कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ मा गाई पूजा तथा गौशालाको सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । शुक्लाफाँटा नगरपालिकाद्वारा सञ्चालित बिन्द्रावन सामुदायिक गाई गोरु व्यवस्थापन समितिको गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने नगरपालिकाका विभिन्न स्थानबाट छोडिएका छाडा गाईहरूको पूजा गर्दै गाई पूजा कार्यक्रम समेत गरिएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रमेश बहादुर ऐरको सभापतित्वमा नौखरीमा मंगलबार बिहान आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका सभापति दुर्गा बोहरा र विशिष्ट अतिथि शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले संयुक्त रूपमा गाईको पूजा गर्दै उद्घाटन गरेका थिए ।
बिन्द्रावन सामुदायिक गाई गोरु व्यवस्थापन समितिको गत आर्थिक वर्ष को प्रतिवेदन प्रस्तुत गर्दै वडाध्यक्ष रमेश बहादुर ऐरले २०७७ श्रावण १२ गते शुक्लाफाँटा नगरपालिकाको प्राङ्गणबाट २ सय ६३ वटा छाडा गाई गोरु जिम्मामा लिएको र अहिले ४ सय वटा छाडा गाई गोरु उक्त गौशालामा रहेको उल्लेख गरेका छन् । ३० बिघा क्षेत्रफलमा छाडा पशु चौपायालाई चरिचरणको लागि छुट्टाइएको समेत उनले जनाएका छन् । गौशालामा १२ जना गौ सेवक रहेको र उनीहरूलाई मासिक रूपमा रु. १४ हजारको दरले पारिश्रमिक दिँदै आएको समेत वडाध्यक्ष ऐरले जनाएका छन् ।
प्रतिवेदनमा उल्लेख गरे अनुसार बिन्द्रावन सामुदायिक पशु व्यवस्थापन स्थलमा हाल रहेका भौतिक संरचनाहरूमा तीन ओटा ट्रस्ट गौशालाहरू, तीन ओटा पानी चारो खाने डुँडहरू, एउटा पक्की भवन र एउटा शौचालय, चार वटा सोलार र बत्ती, तीन वटा सडक बत्ती, दुई वटा स्यानो ट्युबवेल, पाँच वटा आर्टिजन नलहरू, एउटा पानी ट्याङ्गकी, १ हजार ३ सय मिटर आरसिसी जाली, पाँच किलोमिटर काँडे तार, एउटा फलामे गेट, एउटा कच्ची भान्सा र एउटा गोलघर रहेका छन् ।
त्यस्तै गत आर्थिक वर्ष शुक्लाफाँटा नगरपालिकाबाट अनुदान ४० लाख रुपैयाँ प्राप्त गरेको थियो भने खर्च तर्फ १२ जना हेरालाहरूको पारिश्रमिक रु २० लाख १६ हजार, पराल खरिद प्रति ट्रली रु. ६ हजार ५ सयको हिसाबले ९० ट्रली को रु ५ लाख ८५ हजार, भूसा खरिद प्रति ट्रली रु. ९ हजारका दरले १९ ट्रलीको रु. १ लाख ७१ हजार, हेरालाको राशन प्रतिमहिना रु. २१ हजारका दरले रु. २ लाख ५२ हजार, पशुहरूको औषधी, ब्रान, चारा खरिदमा १ लाख ९१ हजार १ सय २७ रुपैयाँ, काँडे तार, टिन, घाँसको बिउ, हेराला पोसाक आदिमा ३ लाख १२ हजार ३ सय २६ रुपैयाँ, पानी खुवाउने डुँड, पानी ट्याङ्की, आर्टिजन नल, गोल घर निर्माण लेबर मिस्त्री खर्च रु ४ लाख ४४ हजार ९ सय, खाल्डाखुल्डी भरान तथा चारा ढुवानी एवं खनजोतको लागि ट्याक्टर भाडामा २७ हजार ६ सय ४७ रुपैयाँ रहेको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका सभापति दुर्गा दत्त बोहराले बिन्द्रावन सामुदायिक छाडा पशु चौपाया व्यवस्थापन केन्द्रले नाम जस्तै कार्य गर्न आग्रह गर्दै गौ माताको बारेमा सबैले चिन्ता र चासोका रूपमा लिन समेत अपिल गरेका छन् । परापूर्व समयबाट चल्दै आएको मूल्य र मान्यतालाई अहिलेको पुस्ताले अवमूल्यन गर्दै हिँडेको हुँदा सबैले त्यस्तो कार्य नगर्न तथा गाई गोरुलाई सडकमा छोड्ने प्रवृत्तिको अन्त्य गर्न सघाउन समेत अनुरोध गरे । गाई हिन्दु धर्मावलम्बीहरूका लागि पवित्र र महत्त्वपूर्ण प्राणी हो । गाईले आमाले जस्तै माया दिने भएकाले ‘गौ माता’ समेत भनिन्छ । आमाले आफ्ना सन्तानलाई दूध खुवाए जस्तै गाईले मानवलाई दूध दिएर प्राण रक्षा गरिदिने हुनाले नै गाईलाई माता भनिएको समेत उनले बताए । गाईबाट प्राप्त हुने दूध, दही, घ्यू, गहुँत, गोबर आदि वस्तु प्राचीन कालदेखि नै मानिसले प्रयोग गर्दै आएका छन् । कृषि युग सुरु भएपछि कृषि–उत्पादन वृद्धिका लागि समेत गाईको गोबर र गहुँत मल र विषादी दुवै रूपमा प्रयोग हुन थाल्यो । यस्तै प्राचीन कालमा गाई सबैभन्दा महत्त्वपूर्ण चल सम्पत्ति मानिन्थ्यो । अरू वस्तुको मूल्याङ्कन गर्दा गाईको मूल्यसँग तुलना गरिन्थ्यो र सम्पत्तिकै रूपमा मान्ने समेत गरिन्थ्यो ।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष उत्तरदेव भट्ट, वडा नम्बर ४ का वडाध्यक्ष कमल ठकुल्ला, वडा नम्बर १० का वडाध्यक्ष लाल बहादुर ऐर, वडा नम्बर ११ का वडाध्यक्ष शेर बहादुर साउद, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, सशस्त्र प्रहरी बल शैलेश्वरी गण झलारीका गणपति अमर बहादुर ऐर, इलाका प्रहरी कार्यालय झलारीका प्रमुख ज्ञानेन्द्र सिंह, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका प्रमुख डा. पानसिंह ठगुन्ना सहित पत्रकार तथा स्थानीय बासिन्दाहरूको समेत सहभागिता रहेको थियो ।