प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ हुनु अघिको परिदृश्यले नेकपा एमालेको सरकार बन्ने कुनै सम्भावना थिएन । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तालमेल गरेर चुनावमा गएका थिए भने चुनावपछि पनि गठबन्धन सरकार बनाउने प्रतिबद्धता गरिरहेका थिए । नेकपा एमाले एक्लै चुनावमा रहेका बेला एमाले नेताहरूका लागि सरकारको सपना प्रतिकूल थियो । यस्तै प्रतिकूलतामा पनि नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेश सहइन्चार्ज राजेन्द्रसिंह रावल समानुपातिकबाट प्रदेशसभा सदस्य उम्मेदवार बने ।
खसआर्य समूहबाट उम्मेदवार भएकाले उनका लागि अर्काे प्रतिकूलता पनि थियो । २०६४ सालको निर्वाचनमा समानुपातिकतर्फ खसआर्य समूहको पहिलो नम्बरमै रहेका एमाले नेता कर्णबहादुर थापा सांसद बन्न सकेनन् । पार्टीले समावेशी समूह मिलाउँदा ‘सिनियर’ नेता थापालाई सांसद बनाउन सकेन । यसपालि नेता रावलको सन्दर्भमा पनि त्यो खतरा कायमै थियो । प्रत्यक्ष निर्वाचनबाट एमालेले थोरै सिट मात्र जितेपछि समानुपातिकबाट निर्वाचित हुन रावललाई सहज भयो । प्रदेशसभामा निर्वाचितमध्ये सबैभन्दा ‘सिनियर’ भएकाले संसदीय दलको नेता बन्न उनलाई अनुकूल बन्यो । उनी सर्वसम्मत संसदीय दलको नेता बने । तर नेपाली कांग्रेस र माओवादी एकातिर भएकाले रावल प्रमुख प्रतिपक्षी दलको नेता बन्ने धेरैको अनुमान थियो ।
तर केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले चामत्कारिक रूपमा छुट्टै गठबन्धन बनाएपछि एमालेलाई सरकार बनाउने बाटो खुल्यो । सुदूरपश्चिममा माओवादी संसदीय दलका नेता खगराज भट्ट पहिल्यैदेखि मुख्यमन्त्रीको रूपमा हेरिएका थिए । त्यसैले एमाले र माओवादीबीच भागबण्डा हुँदा सुदूरपश्चिम माओवादीको भागमा पर्छ भन्ने चर्चा थियो । तर अन्ततः सुदूरपश्चिमको मुख्यमन्त्री एमालेको भागमा प¥यो । यसरी अनेक प्रतिकूलताबीच एमाले नेता रावल सुदूरपश्चिम प्रदेश सरकारमा चम्किएका छन् । उनी पहिलो संसदीय यात्रामै मुख्यमन्त्रीको कुर्सीमा पुगेका छन् ।
काे हुन् मुख्यमन्त्री बनेका रावल ?
बैतडीको दशरथचन्द नगरपालिका–५ मारकण्ड गाउँमा २०२१ जेठ १६ गते जन्मिएका रावल नेपाली, अंग्रेजी, हिन्दी, डोट्याली, कुमाउँनी, थारु लगायत भाषा बोल्छन् । उनले आधारभूत तहको अध्ययन भारतको मेघालयको सिलङ, मध्य प्रदेशको जबलपुर र उत्तराखण्डको पिथौरागढका केन्द्रीय विद्यालयहरूमा गरे । बैतडीको वीरेन्द्र माध्यमिक विद्यालय शाहीलेकबाट एसएलसी गरेका उनले प्रमाणपत्र तहको शिक्षा भारतको ड्रमाण्ड इन्टर कलेज पिलिभित उत्तरप्रदेशबाट उत्तीर्ण गरे । कञ्चनपुरको सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरबाट स्नातक गरेका रावलले २०३६ सालको जनमत संग्रहको आन्दोलनबाट राजनीतिक यात्रा थालेका थिए ।
२०३९ सालमा उनी अनेरास्ववियुमा आवद्ध भएका हुन् । २०४२ सालमा बैतडीमा नेपाल राष्ट्रिय शिक्षक संगठनको आन्दोलनको नेतृत्व गर्दै उनी पक्राउ समेत परे । २०४५ सालमा उनी कञ्चनपुरको माक्सवादी अध्ययन दल सदस्य बने । यससँगै उनले भूमिगत रूपमा भीमदत्त नगर कमिटी सदस्य भएर काम गरे । भूमिगत भएर काम गर्दा उनी आरआर सिंह राजु र रत्नबन्धुको नामले चिनिन्थे । २०४६ सालमा प्रेमसिंह धामी नेतृत्वको तत्कालीन नेकपा मालेको प्रथम जिल्ला संगठन कमिटी कञ्चनपुरमा उनी सदस्य थिए । २०४७ सालमा अनेरास्ववियु तेस्रो जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भए ।
२०४८ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन प्रतिनिधि बनेका उनी २०४८ सालमै अनेरास्ववियु पाचौंको राष्ट्रिय परिषद् सदस्य तथा बैतडी जिल्ला इन्चार्ज बने । २०४८ सालमा गड्डाचौकीमा भएको हतियारबद्ध भारतीय प्रहरीद्वारा सेरुवा दमाइको घरमा प्रवेश गरी खोजतलास विरुद्धको आन्दोलनको नेतृत्व उनले गरेका थिए । २०४९ सालमा महाकाली सन्धी विरुद्धको आन्दोलनमा जेल परेका उनीविरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गत सरकारले कीर्ते मुद्दा दर्ता गरेको थियो । २०५० सालमा सन्धी विरुद्धको आन्दोलनमा नेतृत्वदायी भुमिकासँगै तत्कालीन सत्ता पक्षबाट गिरफ्तारसहित सार्वजनिक मुद्दा खेपेका उनलाई सरकारले २ वटा मुद्दा लगाएको थियो । २०५१ सालमा नेकपा एमालेको जिल्ला संगठन विभाग प्रमुख र गाउँ जागरण अभियानको उत्प्रेरक भई उनले महाकाली अञ्चलका चारै जिल्लामा अभियान सञ्चालन गरेका थिए ।
उनी २०५४ देखि ०५९ सालसम्म जिल्ला विकास समिति कञ्चनपुरको उपसभापति भए । २०५४ सालमा नेकपा एमाले कञ्चनपुरको पार्टी उपसचिव, २०५७ देखि २०६२ सालसम्म दुई कार्यकाल नेकपा एमाले जिल्ला कमिटी सचिव बनेका उनी २०५८ सालमा जिविस कञ्चनपुरको जिल्ला आवधिक योजना सहसंयोजक बनेका थिए । २०६२÷६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेल्दा राजकाज मुद्दा र पक्राउ गरिएका उनी २०६२ सालमा नेकपा एमालेको महाकाली अञ्चल समन्वय कमिटीको सचिव, २०७५ जेठ ३ देखि २०७७ चैत ३१ गतेसम्म नेकपा केन्द्रीय कमिटी सदस्य, २०७८ सालमा केन्द्रीय सदस्य र प्रदेश कमिटी सचिव तथा डडेल्धुरा जिल्ला इन्चार्ज बने । हाल उनी नेकपा एमाले पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज र सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलका नेता छन् ।
सुदूरपश्चिम विश्वविद्यालयको संस्थापक सदस्य रहेका उनी महाकाली अञ्चल अस्पताल सञ्चालक समिति अध्यक्ष समेत भएका थिए । उनी सिद्धनाथ बहुमुखी क्याम्पस, सिद्धनाथ विज्ञान क्याम्पस र शारदा विद्यापीठको सञ्चालक समिति सदस्य समेत बनेका छन् । उनी नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्य पनि हुन् । उनी लेखन विधामा समेत सक्रिय छन् । उनले मध्यकालीन डोटीको इतिहास (साके १२३५–१७१२), द इकोज पावर अफ प्यासन (कविता संग्रह) प्रकाशित गरेका छन् । खरो स्वभाव र स्पष्ट वक्ताका रूपमा परिचित रावल हालसम्म कुनै पनि विवादमा मुछिएका छैनन् । स्वच्छ छविका रावलले राजकीय नेतृत्वमा रहेर जनपक्षीय काम गर्ने अपेक्षा गरिएको छ ।