कञ्चनपुर । कृष्णपुर नगरपालिकाका किसानलाई परिचय पत्र वितरण गर्न सुरुवात गरिएको छ । राष्ट्रिय कृषक समूह महासंघको सहकार्यमा नगरपालिकाले किसानलाई वर्गीकरण सहितको परिचय पत्र वितरण गर्न सुरु गरेको हो । किसानलाई चार भागमा विभाजित गरी परिचय पत्र वितरणको कार्य थालनी गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लाल बहादुर धामीले बताउनुभयो । उहाँका अनुसार भूमिहीन, सीमान्तकृत, किसान मजदुरलाई एक श्रेणी, साना किसान, मझौला किसान र ठुला किसानलाई अलग अलग श्रेणीमा वर्गीकरण गरी परिचय पत्र उपलब्ध गराउने कार्य भइरहेको छ ।
तीन कट्ठा सम्म जग्गा भएका, कृषिबाट एक लाख भन्दा कम वार्षिक आय भएकालाई भूमिहीन, सीमान्तकृत, किसान मजदुरका रूपमा राखिएको छ । त्यस्ता किसानलाई १०० प्रतिशत अनुदान पाउने श्रेणीमा राखिएको छ । चार कट्ठादेखि १५ कट्ठा सम्म जग्गा भएका, कृषि कार्यबाट रु एक लाख देखि रु पाँच लाखसम्म वार्षिक आय हुने किसानलाई साना किसानका रूपमा राखिएको छ । साना किसानलाई ७५ प्रतिशत अनुदान उपलब्ध गराइने छ । १५ कट्ठा देखि तीन बिघा जग्गा भएका , कृषिबाट रु पाँच लाख देखि रु १५ लाख वार्षिक आय भएका किसानलाई मझौला किसानका रूपमा राखिएको छ । मझौला किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ । तीन बिघा भन्दा बढी जग्गा भएका कृषि कार्यबाट रु १५ लाख देखि ५० लाख सम्म आय भएका किसानलाई ठुला किसानका रूपमा राखेर परिचय पत्र वितरण गर्ने व्यवस्था गरिएको छ ।
यस्ता किसानलाई २५ प्रतिशत अनुदान उपलब्ध गराइने छ । जग्गा भाडामा दिने, स्वयं खेती नगर्ने, जागिर गर्ने, अर्कोलाई जग्गा कमाउन दिने किसानलाई सूचीकृत नगरिएको कार्यालय प्रमुख धामीले बताउनु भयो । “नगरपालिका नौ वटै वडा कार्यालय मार्फत परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाएका छौँ” कृषि शाखा प्रमुख धामीले भन्नु भयो, “परिचय पत्र वितरण गर्ने कार्यको सोमवार नगर प्रमुख हेमराज ओझाले शुभारम्भ गरेका छन्, पहिलो दिन ४० बढी परिचय पत्र वितरण भएका छन्,बाँकी परिचय पत्र वडा कार्यालयले बाँड्छन् ।” नगरपालिकाका १४ हजार २६८ किसानलाई परिचय पत्र वितरण गर्नका लागि सूचीकृत गरेको छ । भूमिहीन, सीमान्तकृत, किसान मजदुरको सङ्ख्या चार हजार ३८९, साना किसान पाँच हजार २०१, मझौला किसान एक हजार ५६५ र ठुला किसान ३२२ रहेका छन् ।
सूचीकृत नहुने किसान ३७२ रहेका छन् ।“गणकहरूको नियुक्ति गरी तालिम दिएर किसानको घर घरमा तथ्याङ्क सङ्कलनको कार्य गर्यौँ” कार्यालय प्रमुख धामीले भन्नु भयो, “त्यसपछि प्राप्त तथ्याङ्कलाई कम्प्युटरमा प्रविष्टि गरी सफ्टवेयरको माध्यमबाट चार श्रेणीका किसानको पहिचान गरी परिचय पत्र वितरण गर्ने व्यवस्था गरिएको छ ।” परिचय पत्रकै आधारमा नगरपालिकाबाट किसानलाई बिउ विजन, मल खाद, कृषि औजार, उपकरण लगायत अनुदानका उपलब्ध गराइने उहाँले बताउनुभयो । नगर प्रमुख हेमराज ओझाले नगरपालिका भित्र बसोबास गर्ने वास्तविक किसानको पहिचान गरी हक अधिकार सुनिश्चित गर्नका लागि वर्गीकरण सहितको परिचय पत्र वितरण भइरहेको जानकारी दिनुभयो । रासस