हरिश्चन्द्र बाग, कञ्चनपुर, ०५ चैत । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा जारी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत अहिले मतदान जारी छ । त्रिभुवन विश्वविद्यालय सहित सुदूरपश्चिम विश्वविद्यालय र शारदा संस्कृत विश्वविद्यालयले पनि स्ववियु निर्वाचनको तयारी गरेका थिए । तर कञ्चनपुरका १६ वटा क्याम्पसहरू मध्ये ६ वटा क्याम्पसहरूमा मात्र निर्वाचन भइरहेको छ । स्ववियु निर्वाचनको तयारी गरेका कञ्चनपुरका १६ क्याम्पस मध्ये विद्यार्थी सङ्गठनबिच विवाद हुँदा ९ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।
महाकाली बहुमुखी क्याम्पस बेलौरी, रामपुर क्याम्पस कलकत्ता बेलौरी, रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडी, जनता बहुमुखी क्याम्पस पुनर्वास, कञ्चन बहुमुखी क्याम्पस गुलरिया कृष्णपुर र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारी मात्रै चुनाव हुँदै छ । दानेश्वरहरी बहुमुखी क्याम्पस जिमुवामा भने यसअघि नै निर्विरोध रूपमा स्ववियु समिति चयन भइसकेको छ । अन्य ९ क्याम्पसहरूमा भने विद्यार्थी संघसंगठनहरुले गरेको तालाबन्दीका कारण चुनाव अनिश्चित बनेको छ ।
स्ववियु निर्वाचनमा विद्यार्थी उत्साहित भएर मतदान प्रक्रियामा सहभागी भएका छन् । बिहानैदेखि विद्यार्थी लाइनबद्ध भएर मतदानमा सहभागी भएका छन् । मतदानका लागि सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । सभापति, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपसभापति, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । आज निर्वाचन भएका अधिकांश क्याम्पसहरूमा आइतबार साँझ नै मत गणना हुने बताइएको छ ।
सरकारले विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र तिनले आन्दोलनमार्फत गरेका सहमति कार्यान्वयन गर्न, क्याम्पस तथा विश्वविद्यालयको नीति निर्माण र कार्यान्वयनमा विद्यार्थी प्रतिनिधित्व सुनिश्चित गर्न, क्याम्पसमा शैक्षिक वातावरण कायम गर्न र विद्यार्थीको चौतर्फी विकासका लागि स्ववियु निर्वाचन गर्दै आइरहेको छ ।