हरिश चन्द्र बाग, कञ्चनपुर, ०१ माघ । देशभर आज माघे संक्रान्ति पर्व मनाइएको छ । बिहानै पवित्र नदि एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भनिन्छ । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकोले माघ १ गतेलाई मकर संक्रान्ति भन्ने गरिएको प्राध्यापक एवं ज्योतिष पण्डित यज्ञराज पन्तको कथन छ । माघे संक्रान्ति पर्वलाई सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी समुदायले विशेष महत्वका साथ मनाउने गरेका छन् । माघे संक्रान्तिका अवसरमा ठाउँठाउँमा मेला महोत्सव आयोजना गरिएका छन् ।
यता सुदूरपश्चिमको पहाडी समुदायले पनि मकर संक्रान्ति मनाएका छन् भने थारु समुदायको माघी पनि आज बाटै शुरु भएको छ । कञ्चनपुर सहित पश्चिम तराईँका जिल्लाहरुमा थारु समुदायको नयाँ वर्षका रुपमा मनाइने माघीको रौनकता छ । हिन्दु समुदायका सबैजसोले माघ महिनालाई पवित्र महिनाको रुपमा मनाएपनि थारु समुदायले भने नयाँ वर्षकै रुपमा मनाउदैँ आएका छन् । माघी पर्वका अवसरमा थारु समुदाय गाउँका महतौको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ । यसै समयमा सबैले आपसी सहमतिबाट एक वर्षका लागि गाउँको नाइके (महतौ, गुरुबा, भलमन्सा आदि) छनोट गर्ने गरेको थारु अगुवा एवं संस्कृतिका जानकार पीताम्बर चौधरी बताउँछन् ।
माघी पर्वको रौनक थारु बस्तीमा माघ महिनाभरी चल्ने गर्दछ । यसले संस्कृति सम्बर्धनसंगै थारु बस्तीमा लोकतान्त्रिक परम्परामा पनि सहयोग पुर्याएको छ । आधुनिक संगितमा रमाएका थारु युवाहरु माघीकै समयमा मात्रै भएपनि आफ्नै संस्कृतिमा रमाउन पाउँदा निकै खुसी छन् । अहिले ठाउँठाउँमा माघी मेला लागेका छन् । बस्तीबस्तीमा रौनकता बढेको छ । यसैबीच थारु कल्याणकारिणी सभा कञ्चनपुरको आयोजना तथा बेलौरी नगरपालिकाको सह आयोजनामा पुस २६ देखि २८ गतेसम्म ड्वासर बेलौरी माघ म्याला सम्पन्न भएको छ । त्यस्तै, पुस २९ गतेका दिन बेलौरी नगरपालिका वडा नम्बर ८ को आयोजनामा माघ मिलन कार्यक्रम सम्पन्न भएको वडाध्यक्ष नन्द कुमार रानाले बताउनु भएको छ । त्यस्तै, दर्शन युवा क्लबको आयोजनामा माघ १ गते बेलौरी ५ सुदर्शनपुरमा माघ मिलन कार्यक्रम आयोजना गरिएको छ भने अन्य ठाउँमा पनि मेलाहरु आयोजना गरिएका खबरहरु छन् ।
यो संगै थारु समुदायमा माघीका गीतहरु समेत गुञ्जिन थालेकाले थप रौनकता छाएको छ । युवाहरु आफ्नै भेषभुषामा नाच्ने गाउने गरिरहेका छन् । गीत संगीतको माध्यमबाट थारु कलाकारहरु थारु भाषा, कला, संस्कृति र भेषभुषाको जगेर्नामा जुटेका छन् । नाचगान र रमाइलोसँगै माघीका भाकाहरू पनि फेरिएका छन् । माघी पर्व अब चेतनाका भाका तिर मोडिँदै छ । माघी पर्वलाई अब चेतना र परिवर्तन तिर उन्मुख गराउन थालिएको थारू पत्रकार सरिता चौधरीको धारणा छ । प्रायःजसो रमाइलो गर्ने गीत मात्र सुन्न पाइने थारू बस्तीमा अहिले आपसी मेलमिलाप र चेतनाका स्वर घन्किन थालेका छन् । सबै दाजुभाइ मिलेर संस्कृति जोगाउनुपर्ने सन्देश दिएका यस्ता गीत अधिकांश थारू बस्तीमा गाइन थालेका छन् ।
मगर समुदायले पनि माघे संक्रान्ति पर्वलाई विविध कार्यक्रमका साथ मनाएका छन् । यस पर्वले सबै जातजाति, समुदाय र नेपाली माँझ आपसी बन्धुत्वको भावना विकास गर्दै सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र सहिष्णुतालाई संरक्षण एवं प्रवद्र्धन गर्न सबैलाई प्रेरणा मिलोस् ।