कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका कार्यालयमा हुलिएपछि चौधर नदी पुलमा राखिएका छाडा पशु चौपाया बैतडा सारिएका छन् । बैतडास्थित बाल ज्योति माध्यमिक विद्यालयले चर्चेको ५ बिघा जग्गामा बनाइएको छाडा पशु चौपाया व्यवस्थापन स्थलमा बिहीबार सबै गाई गोरु सारिएका छन् । बिहीबार बिहानदेखि मध्यान्हसम्म सात सय बढी गाई गोरु बैतडा लगिएका छन् । ती गाई गोरुलाई तीन महिना अघि कार्यालय नजिक चौधर पुलको खाली स्थानमा अस्थायी रूपमा राखिएको थियो । नगरपालिकाले त्यस अघि नै बैतडामा विद्यालयसित सम्झौता गरी चौपाया व्यवस्थापनको कार्य अघि बढाएको थियो ।
बैतडामा छाडा पशु चौपायाका लागि पाँच बिघा जग्गामा तारबार गरिएको छ । तारबारभित्र चौपायाका लागि टहरा बनाउने कार्य थालिएको छ । टहराका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खर सङ्कलन गरी राखिएको छ । वेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले छाडा पशु चौपायाको दीर्घकालीन व्यवस्थापनको लक्ष्य राखेर बैतडामा राखिएको बताए । ‘छाडा पशु चौपायाको समस्या दैनिक रूपमा बढ्दो छ, त्यस कारण दीर्घकालीन व्यवस्थापन हुने गरी बैतडामा व्यवस्थापन अघि बढाएका छौँ ।’ स्थानीय तह निर्वाचनपछि मेयर बोहराले उप मेयर तुलसी जोशीको नेतृत्वमा कार्यदल गठन गरी चौपाया व्यवस्थापन अघि बढाएका हुन् । उप मेयर नेतृत्वको कार्यदलले बैतडामा व्यवस्थापन कार्य अघि बढाएपछि स्थानीयले चौपायालाई कार्यालयभित्र हुली दिएका थिए । बैतडामा चौपाया व्यवस्थापनको सबै जिम्मेवारी वडा नं. ४ लाई दिइएको छ । बिहीबार मेयर बोहरा, उप मेयर जोशी, प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट सहित जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी सबै चौपायालाई बैतडा लैजाने कार्यमा सहभागी भएका थिए ।
वेदकोटका प्रमुख प्रशासकीय अधिकृत भट्टले बैतडामा व्यवस्थित रूपमा चौपाया व्यवस्थापन गर्ने योजना अनुसार चौपाया लगिएको बताए । ‘यो पुलमुनि तत्काल अस्थायी रूपमा राखिएको थियो, नगरपालिकाले बैतडामा व्यवस्थित व्यवस्थापनका लागि कार्य अघि बढाएको थियो,’ उनले भने,‘अहिले त्यसमा नै सबै गाई गोरु लगेर राखिएको छ ।’ बैतडामा मुसेपानीको चुनेपानीमा राखिएका गाई गोरु ल्याएर व्यवस्थापन गरिने भएको छ । चुनेपानीस्थित धार्मिक वनसित सहकार्य गरी चार वर्ष अघि चौपाया व्यवस्थापन गरिएको थियो । अहिले चुनेपानीमा १ सय ५० भन्दा बढी चौपाया व्यवस्थापन गरिएका छन् । प्रमुख प्रशासकीय अधिकृत भट्टले धार्मिक वनले व्यवस्थापन गर्न असमर्थता देखाएकाले केही दिनभित्र ती सबै गाई गोरुलाई पनि बैतडामा ल्याइने बताए । ‘नगरपालिकाले धार्मिक वनसित सहकार्य गरी चुनेपानीमा गाई गोरु व्यवस्थापन गरिएको थियो, अहिले समूहले पाल्न नसकिने भन्दै आएको छ, त्यस कारण त्यहाँका गाई गोरुलाई पनि बैतडामा ल्याउँछौ’ उनले भने,‘केही दिनभित्र यो काम हुन्छ ।’
बिहीबार बैतडा लगिएका चौपायालाई पाँच महिना अघि चुनेपानी लैजाने क्रममा स्थानीयले अवरोध गरी नगरपालिका कार्यालय ल्याएर छाडेका थिए । त्यसपछि नगरपालिकाले राजनीतिक दल सहित सर्वपक्षीय छलफल गरी तत्काल सबै वडामा अस्थायी व्यवस्थापन गरिएको थियो । वेदकोटमा अहिले सबै वडामा पशु चौपायाको लगत सङ्कलन कार्य अघि बढेको छ । केही वडाले पशु चौपायाको खरिद, बिक्री र मृत्युबारे वडा कार्यालयमा जानकारी गराउनु पर्ने नियम लागू गरेका छन् । वेदकोट नगरपालिका ५ र वडा नं. ४ मा यो नियम लागू गरिएको छ । वेदकोट नगरपालिकाका नगर प्रवक्ता चित्र देव भट्टले चौपाया व्यवस्थापनको दीर्घकालीन समस्यालाई मध्यनजर गरी सबै वडामा लगत सङ्कलन कार्य पनि सुरु गरिएको बताए । ‘दूध दिन छाडेपछि सडकमा लिएर फाली दिन्छन्, यो नै ठूलो समस्या हो’ उनले भने,‘ त्यसका लागि अहिले सबै वडामा लगत सङ्कलन कार्य भई रहेको छ, त्यसका आधारमा चौपाया व्यवस्थापन कार्य अघि बढ्न, यो दीर्घकालीन हुन्छ, अब यो समस्यालाई पनि व्यावसायिक रूपमा पशु पालनका रूपमा परिणत गर्ने हाम्रो प्रयास रहन्छ ।’
वेदकोट नगरपालिकाले चौपाया व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट सहयोग पाएको छ । नगरपालिकाले प्रदेश सरकारबाट चौपायाका लागि चोकर र ब्रान सहयोग पाएको छ । बैतडामा ५० क्विन्टल चोकर र ब्रान राखिएको छ । चौपायाका लागि नगरपालिकाले ३ सय ट्रली पराल किनेर राखेको छ । नगर प्रवक्ता भट्टले चौपाया व्यवस्थापनको दीर्घकालीन सोच अनुसार प्राङगारिक मल उत्पादन कारखाना सञ्चालनका लागि छलफल अघि बढेको बताए । ‘यसमा छलफल भएको छ, सम्झौता हुन बाँकी छ’ उनले भने,‘यस बाहेक चौपायाबाट स्थानीयलाई आर्थिक लाभ हुने अन्य कार्य पनि गर्छौ ।’
यो भिडियो पनि हेर्नुस्, तीन महिनासम्म यस्तो थियो अवस्था ।।