हरिश्चन्द्र बाग, कञ्चनपुर, २७ फागुन । आगामी चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि कञ्चनपुरको बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी सङ्घ सङ्गठन र व्यक्तिबाट उम्मेदवारी दर्ता गराइएको छ । स्ववियु निर्वाचनका लागि महाकाली बहुमुखी क्याम्पसमा शनिबार दिउँसो गरिएको उम्मेदवारी दर्ताका क्रममा विभिन्न विद्यार्थी सङ्घ सङ्गठनबाट ४ जना र १ जना स्वतन्त्र उम्मेदवार सहित ५ जनाले स्ववियु सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नागरिक उन्मुक्ति पार्टी निकट नागरिक विद्यार्थी समाज, नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनीयन र १ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएको निर्वाचन संयोजक गङ्गा प्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार, खुला तर्फ नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घको तर्फबाट सभापतिमा नीरज भण्डारी, सचिवमा कलावती राना, कोषाध्यक्षमा मञ्जु अवस्थी र सदस्यहरूमा कविता बोहरा, अस्मिता बिष्ट, पशुपति राना, वन्दना कुमारी बिष्ट तथा कल्पना चौधरीको गरी ८ जनाको उम्मेदवारी दर्ता गरिएको छ । नागरिक उन्मुक्ति पार्टी निकट नागरिक विद्यार्थी समाजबाट सभापतिमा उर्मिला चौधरी, सचिवमा मक्खन चौधरी, कोषाध्यक्षमा सुरज चन्द तथा सदस्यहरूमा दिलमाया चौधरी, वन्दना राना, सोनु खुना, प्रदीप चौधरी तथा दीपा चौधरीको गरी ८ जनाको उम्मेदवारी दर्ता गरिएको छ । स्वतन्त्रबाट सभापतिमा रमेश तमोलीको उम्मेदवारी दर्ता गरिएको निर्वाचन समितिले जनाएको छ ।
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनबाट सभापतिमा हिरामोती चौधरी, सचिवमा यशोदा रेग्मी, कोषाध्यक्षमा रमेश जोशी र सदस्यहरूमा राहुल कुमार बोट, दिलमाया राना, प्रेमसिंह चौधरी, मेनिका थापा तथा लक्ष्मी क्षेत्रीको गरी ८ जनाको उम्मेदवारी दर्ता गरिएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट सभापतिमा सपना चौधरी, कोषाध्यक्षमा दीपा राना र सदस्यहरूमा प्रदीप कुमार बोट, लक्षिराम राना, सुस्मिता चौधरी, चन्द्र कुमारी राना तथा आरती रानाको गरी ७ जनाको उम्मेदवारी दर्ता गरिएको छ । नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रीय स्वतन्त्र विद्यार्थी युनीयनले भने सचिवमा भागरथी नेपालीलाई उम्मेदवार बनाएको छ । उसले अन्य पदहरूमा भने अखिल क्रान्तिकारीलाई सघाउने र अखिल क्रान्तिकारीले सचिवमा सघाउने गरी तालमेल गरेको जनाएको छ ।
निर्वाचन समितिले शनिबार अपराह्न प्रथम नामावली प्रकाशन गरेको छ । उम्मेदवारको नामावली उपर दाबी विरोध फागुन २८ गते आइतबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ । उम्मेदवारको नामावली उपर दाबी विरोधको छानबिनपछि फागुन २८ गते बेलुका ५ बजे नामावली प्रकाशन गर्ने, फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ । स्ववियु निर्वाचन आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचन देशभर त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । त्यस्तै, सुदूरपश्चिम विश्वविद्यालयले समेत यसै समयमा स्ववियु निर्वाचन गरिरहेको छ ।