाख रकम अनुदान स्वरूप चेक समेत हस्तान्तरण भएको थियो ।
पालिकाले आफ्नै स्रोतसाधनबाट १५ दिनभित्र औद्योगिक ग्रामका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययन कार्य सुरु गरी तीन महिनाभित्र सोको स्वीकृत प्रतिवेदन मन्त्रालयमा बुझाइ सक्नुपर्ने सम्झौतामा उल्लेख थियो । तर तीन वर्ष पूरा भइसक्दा समेत पालिकाले अझै डीपीआर सम्म पनि बनाउन सकेको छैन । वातावरण संरक्षण ऐन २०७६ अनुसार वातावरणीय अध्ययन प्रतिवेदन र डिपीआर तयार गरी स्वीकृत भएपछि औद्योगिक ग्राम निर्माणको काम अघि बढ्ने भए पनि जग्गाको टुङ्गो नै लगाउन नसक्दा डिपीआर पनि बनाउन नसकिएको बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीको भनाइ छ । स्थानीय तहको निर्वाचनबाट नयाँ आएका धेरैजसो नयाँ जनप्रतिनिधिहरूलाई त बेलौरीमा औद्योगिक ग्राम बनाउने सम्झौता भएको बारे जानकारीसम्म पनि छैन । तर अहिले दोहोरिएका र त्यसबारे धेरथोर थाहा भएकाहरूलाई समेत कुनै चासो छैन । औद्योगिक ग्रामको पालिका फाेकल पर्सनको जिम्मेवारी सम्हाल्ने प्रमुख प्रशासकीय अधिकृतहरू भने यस बिचमा ६ जना बदलिँदा समेत औद्योगिक ग्राम निर्माणको कामले गति लिन सकेको छैन ।
स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी आकर्षित गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले मन्त्रालय र पालिकाबिच औद्योगिक ग्राम बनाउने सम्झौता भएको थियो । औद्योगिक ग्राममा पहुँच मार्ग, जग्गा विकास, विद्युत् प्रसारण लाइन, भूमिगत र सतही ढल, औद्योगिक फोहोर व्यवस्थापन र फोहोर पानी प्रशोधन संयन्त्र, प्रशासनिक भवन, बैङ्क तथा वित्तीय संस्था लगायतका पूर्वाधार बनाइनु पर्ने सम्झौतामा उल्लेख छ । औद्योगिक ग्राम भित्र उद्योगका उत्पादन प्रदर्शनी र बिक्री कक्ष, अग्नि नियन्त्रक, चमेना गृह, पार्किङ र आराम कक्ष पनि बनाउनु पर्ने छ । औद्योगिक ग्राम बनाउन तराई क्षेत्रमा ७ बिघा जग्गा आवश्यक पर्ने भनिएको छ । कुल ग्राहस्थ उत्पादनमा उद्योगको योगदान बढाउन मन्त्रालयले औद्योगिक ग्राम स्थापनाको कार्य अघि बढाएको थियो ।