हरिश्चन्द्र बाग, कञ्चनपुर, १२ फागुन । सशस्त्र प्रहरी बल नेपालले कञ्चनपुरबाट पाँच दिनको अवधिमा अवैध सामान बरामद गरी रु. ८ लाख ७० हजार २ सय ३४ राजश्व सङ्कलन गरेको छ । यही फागुन ०७ गते ११ गतेसम्मको अवधिमा सशस्त्र प्रहरीको टोलीले पुनर्वासका डोकेबजार, अमरबस्ती, घ गाउँ, बेलौरीका फटिया, बनशक्ति, नकैया, सडकघाट, भीमदत्तका गड्डाचौकी, गज्जर, चौकीसत्ता, बाँसखेडा र दोधारा चाँदनीका जमुनाघारी, बडुवालटोल तथा गडिगोठ लगायतका क्षेत्रबाट अवैध सामान बरामद गरेको हो ।
यस अवधिमा साइकल, मोटरसाइकल, किराना सामानहरू, हार्डवेयरका समान, प्लास्टिक कुर्ची, बाटा, प्लास्टिक झोला, स्टिल कचौरा, डी.जे.साउण्ड, हेडफोन, चार्जर, स्पिकर, बोइलर कुखुरा, ड्यु, अण्डा, माछा, फलफूल, तरकारी, सुर्ती, शरीरमा प्रयोग गर्ने पाउडर, क्रिम लगायतका सरसामान बरामद गरिएको बताइएको छ । ती मध्ये बोइलर कुखुरा, ड्यु, अण्डा, माछा, फलफूल, तरकारी नष्ट गरिएको छ भने बाँकी सरसामानहरू कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी, कैलाली भन्सार कार्यालय त्रिनगरलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले जानकारी दिनुभयो ।