हरिश्चन्द्र बाग, कञ्चनपुर, २७ असोज । बिहीबार विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइएको छ । हरेक वर्ष अक्टोबर १३ तारिखका दिन विविध कार्यक्रमको आयोजना गरी विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाउने गरिन्छ । नेपालमा पनि सरकारी, अर्धसरकारी, गैरसरकारी तथा निजी क्षेत्रका संघसंस्थाहरूले समेत यो दिवसका अवसरमा कार्यक्रम गर्ने गरेका छन् । जुन कार्यक्रमहरूमा प्राकृतिक प्रकोप नियन्त्रण सम्बन्धी निक्कै सान्दर्भिक विषयवस्तु उठान गरिन्छन् । यद्यपि नेपालका थुप्रै नागरिकहरू हरेक वर्ष उही नियति भोग्न विवश छन् । समयमै पूर्व तयारी र सतर्कता अपनाउन नसक्दा वर्षेनी जनधनको क्षति व्यहाेर्नु परिरहेको छ ।
प्राकृतिक प्रकोपको कुनै निश्चित समय र सीमा त हुँदैन । तापनि विश्वमा समय–समयमा आउने भूकम्प, आँधीबेहरी, तुफान, ज्वालामुखी, बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि र सङ्क्रामक रोगहरूजस्ता प्रकोपहरूबाट वर्षेनी थुप्रैको सङ्ख्यामा जनधनको क्षति भएका र लाखौँको सङ्ख्यामा घरबारविहीन तथा घाइते भएका घटनाहरू व्यापक सुनिन्छन् । प्राकृतिक प्रकोपले मानव जीवनलाई नै तहसनहस गर्ने गर्दछ, जुन प्रकोपहरू आकस्मिक र भयङ्कर हुने गर्छन् । नेपालमा बाढी-पहिरो, डुबान, चट्याङ र हिम पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण हरेक वर्ष कयौँ व्यक्तिको मृत्यु हुन्छ भने हजारौँ परिवार घरबारविहीन हुन्छन् । प्राकृतिक विपत्तिबाट विस्थापित व्यक्ति तथा परिवारलाई सरकारले पुनर्वास तथा यथोचित राहतको घोषणा गर्छ । तर, सरकारी घोषणाको कार्यान्वयन निकै फितलो छ ।
पश्चिम तराइको पीडा ।।
कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ लगायत पश्चिम तराइमा पनि वर्षेनी आउने बाढीले धेरैलाई घरबारविहीन बनाउने गरेको छ । हरेक वर्ष मनसुनमा यही नियति दोहोरिरहन्छ । विपद्का कारण वर्षेनी जनधनको ठूलो क्षति हुने गरेको भए पनि यसको स्थायी समाधान नहुँदा विपद् प्रभावितहरू आजित बन्ने गरेका छन् । हरेक वर्ष जसो वर्षा याममा कर्णाली, महाकाली, दोदा, मोहना, लगायतका दर्जनौँ नदी तथा खोलानालाहरूमा आउने बाढीले कैलाली कञ्चनपुरका हजारौँ घरपरिवारको उठीबास हुने गरेको छ । अघिल्लो साता आएको बाढीका कारण विस्थापित भएका कयौँ परिवार अहिले पनि आसपासका विद्यालय र सार्वजनिक क्षेत्रमा त्रिपाल मुनि बसिरहेका छन् । अघिल्लो साता दाङमा दोलाई खोलामा आएको बाढीले घर गुमाएकाहरू अहिले आश्रय खोजिरहेका छन् । यस्तै अवस्था छ अन्य क्षेत्रहरूमा पनि ।

नदी तथा खोलानालाहरूमा आउने बाढीले तटीय क्षेत्र र आसपासका बस्तीमा वर्षेनी ठूलो क्षति पुग्ने गरेको भए पनि सरकारले यसको स्थायी समाधानका लागि काम नगरेको पीडितहरूको गुनासो छ । कतिपय ठाउँमा बाढी प्रकोप नियन्त्रणका नाममा भएका काम पनि टालटुले र बजेट सक्ने मेलो मात्रै भएको छ । अस्थायी रूपमा तटबन्ध गरिने र त्यो एक वर्षातमा पनि नटिक्ने हुँदा वर्षेनी समस्या दोहरिने गरेको भन्दै यसको स्थायी समाधानका लागि पीडितहरूले सरकारसँग आग्रह गरेका छन् । निर्वाचनका वेला उम्मेदवारहरूले विपद् नियन्त्रणलाई आफ्नो चुनावी एजेन्डा बनाउने गरे पनि चुनाव जितेर गएपछि काम नभएको उनीहरूको गुनासो छ ।
देशभरको समग्र अवस्था ।।
देशैभरि दशैँ मनाइरहँदा भएको अस्वाभाविक वर्षा, बाढी, पहिरो, चट्याङ तथा हिम पहिरो लगायत घटनामा ४७ जनाको मृत्यु भयो । २४ जना अझै बेपत्ता छन् । ३ सयभन्दा धेरै परिवार विस्थापित छन् । हरेक वर्ष मनसुनमा जनधनको ठूलो क्षति हुने गरे पनि जोगिनका लागि पूर्व तयारी भने हुँदैन । नेपालीहरूलाई मनसुन सधैँ विपद् बनेर आउने गरेको छ । पहाडी जिल्लामा यो वर्ष पहिरोले मात्रै १९४ जनाको ज्यान लियो । तराईमा बाढी र डुबानले ठूलो क्षति पुर्यायो । घटनापछि राहत घोषणा गर्ने सरकारले महिनौँसम्म पनि पीडितसम्म राहत पुर्याउन सक्दैन । भौगोलिक अवस्थितिका कारण नेपालमा प्राकृतिक प्रकोपको जोखिम बढी छ । व्यवस्थित बसोबास र वातावरणमैत्री विकास निर्माण गर्न सके यसबाट हुने मानवीय एवं आर्थिक क्षति कम गर्न सकिन्थ्यो कि ?
कान्तिपुर टेलिभिजनमा प्रशारित भिडियाे रिपाेर्ट पनि हेर्नुहाेस् ।