कञ्चनपुर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आज कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर २ मा प्रस्तावित छेला औद्योगिक क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । त्यस क्रममा मन्त्री भण्डारीले कञ्चनपुरलाई औद्योगिक क्षेत्रकै हब बनाउने बताउनुभयो । उहाँले औद्योगिक हब बनाएसँगै सुदूरपश्चिमका कुनै पनि युवाले कामका लागि बिदेसिनु नपर्ने अवस्था सृजना हुने बताउनुभयो । उहाँले सुख्खा बन्दरगाह, महाकाली कोरिडोर निर्माण गर्दै त्रिदेशीय नाका विस्तार र दैजी छेला औद्योगिक क्षेत्र विस्तार गरेर कञ्चनपुरलाई औद्योगिक क्षेत्रकै रूपमा अघि बढाउने बताउनुभयो ।
मन्त्रालयले कार्य योजना नै बनाएर अघि बढ्ने उल्लेख गर्नुहुँदै मन्त्री भण्डारीले सुदूरपश्चिमलाई विकासको मूल प्रवाहमा ल्याउनका लागि खुटिया दिपायल सडक, सेती लोक मार्ग, हरैया विशेष आर्थिक क्षेत्र सहितका योजना समेत अघि बढाइने बताउनुभयो । दैजी छेला औद्योगिक क्षेत्रलाई भोगाधिकारमा ल्याएर कार्यान्वयनका लागि ५ अर्ब बढी बजेट माग गरिएको मन्त्री भण्डारीले जानकारी दिनुभयो । उहाँले विदेशी लगानी भित्र्याउँदै सुदूरपश्चिमका औद्योगिक क्षेत्रमा लगानी बढाउने सरकारको योजना रहेको पनि बताउनुभयो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड नेपालगञ्जका प्रमुख कृष्ण पुनले दैजी छेला औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र नयाँ डिपिआर तयार भइरहेको बताउनुभयो । रुखहरूको छपान र नम्बरिङ्ग अन्तिम चरणमा पुगेको बताउँदै पहिलो डिपिआर अनुरूप २५ हजार ९ सय ७८ रुख रहेकोमा अहिले ४३ हजारभन्दा बढी रुख भएकाले छपान कार्यमा केही ढिलाइ भएको भन्नुहुँदै भोगाधिकारका लागि अन्तर मन्त्रालयसँग समन्वय भइरहेको पनि उहाँले बताउनुभयो ।
लामो समयदेखि चर्चामा रहेको तर सञ्चालन हुन नसकेको दैजी छेला औद्योगिक क्षेत्र सञ्चालनमा वेदकोट उद्योग वाणिज्य सङ्घले जोड दिएको छ । वेदकोट उद्योग वाणिज्य संघका अध्यक्ष शङ्कर बहादुर चन्दले २०५२ सालदेखि नियमित यस क्षेत्रका निजी एवं राजनीतिक तहबाट दैजी छेला औद्योगिक क्षेत्र विस्तारका लागि आवाज उठ्दै आए पनि अहिलेसम्म पुरा हुन नसकेको गुनासो गर्नुभयो । ५ वर्ष अघिकै डिपिआर अनुरूप काम भइरहेको भन्दै उहाँले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कञ्चनपुरमै इकाई कार्यालय खोलेर कामकाज अघि बढाउन उद्योग मन्त्री भण्डारीको ध्यानाकर्षण गराउनुभयो । वेदकोट उद्योग वाणिज्य संघका महासचिव रामचन्द्र रेग्मीले फागुनभित्रै भोगाधिकार हस्तान्तरण गर्दै औद्योगिक क्षेत्रको कामकाज अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
२०७२ चैत ०१ गतेका दिन सरकारले साबिक पूर्वमा छेला मुक्त कमैया बस्ती, पश्चिममा दैजी जोगबुढा सडक, उत्तरमा बन क्षेत्र र दक्षिणमा चाँदनीफाँटा बस्ती चार किल्ला तोकी ९ सय बिघा क्षेत्रफलमा दैजी छेला औद्योगिक क्षेत्र विस्तार गर्ने निर्णय गरेको थियो । २०७३ माघ १४ गतेको मन्त्रिपरिषद्को निर्णयबाट साबिकको चार किल्ला संशोधन गरी पूर्वतर्फ छेला मुक्त कमैया बस्ती तथा धेउडीथुमखोल्सा, पश्चिमतर्फ साजगाड खोला, उत्तरतर्फ चुरे वन क्षेत्र तथा दक्षिणतर्फ चाँदनीफाँटा बस्ती (राजमार्ग पश्चिमतर्फको पर्ती जग्गासमेत) कायम गरेको थियो । २०७७ फागुन १० गतेका दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको थियो । एक सय प्लटमा औद्योगिक क्षेत्र रहने आयोजनाको कूल लागत रु. ९ अर्ब अनुमान गरिएको छ । त्यस आयोजनाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २२ हजार नागरिकले रोजगारी पाउने अपेक्षा गरिएको छ ।