कञ्चनपुर ।
युवा निर्माण व्यवसायी निरञ्जन प्रसाद भट्ट कञ्चनपुर निर्माण व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष हुन् । वाइआर कन्स्ट्रक्सन प्रालिका सञ्चालक भट्ट झण्डै दुई दशकदेखि निर्माण क्षेत्रमा सक्रिय छन् । निर्माण व्यवसायीहरुको हकहितका लागि सदस्यबाट संघमा प्रवेश गरेका उनले वरिष्ठ उपाध्यक्षसको जिम्मेवारी वहन गरेका छन् । १२ औं कार्य समितिको निर्वाचनबाट उनी वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । आगामी वैशाख १० र ११ गते हुने संघको १३ औं कार्य समिति निर्वाचनमा उनी संघको नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका छन् ।
संघको नेतृत्वका लागि यस अघि २०७१ म उनलाई झिनो मत अन्तरले साथ दिएन । संघका वर्तमान अध्यक्ष गजेन्द्र बहादुर चन्दसित उनी ३ मतले पराजित भए । १२ औं कार्यकालमा उनी वरिष्ठ उपाध्यक्षको उम्मेदवार भए । निर्विरोध रुपमा निर्वाचित भए । १२ औ कार्य समिति निर्वाचनमा पनि अहिलेका अध्यक्ष चन्द निर्वाचित भएका थिए । अहिले चन्द सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।
‘संघमा आबद्ध भएदेखि निरन्तर रुपमा निर्माण व्यवसायीहरुको हकहितका लागि लड्दै आएको छु, संघको सदस्य भएर वरिष्ठ उपाध्यक्ष हुँदा समेत संघको प्रगति र व्यवसायीको हकहितलाई सधैं प्राथमिकतामा दिदैं आएको छु’ उनले भने,‘यस पटक सबै व्यवसायीले संघको नेतृत्व दिने आशा बोकेर चुनावी मैदानमा छु ।’व्यवसायिक हकहित र निर्माण व्यवसायलाई मर्यादित बनाउने चुनावी नारा छन् उनका । निर्माण व्यवसायलाई संघीय संरचना अनुसार पुनःसंरचना गरी कमकमजोरी सुधार्नु पर्ने भट्ट बताउँछन् ।
‘देशको संरचना, शासन व्यवस्था र प्रविधिको प्रयोगसंगै निर्माण व्यवसायलाई सुधार गरी लैजानु पर्छ’ उनी भन्छन्,‘पेशा व्यवसाय पनि हिजोको अवस्था अनुसार चल्न सक्दैन, देशको परिवर्तित शासन व्यवस्था अनुसार जानु आवश्यक छ ।’ भीमदत्त नगरपालिका वडा नं. १५ गोबरैयाका भट्टका पुर्खौली निर्माण व्यवसायमा छन् । व्यवस्थापनमा स्नात्तक भट्ट क्याम्पसले जीवनदेखि पुख्र्यौली पेशामा लागेका हुन् । उनका बाजे स्वर्गिय राधाकृण भट्टको पालादेखि भट्ट परिवार निर्माण व्यवसायमा लागेको थियो । भट्टका बुवा टिकाराम भट्टले निरन्तरता दिएका थिए । टिकाराम हाल सामुदायिक स्वास्थ्य इन्स्टिच्युटका अध्यक्ष छन् । बुवापछि निरन्जनले निर्माण व्यवसायलाई निरन्तरता दिएका छन् । भट्टका तीन दाई भाई छन् ।
‘पुख्र्यौली पेशा व्यवसायबाट प्रेरित भएर यो क्षेत्रमा आएको हुँ’ उनले भने,‘यसलाई निरन्तरता दिएर जानेछु ।’ प्रष्ट वक्ता, मिजसिला, हसमुख र मिलनसार स्वभावका भट्ट निर्माण बाहेक विभिन्न सामाजिक संघ संस्थामा पनि आबद्ध छन् । कञ्चनपुरका सहकारी संस्थाहरुमा परिचित उदयबदेब बहुउद्देश्यीय सहकारी संस्थामा उनी कोषाध्यक्ष छन् । गोबरैयास्थि निङ्गलाशैनी माध्यमिक विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष छन् । यसैगरी निङ्गलाशैनी भूतपूर्व विद्यार्थी समाज, रामलिला समिति लगायतका संस्थामा उनी आबद्ध छन् ।
२०७५७ मा निर्माण व्यवसायी संघको सदस्यता लिएका उनी २०६१ म संघको सदस्य भएका थिए । त्यसको चार वर्षपछि तत्कालिन क्षेत्र निर्माण व्यवसायी संघ( हाल सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघ) को सचिव भएका थिए । ‘निर्माण व्यवसायीको हकहित र सामाजिक सेवामा लागेको छु’ उनले भने,‘यसलाई निरन्तरता दिएर जानेछु ।’ निर्माण क्षेत्र अन्य क्षेत्रभन्दा चुनौतीपूर्ण भए पनि आफूले सहज रुपमा व्यवसाय गर्दै आएको उनी बताउँछन् । व्यवसायिक निष्ठाका कारण उनी गुणस्तरीय निर्माण व्यवसायीका रुपमा विभिन्न क्षेत्रबाट सम्मानित भएका छन् । ‘ती सम्मानले पेशामा आइ पर्ने सबै चुनौतीलाई बिर्साई दिन्छ’ उनले भने ।
सुदूरपश्चिम निर्माण व्यवसायी महासंघ, तत्कालिन जिल्ला विकास समिति, सडक डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय लगायतले व्यवसायी भट्टलाई सम्मान गरेका छन् । ग वर्गका व्यवसायी भट्टले भवन, सडक, पुल लगायतका निर्माण कार्य गरेका छन् । निर्माण व्यवसायी संघले निर्वाचन मिति तोकेपछि उनी चुनावी दौडधुपमा छन् । व्यवसायी भेटघाटलाई तीव्र बनाएका उनी निर्माण व्यवसायी संघको नेतृत्व पाउनेमा ढुक्क छन् । ‘मलाई २०७१ मा मौका दिएको हो, केही प्राविधिक कारणले तलमाथि भयो, यस पटक नेतृत्वको मौका दिनेमा ढुक्क छु’ उनी भन्छन् ।