हरिश्चन्द्र बाग, कञ्चनपुर, २३ असोज । कञ्चनपुर जिल्लामा सत्ता गठबन्धनका तर्फबाट ३ जना पूर्व मन्त्रीहरूले उम्मेदवारी दर्ता गराएका छन् । कञ्चनपुरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट क्षेत्र नम्बर १ मा पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिना मगर, क्षेत्र नम्बर २ बाट पूर्व मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य एन.पी. साउद र क्षेत्र नम्बर ३ बाट पूर्व मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, नेकपा एमालेको तर्फबाट कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रदेश पूर्व मन्त्री तारा लामा तामाङ, क्षेत्र नम्बर २ बाट नर बहादुर धामी र क्षेत्र नम्बर ३ बाट निरु देवी पालले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । त्यसै गरी राप्रपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी सहित केही स्वतन्त्र उम्मेदवारहरूले पनि प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभा सदस्यका लागि पनि कञ्चनपुरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका छन् । क्षेत्र नम्बर १ को १ बाट नेपाली काँग्रेसका बन्धु राना र १ को २ बाट नेपाली काँग्रेसका दिवान सिंह बिष्ट, क्षेत्र नम्बर २ को १ बाट नेकपा माओवादी केन्द्रका ओम विक्रम भाट र २ को २ बाट नेपाली काँग्रेसका बहादुर सिंह थापा तथा क्षेत्र नम्बर ३ को १ बाट नेकपा माओवादी केन्द्रका टेकेन्द्र भट्ट र ३ को २ बाट नेपाली काँग्रेसका बेल बहादुर रानाले उम्मेदवारी दर्ता गराएका छन् । केन्द्रीय गठबन्धनबाट कञ्चनपुरमा नेकपा एकीकृत समाजवादी भने बाहिरिएको छ । नेकपा एकीकृत समाजवादीले कञ्चनपुर क्षेत्र नम्बर २ को २ मा प्रदेशका पूर्व मन्त्री लाल बहादुर खड्का र क्षेत्र नम्बर ३ को १ मा प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै नेकपा एमालेले कञ्चनपुर क्षेत्र नम्बर १ को १ मा वीर बहादुर थापा र १ को २ मा पल्लवराज भट्ट, क्षेत्र नम्बर २ को १ मा बचन बहादुर सिंह र २ को २ मा कृपाराम राना तथा क्षेत्र नम्बर ३ को २ मा सुरेन्द्र बिष्टलाई उम्मेदवार बनाएको छ । क्षेत्र नम्बर ३ को १ मा भने नेकपा एमाले र राप्रपाले तालमेल गरेर राप्रपाका धर्मराज जोशीलाई अगाडि सारेको छ । राप्रपाले कञ्चनपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि दिल्ली बहादुर शाही तथा प्रदेश सभा १ को १ का लागि खेमप्रसाद लामिछाने र १ को २ का लागि धिरेन्द्र विक्रम सिंहलाई उम्मेदवार बनाएको छ । त्यसै गरी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी सहित केही स्वतन्त्र उम्मेदवारहरूले पनि प्रदेश सभा सदस्यका लागि पनि उम्मेदवारी दर्ता गराएका छन् ।