काठमाडौँ, ११ असोज । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी गरी नौ सय ६१ जनालाई लालपुर्जा वितरण गरेको छ । पछिल्लो पटक गठन भएको आयोगले एक वर्षको अवधिमा पुराना आयोगका अधुरा कामसमेत प्राथमिकतामा राखी पुर्जा वितरणलाई महत्त्वसाथ अगाडि बढाएको थियो ।
आयोगले सबैभन्दा बढी लालपुर्जा चितवन जिल्लामा वितरण गरेको छ । चितवनको भरतपुर महानगरपालिकामा भूमिहीन दलित र सुकुम्बासी गरी १६७ जनालाई पुर्जा वितरण गरिएको छ । सुर्खेतको भेरीगङ्गा र गुर्भाकोट नगरपालिकामा आयोगले पुरानो काम अगाडि बढाएको थियो । भेरीगङ्गा र गुर्भाकोटमा १४७ जनालाई पुर्जा वितरण गरिएको छ । यसै गरी सिराहा जिल्लाको धनगढीमाई नगरपालिकामा १३०, कैलालीको धनगढी र लम्किचुहा नगरपालिकामा गरी १४६ र सिन्धुलीको दुधौली नगरपालिकामा १०६ जनालाई पुर्जा वितरण गरिएको छ ।
काम प्रभावित
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत सङ्कलन र प्रमाणीकरण गरी जग्गा उपलब्ध गराउने लगायतका जिम्मेवारी भएको आयोगको काम निर्वाचनले प्रभावित भएको छ । विभिन्न जिल्लामा भूमिहीनलाई लालपुर्जा वितरण गरिरहेको आयोग निर्वाचनका कारण कामविहीन भएको हो । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई जग्गा वितरणको निवेदन लिने, जग्गा नाप जाँच, निस्सा वितरण तथा लालपुर्जा वितरण कार्य तत्काल स्थगन गर्न भदौ अन्तिममा निर्देशन दिएपछि आयोगको काम प्रभावित भएको हो ।
लगत सङ्कलन, जग्गा नाप जाँच, जग्गाको निस्सा तथा जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्ने कार्य अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको सूचना भूमि आयोगले सबै काम स्थगित गरेको छ । भूमि आयोगले कामका लागि नियुक्त गरेका ६०० जना अमिन र सर्वेक्षकबाट समेत काम नहुने भएको छ । यसै गरी सबै जिल्लामा आयोगले बनाएको जिल्ला समितिको काम पनि हुन सक्ने अवस्था छैन । यो समाचार गोरखापत्रबाट साभार गरिएकाे हाे ।