हरिश्चन्द्र बाग, कञ्चनपुर, २४ फागुन । शान्ति पुनर्स्थापना गृहले आआफ्नो कार्य क्षेत्रमा रहेका सिमानाका जिल्लाहरूमा सम्बन्धित निकायहरूसँग सहकार्य गरी विभिन्न सचेतनामूलक कार्यक्रमहरु मार्फत ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय महेन्द्रनगर र सम्पूर्ण सम्पर्क कार्यालयहरू (ब्रह्मदेव, दोधारा चाँदनी, बेलौरी, बेलडाँडी) ले पनि आआफ्नो स्थानको स्थानीय तहहरूसँग सहकार्य गरेर कार्यक्रम सम्पन्न गरेका छन् ।
त्यसैबिच शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय महेन्द्रनगरले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आफ्नो सूचना तथा परामर्श केन्द्रमा ब्यानर लगाई सचेतना फैलाएको बताइएको छ । सम्पर्क कार्यालय ब्रह्मदेवले इलाका प्रहरी कार्यालय ब्रह्मदेव, सशस्त्र प्रहरी बल नेपाल बिओपी ब्रह्मदेव र भीमदत्त नगरपालिका वडा नम्बर ९ को सहकार्यमा ब्रह्मदेवस्थित नेपाल भारत सिमानाका क्षेत्रमा मानव बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्धको सचेतनामूलक होडिङ बोर्ड लगाइएको छ ।
उक्त कार्यक्रममा भीमदत्त नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष गगनसिंह कार्की, सशस्त्र प्रहरी निरीक्षक विमल बानिया, इलाका प्रहरी कार्यालय ब्रह्मदेवका प्रहरी सहायक निरीक्षक गणेश बहादुर दवाल र अस्थायी ट्राफिक प्रहरी पोष्ट ब्रह्मदेवका प्रतिनिधि अर्जुन महता सहित शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय महेन्द्रनगरका सुपरभाइजर मनीषा न्यौपाने र परामर्शदाताहरूको उपस्थिति रहेको थियो ।
सोही दिवसको अवसरमा शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय महेन्द्रनगरका सुपरभाइजरद्वारा शाखा कार्यालय महेन्द्रनगर अन्तर्गत कार्यरत सम्पूर्ण महिला कर्मचारीहरूले शाखालाई गर्दै आएको योगदानको उच्च कदर गर्दै खादा ओढाई सम्मान गरिएको बताइएको छ । उक्त कार्यक्रममा शान्ति पुनर्स्थापना गृह शाखा तथा सम्पूर्ण सम्पर्क कार्यालयका महिला कर्मचारीहरूले महिलामाथि हुने हिंसा, अन्यायलाई आफू र आफ्नो परिवारबाट नै अन्त्य गर्ने प्रतिबद्धता जाहेर गर्दै दिवसको शुभकामना आदानप्रदान गरेका छन् ।