हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ चैत । सुदूरपश्चिम प्रदेशका पाँच वटा मूल भन्सार कार्यालय मातहत रहेका प्रायः जसो सबै छोटी भन्सार कार्यालयहरू बन्द रहेका छन् । सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएका छोटी भन्सार कार्यालयहरू मध्ये केही मात्रै पुनः सञ्चालनमा ल्याइएको थियो । द्वन्द्वकालपछि सञ्चालनमा आएका छोटी भन्सार कार्यालयहरू पनि पछिल्लो समयमा विविध कारणले बन्द हुँदै गएका छन् ।
करिब १६२ वर्ष पहिले वि.सं. १९१७ सालमा सुदूरपश्चिमकै एक मात्र मुख्य भन्सारका रूपमा कञ्चनपुरको बेलौरी भन्सार स्थापना भएको थियो । तत्कालीन समयमा कञ्चनपुर र कैलाली गरी दुई जिल्लाको सदरमुकाम रहेको बेलौरीबाट वि.सं. २०१९ सालमा त कञ्चनपुरकै सदरमुकाम पनि विस्थापित भयो । त्यसपछि बेलौरी भन्सार कार्यालय पनि मुख्य भन्सारको रूपमा निरन्तर कायम रहन नसकेर छोटी भन्सारका रूपमा परिणत भयो । भन्सार स्तरोन्नतिको सट्टा पछिल्लो एक वर्षयता कार्यालयमै ताला लगाई बेवारिसे छोडिएको प्रति नागरिक स्तरबाट चिन्ता र चासो बढेको छ ।
सुदूरपश्चिम प्रदेशमा रहेका पाँच वटा मूल भन्सार कार्यालय मातहत विभिन्न क्षेत्रमा गरी १७ ओटा छोटी भन्सार कार्यालय छन् । केही छोटी भन्सार कार्यालयका नाममा त विघौँ जग्गा जमिन र भौतिक संरचना पनि छन् । सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएका छोटी भन्सार कार्यालयहरू मध्ये केही मात्रै पुनः सञ्चालनमा ल्याइएको थियो । द्वन्द्वकालपछि सञ्चालनमा आएका छोटी भन्सार कार्यालयहरू पनि पछिल्लो समयमा विविध कारणले बन्द हुँदै गएका छन् ।
बन्द भएका अधिकांश भन्सार कार्यालय पुनः सञ्चालनमा ल्याउने कि के गर्ने भन्ने विषयमा सरोकारवाला पक्षले अन्यत्र खासै चासो देखाएको पाइँदैन । तर कञ्चनपुरको बेलौरी स्थित छोटी भन्सार कार्यालय स्तरोन्नतिको आवाज भने बेलाबेलामा उठ्ने गरेको छ । पुनः सञ्चालन भएका छोटी भन्सार कार्यालय पनि बन्द हुँदा राज्यलाई राजश्व घाटा भइरहेको छ भने यहाँका व्यवसायीहरू समेत अत्यधिक मर्कामा परेका छन् ।
राजस्वको सम्भावना भएका भन्सार कार्यालयहरू पुनः सञ्चालन गर्नुपर्ने आवश्यकता छ । यदि त्यसो गर्न नसक्ने हो भने नेपाल सरकारबाट निर्णय गराएर सशस्त्र प्रहरी÷सीमा सुरक्षा चौकी वा स्थानीय तहहरूलाई सीमित अधिकार प्रत्यायोजन गरेर भए पनि मानिसहरू आवतजावत हुने तथा मालसामानको ओसारपसार हुने नाकाहरूमा वैकल्पिक उपायबाट भए पनि भन्सार प्रशासन उपस्थित हुनुपर्छ । त्यसैले अव अर्थ मन्त्रालयले भन्सारलाई राजस्वको केन्द्रबिन्दु भन्दा पनि व्यापार सहजीकरण र सामाजिक सुरक्षाको केन्द्र विन्दुको रूपमा प्रवर्द्धन गर्ने नीति लिनु पर्दछ ।
सुदूरपश्चिम प्रदेशका पाँच वटा मूल भन्सार कार्यालय मातहत रहेका छोटी भन्सार कार्यालयहरू ः
- सत्ती भन्सार कार्यालय कैलाली मातहत पृथ्वीपुर, बर्दवा र सोनाफाटा छोटी भन्सार
- कैलाली भन्सार कार्यालय धनगढी मातहत बेलौरी, परासन, भडरी, कनरी, घुइयाँफाटा र फूलबारी छोटी भन्सार
- कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी मातहत पचुइ, चाँदनी र दोधारा छोटी भन्सार
- महाकाली भन्सार कार्यालय झुलाघाट बैतडी मातहत धर्मघाट छोटी भन्सार
- दार्चुला भन्सार कार्यालय मातहत झोलुंगेवगर (जोलजिवी), व्यासछांग्रु, टिंकर र दत्तु छोटी भन्सार