हरिश्चन्द्र बाग, कञ्चनपुर, १२ असोज । कञ्चनपुरको बेलौरीमा दशैँ तिहार विशेष सांस्कृतिक कार्यक्रमको तयारी हुँदै छ । बेलौरी नगरपालिका वडा नम्बर ०४ को आयोजना तथा पूर्व विद्यार्थी समाज शान्ति मावि शान्तिपुरको सह आयोजनामा यही असोज १५ र १६ गतेका दिन शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम हुने बताइएको छ । उक्त कार्यक्रमको मुख्य प्रायोजकको रूपमा ईशान मेमोरियल अस्पताल बेलौरी तथा सह प्रायोजकको रूपमा होटेल सिद्धार्थ एण्ड फिस रिसोर्ट बेलौरी रहेका छन् भने मिडिया पार्टनरका रूपमा रेडियो बेलौरी, एन.बी. मिडिया नेटवर्क, रानाथारु डटकम र दीप न्युज रहेका छन् ।
श्री शान्ति माध्यमिक विद्यालयको प्राङ्गण शान्तिपुर हुने उक्त सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बद्री पङ्गेनी, चर्चित लोक तथा देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो), गायक नवराज कलौनी, गायिका समीक्षा चौधरी, मोडल सुरज रावल र हास्य कलाकार तीर्थराज जोशी लगायत स्थानीय कलाकारहरू तथा विद्यार्थीहरूको समेत बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रमको सहजीकरण सञ्चारकर्मी राजमति बम चन्दले गर्नुहुने छ ।
कार्यक्रमको व्यवस्थापनका लागि गत साताको सोमबार विभिन्न समिति तथा उपसमिति गठन गरी कामको बाँडफाँड समेत गरिएको छ । मूल समितिको संयोजकमा वडा सदस्य रुद्र प्रसाद अधिकारी, उप संयोजकमा पूर्व विद्यार्थी समाज शान्ति मावि शान्तिपुरका अध्यक्ष राजेन्द्र भट्टलाई चयन गरिएको छ । सदस्यहरूमा बाल कुमार पोखरेल, धनसरी सुवेदी, डम्बर बहादुर चौधरी, जितेन्द्रराज थपलिया, धन बहादुर रावल, ऋतु गैरे, कमल ढकाल, सावित्री अर्याल र शिशिर चापागाईँ रहनु भएको छ । यस्तै, सल्लाहकार समितिमा विद्यालय व्यवस्थापनबाट पदमपाणि ढकाल, प्रधानाध्यापक प्रेम बहादुर थापा, शिक्षक लक्ष्मण खरेल, शिक्षिका उमा भण्डारी र वडा सदस्य शिवराज राना रहनु भएको छ ।
आयोजकका अनुसार, कार्यक्रमको पहिलो चरणमा वडा कार्यालयको तर्फबाट शुभकामना आदान प्रदान र बेलौरी नगरपालिका वडा नम्बर ०४ का ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिने र दोस्रो चरणमा पूर्व विद्यार्थी समाज शान्ति मावि शान्तिपुरले सांस्कृतिक कार्यक्रमलाई सञ्चालन गर्नुका साथै बेलौरी नगरपालिका वडा नम्बर ०१ देखि १० सम्मका वडा अध्यक्षहरूलाई सम्मान गर्ने गरी कार्यक्रम रूपरेखा तयार गरिएको आयोजक बेलौरी नगरपालिका वडा नम्बर ०४ का वडा अध्यक्ष अर्जुन ढकालले जानकारी दिनुभयो । कार्यक्रमलाई सभ्य र भव्य बनाउन आवश्यक तयारी भइरहेको आयोजकले जनाएको छ ।