हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ असोज । लगातारको वर्षाले ठाउँठाउँमा बाढी, पहिरो, डुबान र कटान गरिरहेको छ । बिहीबार बिहानैदेखि सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ । वर्षासँगै सुदूर तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीका केही बस्तीहरू डुबानमा परेका छन् भने पहाडी जिल्लाहरूका ठाउँ ठाउँमा पहिरोले भूक्षय गरेको छ । कञ्चनपुर र कैलाली भएर बग्ने मोहना, खुटिया, कान्द्रा, पथरिया, दोदा, सुनबरा, बनहरा, स्याली, चौधर, जोगबुढा लगायतका साना नदी तथा खोलाहरूमा आकस्मिक बाढी आई खतराको सङ्केत पार गरेको छ । त्यस्तै, महाकाली नदीमा समेत जल स्तर बढेपछि नदीमाथिको पुलमा आवागमन बन्द गरिएको बताइएको छ । नदी तटीय क्षेत्रमा कटान र पटान समेत भइरहेको छ । कञ्चनपुरका लालझाडी, बेलौरी, पुनर्वास, कृष्णपुर, शुक्लाफाँटा र दोधाराचाँदनीका केही बस्ती डुबानमा परेका छन् ।
किसानले लगाएको धान बाली, उखु बाली, तरकारी, फलफूल र तेलहन तथा दलहनमा समेत वर्षाले क्षति पुगेको छ । अहिलेसम्म मानवीय क्षति नभए पनि पशु चौपायाको क्षति भएको छ । कञ्चनपुरमा बाढी प्रभावित सबै क्षेत्रहरूमा गरी एक हजार भन्दा बढी घरहरू डुबानमा परेका छन् । जोगबुढा नदीको बाढी पस्दा दोधाराचाँदनी नगरपालिका वडा नम्बर ७ स्थित कञ्जभोज र वडा नम्बर १० मा रहेका सशस्त्र प्रहरीका बिओपी क्याम्पहरू विस्थापित भएका छन् । उक्त क्षेत्रमा शनिबार मध्यान्ह पछि मात्रै जोगबुढा नदीको बाढी पसेको हो । शुक्लाफाँटाको तिल्की र देखतभुली जोड्ने झोलुङ्गे पुल बनहरा नदीको बाढीले कटान गर्दा ढलेको छ । पुनर्वासको सिमरी क्षेत्रमा दोदा नदीको बाढी पस्दा हुलाकी राजमार्ग समेत अवरुद्ध भएको छ ।
होचो ठाउँमा रहेका विद्यालय, स्वास्थ्य संस्था लगायतका सार्वजनिक स्थल तथा पसलहरूमा समेत पानी पसेर क्षति पुगेको खबर छ । मानव बस्तीमा बाढी पस्दा सुरक्षा निकाय, रेडक्रस, विपद्को क्षेत्रमा क्रियाशील सङ्घसंस्था, जनप्रतिनिधि तथा स्थानीयको टोलीले बढी प्रभावित मानव र पशु चौपायाको उद्धार गरी सुरक्षित स्थानमा सार्ने र खाद्य सामग्री उपलब्ध गराउने कार्य गरिएको छ । वर्षाकै कारण जङ्गल क्षेत्र भित्र केही ठाउँमा रुख ढल्दा विद्युतीय संरचनामा क्षति पुग्न गई कञ्चनपुरको आधा भूभागमा गएरातिदेखि नै विद्युत् सेवा समेत अवरुद्ध भएको थियो । शनिबार बिहानैदेखि मर्मत कार्यमा खटिएको प्राविधिक टोली शनिबार साँझ ७ बजेदेखि विद्युत् सेवा पुनः सुचारु गर्न सफल भएको छ । अझै पनि थप वर्षा हुने भएकोले कञ्चनपुर र कैलालीका नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
कैलालीका धनगढी, गोदावरी, जोशीपुर, कैलारी, जानकी, भजनी, लम्कीचुहा, टिकापुरका विभिन्न बस्तीहरूमा बाढी पसेको छ भने चुरेका केही ठाउँहरूमा पहिरो गएको प्रहरीले जनाएको छ । कैलाली जिल्लाभर एक हजार पाँच सय भन्दा बढी घरहरू डुबानमा परेको बताइएको छ । डुबानबाट दर्जनौँ पशु चौपाया र पंक्षीहरू मरेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १३ झलारी बस्ने २० वर्षीया नबिना चौधरी माछा मार्ने क्रममा झलारी नालामा डुबी बेपत्ता भएको र प्रहरी टोलीले खोजतलास गरिरहेको जनाएको छ । टिकापुर नगरपालिका वडा नम्बर २ विजयनगरमा कच्ची घर भत्कन गई सोही घरमा बस्ने बस्ने २२ वर्षीय शिशिर चौधरीको टाउको र छातीमा चोट लागेकोले टिकापुर अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि कोहलपुर बाँके रेफर गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुर भुलगाँउ बस्ने रामप्रसाद सापकोटाको टिनले छाएको एक तले ३ कोठे ईलेक्ट्रोनिक पसलमा माथिबाट पहिरो आई पसल पूर्ण रूपमा क्षतिग्रस्त भएको र सोही पसलमा सुतिरहेको अवस्थामा पसल धनीका ८ वर्षीय छोरा आयुष सापकोटाको टाउकोमा चोट लागी घाइते भएकोले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । कैलारी गाउँपालिका वडा नम्बर ३ खोनपुर स्थित मोहना नदीमा नयाँ निर्माणाधीन अवस्थामा रहेको झोलुङ्गे पुलका पिल्लरहरू मोहना नदीले कटान गरी बगाएको कैलाली प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण कैलालीको चुरे स्थित सडक माथिबाट पहिरो खस्न गई शनिबार बिहानैदेखि भीमदत्त राजमार्गमा अवरुद्ध भएकोमा उक्त पहिरो सफा गरी राजमार्ग पुनः सुचारु गरिएको इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीले जनाएको छ ।