हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ फागुन । कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई गाभेर उपमहानगरपालिका बनाउन छलफल सुरु भएको छ । दुई पालिकालाई गाभेर उपमहानगरपालिका बनाउन सोमबार स्थानीय तहका जनप्रतिनिधिलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूसँग छलफल सुरु गरिएको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का निवर्तमान प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्टले बताउनु भयो । पछिल्लो तथ्याङ्क अनुसार दुई पालिका मिलाउँदा उपमहानगरपालिका बनाउन आवश्यक मापदण्ड पुग्ने हुँदा संवाद सुरु गरिएको उहाँको भनाइ छ ।
उपमहानगरपालिकाका लागि आवश्यक पूर्वाधार, जनसङ्ख्या, सुदूरपश्चिम विश्वविद्यालय, निर्माणाधीन मझगाँउ विमानस्थल, व्यापारिक नाका (प्रस्तावित दोधारा चाँदनी सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकी) निर्माणाधीन महाकाली कोरिडोर, आठ सय मिटर लम्बाइको चार लेनको महाकाली पुल, महाकाली नदीमा विशिष्ट सौन्दर्यको झोलुङ्गे पुल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार, महाकाली प्रादेशिक अस्पताल (प्रस्तावित मेडिकल कलेज), दोधारा चाँदनीमा प्रस्तावित विशेष आर्थिक क्षेत्र (सेज), बहुउद्देश्यीय रङ्गशाला, सांस्कृतिक केन्द्र आदि संरचनालाई आधार मानिएको छ ।
छलफलमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का निवर्तमान प्रतिनिधि सभा सदस्य डा. दीपक प्रकाश भट्ट, संविधान सभा सदस्य टेकेन्द्र प्रसाद भट्ट, निवर्तमान प्रदेश सभा सदस्य लाल बहादुर खड्का, कञ्चनपुर जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदक बोगटी, दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, भीमदत्तका निवर्तमान नगर प्रमुख सुरेन्द्र बिष्ट लगायतको सहभागिता रहेको थियो ।
हामी संवादमा ।
भीमदत्त दोधारा चाँदनी उपमहानगरपालिका लागि आवश्यक पुर्वाधारहरु:-
१-जम्मा जनसंख्या - १६६,६५९ (जनगणना:२०२१)
भीमदत्त जनसंख्या विकासक्रम:
१९८१-३४,६४२; १९९१-६२,०५०; २००१-८०,८३९; २०११-१०४,४४४; २०२१-१२३,३१६
दोधारा चाँदनी जनसंख्या विकासक्रम: १९८१-१९,५५०; १९९१-२६४२३; २००१-३५,४०५; २०११-३९,२९०; २०२१-४३,३७९
२- भूगोल - २२६.६४ वर्ग किलोमिटर (भीमदत्त १७१.८०+दोधारा चाँदनी ५४.८४)
३- विश्वविद्यालय - सुदूर पश्चिम विश्वविद्यालय
३-एयरपोर्ट -मझगाँउ, पुनः सञ्चालनको तयारी ।
४- व्यापारिक नाका - दोधारा चाँदनी सुख्खा बन्दरगाह तथा एकीकृत जाँच चौकीबाट महाकाली करिडोर ।
५- महाकाली नदीमा विशिष्ट सौन्दर्यको झोलुङ्गे पुल एवं ८०० मिटर लम्बाईको चारलेनको पुल ।
६-शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्धार ।
७-महाकाली प्रादेशिक अस्पताल- प्रस्तावित मेडिकल कलेज।
८- सिटी सेन्टर सञ्चालनको तयारी ।
९-बहुउद्देश्यीय रंगशाला निमार्ण गर्नुपर्ने।
१०- सांस्कृतिक केन्द्र निर्माण गर्नुपर्ने।
११- विशेष आर्थिक क्षेत्र -Special Economic Zone (SEZ), दोधारा चाँदनी।