कञ्चनपुर, ०१ मङ्सिर । नेकपा एमालेको तर्फबाट सुदूरपश्चिम प्रदेश सभाका लागि कञ्चनपुर क्षेत्र नम्बर १ को २ मा उम्मेदवारी दिएका नेता पल्लवराज भट्टले आफ्ना २० बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । बिहीबार बिहान सञ्चारकर्मीहरूको भेटमा उहाँले सार्वजनिक सञ्चारमाध्यमहरूलाई नै साँची राखेर ती प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो । निर्वाचनको प्रचारप्रसारका लागि दिइएको समयसीमा भित्र सबै मतदातामाझ आफू पुग्न नपाए पनि यस अवधिमा स्वतःस्फूर्त रूपमा अहोरात्र खटिई प्रचारप्रसारको कार्य सम्पन्न गर्नुहुने सबै नेता, कार्यकर्ता, शुभेच्छुक र आम मतदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै नेता भट्टले निर्वाचन परिणाम आई निर्वाचन कार्यक्रम सम्पन्न हुँदासम्म आवश्यक सहयोगको अपेक्षा समेत गर्नुभयो । आफू कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएपछि आफूले अहिले सार्वजनिक गरेका प्रतिबद्धताहरू पूरा नगरेमा वा बाटो बिराएमा सञ्चारमाध्यम र स्वयं मतदाताहरूले समेत खबरदारी गर्न सकुन् भन्दै उहाँले सञ्चारमाध्यममार्फत आम मतदातामाझ प्रतिबद्धता सार्वजनिक गरेको बताउनु भयो ।
उहाँले नेपाल–भारत सीमा क्षेत्रमा देखिएको सीमा सम्बन्धी समस्याको दीर्घकालीन समाधानलाई पहिलो प्राथमिकता दिइने बताउनु भएको छ । विगत तीन वर्षदेखि अन्तर्राष्ट्रिय सीमा सरोकार समूहको समेत नेतृत्व गर्दै संयुक्त टिम मार्फत नेपाल–भारतबिचको सीमा विवादलाई राज्यका सरोकारवाला सबै निकायसम्म अवगत गराउँदै भारतीय हेपाहा प्रवृत्तिका विरुद्ध उक्त मुद्दालाई राष्ट्रियकरण गर्न सफल भएको दृष्टान्तलाई अवगत गराउँदै उहाँले अब आफै संसद्मा उपस्थित भएर प्रदेश सरकार मार्फत सङ्घीय सरकार हुँदै अन्तर्राष्ट्रिय निकायसम्म कूटनीतिक पहल गरी उक्त समस्या समाधान गर्ने अठोट गर्नुभएको छ । भारतीय सीमा क्षेत्रसँग जोडिएका बस्तीहरूका जनताहरूका लागि सुरक्षित र भयरहित वातावरण सृजना गरिने उहाँको पहिलो प्रतिबद्धता छ । यसका साथै उहाँले कञ्चनपुरको बेलडाँडी बेलौरी क्षेत्रमा पाँच वर्षभित्र गर्ने महत्त्वपूर्ण कार्यहरू अन्तर्गत प्रायः जसो सबै क्षेत्रलाई सम्बोधन गर्नुभएको छ । उहाँले सार्वजनिक गर्नु भएका २० प्रतिबद्धता यहाँ जस्ताको त्यस्तै प्रकाशन गरिएको छ ।
आदरणीय मतदाताज्यूहरू, नमस्कार ।
यही मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नम्बर २ बाट क. पल्लवराज भट्टको उम्मेदवारी रहेको सर्वविदितै छ । यस निर्वाचनमा चुनाव चिन्ह सूर्यमा मतदान गरी प्रदेश सभा सदस्यमा निर्वाचित गराइदिन हुन सादर अनुरोध छ । निर्वाचित भइसकेपछि पाँच वर्षमा यस क्षेत्रका लागि प्राथमिकता दिएर गर्नुपर्ने केही महत्त्वपूर्ण कार्यहरू गर्ने प्रतिबद्धता यहाँहरू समक्ष सार्वजनिक गरिएको छ ।
१. नेपाल–भारत सीमा क्षेत्रमा देखिएको सीमा सम्बन्धी समस्याको दीर्घकालीन समाधानलाई पहिलो प्राथमिकता दिइने छ । साथै भारतीय सीमा क्षेत्रसँग जोडिएका बस्तीहरूका जनताहरूका लागि सुरक्षित र भयरहित वातावरण सृजना गरिने छ ।
२. क्षेत्र नं. १ मा पर्ने हुलाकी सडकको अधुरो काम पुरा गराइने छ । साथै फटिया, बैजुडाँडा, वैशाखा, खप्टी, भट्टेघाट, सडकघाट, भुडा, सिक्रीकुण्डा, वैवाह, झिलिमिला हुँदै कालीकिचसम्मको वोडर कोरिडोर सडक निर्माण गरिने छ । बेलडाँडी र बेलौरीमा पालिका स्तरको चक्रपथ निर्माण गरिने छ । मुख्य सडकसँग जोडिने शाखा सडकहरूको स्तरोन्नति गरिने छ । यहाँका विकास उन्मुख सबै बजार क्षेत्रमा ढल सहितको सडक र हाइस्मार्ट लाइट जडान गरी उज्यालो बजार बनाइने छ ।
३. दोदा, चौधर, सुतिया, पथरिया लगायतका नदीनालाको उच्च जोखिम स्थानमा दिगो पक्की तटबन्ध निर्माण गरी नदी कटान नियन्त्रणका कार्य गरिने छ र अति आवश्यक स्थानलाई प्राथमिकतामा राखी पक्की पुल पुलेसा निर्माण गरिने छ ।
४. महाकाली सिँचाई नहरका कारण बेलडाँडीका झिलिमिला, वैवाह, चवन्नी, ढकनीया, रतनपुर, कमरी र बेलौरीका कानपुर, कुण्डा, भुडा, सडकघाट लगायतका सिमसार तथा डुबान हुने क्षेत्रमा ड्रेन निर्माण तथा सिचाइको व्यवस्था गरिने छ ।
५. बेलौरी छोटी भन्सारलाई स्तरोन्नति गरी मुख्य भन्सार नाकाको रूपमा विस्तार गर्नका लागि पहल गरिने छ ।
६. बेलौरी र बेलडाँडी क्षेत्रमा रहेका ताल तलैयाहरूको संरक्षण, संवर्द्धन गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने छ । बन्दाताल, पुरैनीताल, लामाताल, वन्तरियाताल, शोभाताल, कुण्डाताल, सिक्रीकुण्डा, कालिकिच लगायत बेलौरी र बेलडाँडीमा रहेका तालहरू संरक्षण व्यावसायिकीकरण गरी माछा जोनको रूपमा विकास गरिने छ । यहाँका पर्यटकीय स्थलहरूको प्रवर्द्धन गरिने छ ।
७. बेलडाँडी र बेलौरीका केही स्थानमा जङ्गली जनावरबाट वर्षेनी हुने गरेको जनधनको क्षतिलाई न्यूनीकरणका लागि आवश्यक कार्य गरिने छ । आवश्यकता अनुसार इलेक्ट्रिक फेन्सिङ, वैकल्पिक खेती बिस्तार र मध्यवर्ती क्षेत्रमा आयमूलक स्वरोजगारका कार्यक्रम सञ्चालन गरिने छ ।
८. स्थानीय तहमा करारमा रहेका कर्मचारीहरू र विद्यालयहरूमा कार्यरत आन्तरिक स्रोतबाट नियुक्त भएका शिक्षक कर्मचारीहरूको पेसागत सुनिश्चितता र स्थायित्वका लागि आवश्यक नीति नियम बनाइने छ ।
९. हाल कलुवापुर–बेलौरी हुँदै ल्याइएको विद्युत् हाईटेन्सन लाइनका कारण बेलडाँडी क्षेत्रका नागरिकले बढी सास्ती खेप्नु परिरहेकोले त्यसका लागि दैजीबाट बेलडाँडी ल्याउन अध्ययन गरेर नयाँ लाइन विस्तार गरी विद्युत् सेवा प्रवाहलाई नियमित गराउने छ । कम भोल्टेज भएका क्षेत्रमा विद्युतीय सेवालाई प्रभावकारी बनाइने छ ।
१०. भूमि सम्बन्धी समस्या समाधानका लागि नेकपा (एमाले) को सरकारले सुरुवात गरेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको जग्गा नापी कार्यलाई पूर्णता दिई हातहातमा जग्गाधनी पुर्जा उपलब्ध गराइने छ । आवास विहीनलाई जनता आवास कार्यक्रम सञ्चालन गरिने छ ।
११. शुक्लाफाँटा वन्यजन्तु आरक्ष बिस्तारका क्रममा विस्थापित भई दुई दशक भन्दा लामो समयसम्म विभिन्न खोलानाला, बनजंगल, सडक छेउछाउ र सार्वजनिक जमिनमा बस्न बाध्य आरक्षपीडितहरूलाई हाम्रै पालामा जग्गा वा मुआब्जा दिई उचित व्यवस्थापन गरिने छ ।
१२. सबै समुदायका कला, संस्कृति, भेषभुषा र रहनसहनलाई व्यवस्थित र न्यायोचित हुने गरी आवश्यक कार्यहरू गरिने छ । सङ्ग्रहालय तथा होमस्टे सञ्चालनका लागि आवश्यक नीतिगत कार्यक्रम ल्याइने छ ।
१३. यस क्षेत्रका किसानको खेती उत्पादनको ढुवानीलाई ध्यान दिई कृषि सडकको निर्माणलाई पूर्णता दिइने छ । कृषि बिमा, एक गाउँ एक वस्तु उत्पादन, किसान परिचय पत्र र कृषक भत्ता, किसानको उत्पादन सङ्कलन केन्द्र, कृषि सामग्रीको सुरक्षित भण्डारण र कोल्ड स्टोर, मल बिउ डिपो स्थापना, भैँसी स्रोत केन्द्र, बंगुर तथा बाख्रा खोर तथा नस्ल सुधार आदि कार्यक्रम मार्फत कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण गरिने छ । व्यावसायिक पशु तथा पंक्षिपालनलाई प्रोत्साहन गरिने छ । कृषि तथा सिचाइ मिटरको व्यवस्था गरी कृषकहरुलाई सहज रूपमा विद्युतीय माध्यमबाट सिचाइको सुविधा विस्तार गरिने छ ।
१४. यहाँका नागरिकहरूलाई स्वच्छ खानेपानी उपलब्ध गराउन आवश्यक संरचना निर्माण तथा विस्तार गरिने छ । सरसफाइ र स्वच्छताका लागि अभियान थालिने छ ।
१५. सूचना, प्रविधि तथा सञ्चार क्षेत्रलाई व्यवस्थित गरी सेवा विस्तारका लागि प्रोत्साहन गरिने छ ।
१६. बेलौरी र बेलडाँडीका ३ वटै क्याम्पसहरूलाई स्तरोन्नति गर्नुका साथै सबै पालिकामा पालिकाको स्वामित्वमा बहु प्राविधिक शिक्षालय स्थापना गरिने छ । गुणस्तरीय शिक्षाका लागि आवश्यक सेवा विस्तार गरिने छ । आधारभूत तथा माध्यमिक तहका सबै विद्यालयहरूमा सूचना प्रविधि सहित आधारभूत सुविधा सम्पन्न बनाइने छ ।
१७. बेलौरी र बेलडाँडीमा १५ शय्याको अस्पताल निर्माणको कामलाई अगाडी बढाइने छ भने बेलौरीमा ५० शय्याको अस्पताल स्थापना गरी यस क्षेत्रको स्वास्थ्य सेवालाई थप गुणस्तरीय बनाइने छ ।
१८. युवाहरूको खेलप्रतिको लगावलाई ध्यान दिई पालिकामा रहेका खेलमैदानको स्तरोन्नति गरी एक पालिका, एक आधुनिक खेल मैदान तथा कवर्ड हल निर्माण गरिने छ । खेलाडीहरूका लागि तालिम एवं प्रशिक्षणको व्यवस्था गरिने छ । पुराना खेलाडीहरुलाई प्रोत्साहन गर्दै नयाँ खेलाडी उत्पादनमा समेत जोड दिइने छ ।
१९. युवाहरूलाई सूचना प्रविधि (आई.टी.) को माध्यमबाट रोजगारीमा जोडिने छ । एक युवा एक सीप तथा उद्यम कार्यक्रम योजना लागु गरी स्थानीय स्रोतसाधन तथा बजारमा आधारित विभिन्न उद्यम तथा उद्योग मार्फत युवालाई स्वरोजगार बनाइने छ । साथै सबै प्रकारका मजदुरहरूका लागि मजदुर कलौनको व्यवस्था गरिने छ । महिला वर्गका लागि आवश्यकता अनुसारका सीपमूलक कार्यक्रम ल्याई स्वरोजगार बनाइने छ ।
२०. अपाङ्गता भएका व्यक्तिहरूलाई सहज वातावरण उपलब्ध गराउने गरी पहुँचयुक्त भौतिक संरचना निर्माणका लागि आवश्यक नीति बनाई लागु गरिने छ । अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक स्रोतसाधन र स्वास्थ्योपचारका लागि कार्यक्रम ल्याइने छ । ज्येष्ठ नागरिकहरु र बालबालिकाहरुको आवश्यकतालाई मध्यनजर गरी स्रोत साधनको व्यवस्थापन गरिने छ । मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु ल्याइने छ । लागुऔषधको नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गरिने छ ।
हाम्रा प्राथमिकताहरू :
समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने,
दलाल पुँजीवादको अन्त्य गरी जनताको बहुदलीय जनवादका माध्यमले समाजवादको स्थापना गर्ने,
स्वदेशी सीप, उत्पादन र स्वदेशी पुँजी निर्माणका माध्यमले आत्मनिर्भर बनाउने,
मजदुर र किसानको परिचयपत्र सहित प्रत्यक्ष लाभ पुग्ने योजनालाई प्राथमिकता दिने,
सीमा क्षेत्रको व्यवस्थापन सहित राष्ट्र र राष्ट्रियता अगुवाइ गर्ने,
युवाहरूको सम्मान र युवा स्वरोजगारी र रोजगारी सृजना गर्ने,
नागरिक समाज, संघसंस्था र सामाजिक संरचनाको उपयोग मार्फत समावेशी समतामूलक समाज निर्माणका लागि सामाजिक रूपान्तरण गर्ने,
पुँजीपतिवर्ग र मजदुर श्रमिक वर्ग बिचको खाडल बढ्दै गई गरिब विपन्न वर्ग थप गरिबीतिर धकेलिँदै गइरहेकाले मजदुर श्रमिक वर्ग मैत्री नीति र कार्यक्रम लागु गर्ने ।
समृद्ध नेपाल, सुखी नेपालीका लागि नेकपा (एमाले) को नेतृत्व