हरिश्चन्द्र बाग, कञ्चनपुर । मानव स्वास्थ्यका लागि खाद्यवस्तुको स्वच्छता अपरिहार्य रहन्छ । यद्यपि पछिल्लो समयमा साना तथा ठूला सबै बजार क्षेत्रहरूमा जताततै अखाद्य बस्तुको बिक्री वितरण भइरहेको पाइन्छ । कञ्चनपुरका बजार क्षेत्रमा पनि अखाद्य बस्तुहरूको व्यापक बिक्री वितरण हुने गरेको छ ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले दशैँ तिहारलाई लक्षित गरी बिहीबार दिउँसो चवन्नी र बेलडाँडी बजारका किराना, तरकारी, फलफूल, माछा, मासु, होटेल तथा नास्ता पसलहरूमा अनुगमन गरेको छ । चवन्नी बजारका व्यापारी तेज सिंह धामीले गाउँपालिकाको नयाँ टिमले पहिलो पटक बजार अनुगमन गरेकोमा खुसी व्यक्त गर्दै यस्तो अनुगमन चाडपर्वको बेला मात्रै नभएर बेला–बेलामा गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
त्यस्तै बेलडाँडी बजारका व्यापारी कविराज उपाध्यायले बजार अनुगमन कार्य प्रति सराहना व्यक्त गर्दै व्यापारीहरूले गर्न हुने र गर्न नहुने विषयमा समय समयमा सजक र सचेत गराउन समेत अनुरोध गर्नुभयो । बेलडाँडी गाउँपालिकाका जनप्रतिनिधिहरू, सम्बन्धित कर्मचारीहरू, सुरक्षाकर्मी र पत्रकारहरूको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो ।
अनुगमन समिति संयोजक एवं गाउँपालिका उपाध्यक्ष शान्ति नाथले अनुगमनका क्रममा बजारमा गुणस्तरहीन, म्याद नाघेका र अखाद्य बस्तु समेत फेला परेको बताउनु भयो । पहिलो पटक अनुगमन गरिएकोले व्यापारीहरूलाई सचेत गराइएको बताउँदै उपाध्यक्ष नाथले आगामी दिनहरूमा प्रत्येक महिना बजार अनुगमन गर्ने कार्यविधि बनाएको सुनाउनु भयो । बजारमा बिक्री वितरणका लागि राखिएका सडेका माछा भने तत्कालै नष्ट गरिएको उहाँले जानकारी दिनुभयो ।