हरिश्चन्द्र बाग, कञ्चनपुर, २७ पुस । कञ्चनपुरको लालझाडीमा टोल शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कोभिड महामारीबाट सिर्जित शैक्षिक क्षति न्यूनीकरणका लागि लालझाडीमा गत फेब्रुअरीदेखि टोल शिक्षा कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम सुपरभाइजर शारदा जोशी बोहराले जानकारी दिनुभयो । गैरसरकारी संस्था युएसएआइडीको आर्थिक सहयोग, युनिसेफको समन्वयमा निड्स नेपालद्वारा सञ्चालित शिक्षामा कोभिड प्रतिकार्य परियोजनामार्फत उक्त टोल शिक्षा कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनु भयो । लालझाडी गाउँपालिका वडा नम्बर ३ र ६ अन्तर्गत सञ्चालित टोल कक्षाको मंगलबार अनुगमन गरिएको छ । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत सिद्धराज भट्ट, वडा नम्बर ३ का वडाध्यक्ष टिकाराम डगौरा, वडा नम्बर ६ का वडाध्यक्ष हर्कनारायण जोशी, शिक्षा शाखाका कुबेर बहादुर बम, निड्स नेपालका अध्यक्ष दुर्गा खरेल, निवर्तमान अध्यक्ष अञ्जु जोशी भट्ट, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र पत्रकार सहितको टोलीले टोल कक्षाहरूको अनुगमन गरेको हो ।
अनुगमनपछि संक्षिप्त प्रतिक्रिया दिनु हुँदै लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज भट्टले बालबालिकाको सिकाइलाई वृद्धि गर्ने उद्देश्यले निड्स नेपालको सहयोगमा सञ्चालन गरिएको टोल शिक्षा कार्यक्रमबाट सामूहिक भावनाको विकास, बिहान बेलुकाको समयमा पढ्ने बानीको विकास, बालबालिकाको सिकाइ प्रतिको रुचि वृद्धि र बालबालिकाहरूलाई अभिभावकहरूले घरमा गराउन नसकेका क्रियाकलापहरू समेत टोल कक्षा मार्फत गराउन सकिएकोले अभिभावकहरूको तर्फबाट पनि सकारात्मक बुझाइ प्राप्त भएको धारणा राख्नुभयो । उक्त कार्यक्रमले कक्षा शिक्षकहरूको समेत क्षमता विकास, सिकाइका सामग्रीहरू प्राप्त गर्दा बालबालिकाहरूको मनोवैज्ञानिक रूपमा र सृजनशील तरिकाले सिक्ने वातावरण तयार भएको उहाँको भनाइ छ ।
निड्स नेपालका अध्यक्ष दुर्गा खरेलले कोभिडको समयमा कोभिड रोकथामका लागि विद्यालयहरूमा क्वारेनटाइन राखिएको र पछि पुनः विद्यालयमा नियमित पठनपाठन गराउन कठिन परिस्थिति रहेको समयमा टोल कक्षाको अवधारणा ल्याइएको बताउनु भयो । त्यसयता बिहान बेलुकाको समयमा टोल कक्षा सञ्चालन गरिरहँदा त्यसको राम्रो सन्देश गएको उहाँको भनाइ छ । अनुगमनका क्रममा शिशुदेखि आठ कक्षासम्म पनि अध्ययनरत विद्यार्थीहरू नजिकको पायक पर्ने टोल कक्षामा सहभागी भएको पाइएको र यस क्रममा गाउँपालिका तथा विद्यालयका तर्फबाट समेत बेलाबेलामा अनुगमन हुने गरेको पाइएको अध्यक्ष खरेलले बताउनु भयो । विद्यालयमा गरिने पठनपाठनलाई समेत टोल कक्षाले ठुलो सहयोग गरेको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक तारामणि न्यौपानेले बताउनु भयो । अभिभावकहरूकै निगरानीमा टोल कक्षाहरू सञ्चालन गरिएकोले त्यसको प्रभावकारिता अझै उपलब्धिमूलक भएको र जसबाट विद्यार्थीहरू पढाइमा उत्साहित देखिएको उहाँको भनाइ छ । लालझाडी गाउँपालिका वडा नम्बर ३ मा सञ्चालित टोल कक्षा शिक्षक सावित्री रानाले पनि टोल कक्षाले बालबालिकाको पढाइमा थप सहयोग पुगेको बताउनु भयो ।