हरिश चन्द्र बाग, कञ्चनपुर, २५ पुस । नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले देशभर खानेपानीको पहुँच स्थापित गर्न तीनवटै तहका सरकारको सहकार्य र सहअस्तित्वमा योजना बनाइरहेको बताउनु भएको छ । शुक्रबार साँझ कञ्चनपुरको भीमदत्त नगरपालिका अन्तर्गत वडा नम्बर ६, ८ र १० मा सञ्चालन हुने खानेपानी ओभर हेड ट्याङ्कीको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बिना मगरले खानेपानी मन्त्रालयले देशैभर गुरूयोजना निर्माण गरेर तीनवटै तहका सरकारले कामको बाँडफाँड गरी जनताको मौलिक अधिकार सुनिश्चित गरिने दाबी गर्नुभयो ।
मन्त्री बिना मगरले “सुखी नेपाली, समृद्ध नेपाल“ नारा लिएको सरकारले खानेपानीको यथोचित आवश्यकता पूर्ति गर्न कार्य गरिरहेको बताउनु भएको छ । सुदूरपश्चिम प्रदेशबाट संघीय सरकारमा दुई जनाले प्रतिनिधित्व गरिरहेको उल्लेख गर्दै समग्र विकासका लागि निरन्तर प्रयत्नशील रहेको उहाँको भनाइ छ । उहाँले निर्माणको प्रक्रियामा रहेको खानेपानी ओभर हेड ट्यांकीको निर्माण तोकिएकै समय भित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले संविधानमा उल्लेखित मौलिक हकका रूपमा रहेको शुद्ध खानेपानीको व्यवस्थापनमा भीमदत्त नगरपालिकाले प्रदेश सरकार, संघीय सरकार र दातृ निकायको सहयोग र समन्वयमा द्रुतगतिमा कार्य गरिरहेको दाबी गर्नुभयो । उहाँले यही कार्यकाल भित्र नगर क्षेत्र भित्रका नागरिकलाई खानेपानीको पहुँचमा र्पुयाउने गरी नगरपालिकाले कार्य गरिरहेको उल्लेख गर्नुभएको छ । १८ करोड ५३ लाख रूपैयाँ लागतमा डेढ वर्ष भित्र खानेपानी वितरण गर्न सक्ने गरी सम्झौता भएको सिद्धनाथ बैजनाथ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले जनाएको छ ।
त्रिपुरा सुन्दरी भगवती मन्दिरको शिलालेख अनावरण ।।
यसैबीच, शुक्रबार दिउँसो कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ पचुईमा निर्मित त्रिपुरा सुन्दरी भगवती मन्दिरको शिलालेख अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बिना मगरले निर्वाचन क्षेत्रका नागरिकलाई विकासको मूलधारमा र्पुयाउन प्रयत्नशील रहेको उल्लेख गर्नुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनु भएका मन्त्री बिना मगरले निर्वाचनको समयमा मतदाताहरू माझ गरिएका प्रतिबद्धता क्रमिक रूपमा पूरा भइरहेको बताउनु भएको छ । उहाँले नागरिकको जीवन स्तरमा सुधार ल्याउन र दैनिक जीवनसंग जोडिएका विषयमा सकारात्मक परिवर्तन ल्याउन सरकार प्रतिबद्ध रहेको दाबी गर्नुभयो ।
करीब एक करोडको लागत योजना रहेको त्रिपुरा सुन्दरी भगवती मन्दिर निर्माणमा हालसम्म करीब ४५ लाख जति खर्च भइसकेको छ । उक्त मन्दिर निर्माणका लागि गत आर्थिक वर्षमा बेलौरी नगरपालिकाले दश लाख रकम प्रदान गरेको नगर प्रमुख पोतिलाल चौधरीले जानकारी दिनुभयो । त्यस्तै, खानेपानी मन्त्री बिना मगरले निर्वाचन क्षेत्र विकास कोषबाट गतवर्ष दश लाख प्रदान गर्नुभएको थियो भने यो वर्ष पनि थप दश लाख रकम विनियोजन गर्नु भएको छ । त्यस्तै, अन्य सहयोगी संस्था र व्यक्तिहरूबाट पनि आर्थिक संकलन गरी मन्दिर निर्माण गरिएको मदन चन्दले जानकारी दिनुभयो ।