कञ्चनपुर, २४ भदौ । पछिल्ला वर्षहरूमा कञ्चनपुरमा जङ्गली हात्तीको आतङ्क चलिरहेको छ । जिल्लाका ग्रामीण जङ्गली बस्ती छेउछाउ नजिक रहेका बस्तीमा आतङ्क मच्चाइरहेको जङ्गली हात्तीको बथानले दैजी बेलडाँडी सडक खण्डमा समेत तडकभडक मच्चाएको छ । दिउँसै दैजी बेलडाँडी हुलाकी सडकमा जङ्गली हात्तीले मुभमेन्ट चलाएपछि नागरिक त्रसित भइरहेका छन् । बेदकोट नगरपालिका १० चतहरी दैजीदेखि बेलडाँडी गाउँपालिका २ कालिकिच झन्डै १५ किलोमिटर जङ्गल क्षेत्रमा जङ्गली हात्तीले मुभमेन्ट बढाएको छ । उक्त हुलाकी सडक खण्डमा जङ्गली हात्तीले ताण्डव मच्चाएको छ । दिउँसै सडकमा आवत जावत लम्पसारदेखि नहर छेउमा रहेको पटेरामा लुकामारी खेल्दै हात्तीले यात्रुलाई समेत अवरोधदेखि त्रसित पारेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भएकाले एकतिर यात्रुका लागि निकुञ्ज प्रशासनको अनावश्यक दुख दिने नियतले कडाइ, त्यसमाथि सडककै छेउछाउमा पोथ्रा, कटेरोले यात्रुलाई दायाँ र बायाँ दुवै दिशाबाट जोखिम छ । मुखनिरै कुनै सानो ठुलो जनावर आएको नदेखिने गरी झाडीले यात्रु जोखिममा पर्दै आएका छन् । तर, देशका तीन तीन सरकार छन् । कुनै पनि सरकारले यात्रुको सुरक्षालाई चासो समेत दिएको छैन । स्थानीय, प्रदेश र संघीय तीन÷तीन सरकार हुँदा समेत सामान्य हात्तीको गतिविधिले मानवीय भौतिक क्षति पु¥याउन सक्ने भए पनि सडक सफाइमा ध्यान दिन नसकेको छैन । कम्तीमा हुलाकी सडक दायाँ बायाँ छाडी सफाइ गर्दा समेत यात्रुले टाढैबाट जङ्गली जनावर देखेर सावधानी अपनाउने भए पनि रतीभर चासो नदेखाएको पाइन्छ । स्थानीयले दैजी बेलडाँडी जङ्गल क्षेत्रको हुलाकी सडक दायाँबायाँ झाडी सफाइ गरिदिँदा मात्रै कम्तीमा नागरिक सुरक्षित हुने भन्दै झाडी सफाइका लागि स्थानीय, प्रदेश र संघीय सरकार समक्ष माग गरेका छन् ।
उक्त सडकमा नियमित यात्रा गर्दै आएका बेलडाँडीका स्थानीय युवा दीपेन्द्र सिंह धामीले मुलुकमा तीन तीन सरकार हुँदा समेत सरकारलाई नागरिकको सुरक्षाको कुनै चिन्ता र चासो नदिएको बताए । ‘देशका तीन सरकार छन्, यो सडक उस्तै पनि आधा कच्ची छ, एकातिर सडक जोखिम अर्कातिर जङ्गली जनावरको जोखिम बढिरहेको छ, ‘उनले भने, ‘चुनावका बेला भोट माग्न आउने नेताले जनताका पिर मर्का समेत बुझ्नुपर्छ ।’ अर्का यात्रु तथा स्थानीय रमेश विष्टले निकुञ्ज भित्र रहेको सडकमा जङ्गली जनावर हात्ती, बाघ, गैँडाको आक्रमण रोक्नका सडक वन्यजन्तुमयी संरक्षण निर्माणदेखि सडक सफाइमा जोड दिए । ‘सडककै छेउसम्म जङ्गल छ, झाडीले सडक नै छोपिएको छ, ‘मानिसको मुखैनिर जनावर आएको थाहै हुँदैन, कम्तीमा झाडी त सफाइ हुनुपर्छ ।’ उनले नहर पश्चिम र सडक पूर्वतर्फको झाडी, खर हटाउँदा समेत नागरिक जङ्गली जनावरबाट बाँच्न सकिने भए पनि निकुञ्ज प्रशासन, सिँचाई स्थानीय सरकार र अन्य प्रदेशका सरकारी निकायलाई त्यसमा ध्यान नदिएको बताए । बेलडाँडी गाउँपालिका प्रमुख हरिश चन्द्र रानाले हात्तीबाट बाँच्नका लागि नहर छेउछाउमा रहेको झाडी हटाउनका लागि पालिकाले महाकाली सिँचाई व्यवस्थापन गर्न अनुरोध गर्दा समेत बेवास्ता गरेको बताए । ‘हामीले जङ्गली जनावरबाट मानिसको सुरक्षाका लागि सिँचाइसँग नहर छेउछाउका बिरुवा हटाउन भनेका छौँ, ‘उनले भने, ‘होइन भने हामी आफै हटाउँछौँ ।’
महाकाली सिँचाई केन्द्रीय जल उपभोक्ता समितिका महासचिव दशरथ भण्डारीले चालु नयाँ बजेट आएपछि नहर क्षेत्रका रहेको झाडी हटाइने बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर कुमार मेहताले निकुञ्ज प्रशासनले हात्ती सहितका जङ्गली जनावरबाट हुने मानवीय क्षति रोक्नका लागि प्रयास गरेको बताए । उक्त दैजी बेलडाँडी सडक खण्डमा समेत झाडी सफाइका लागि सम्बन्धित कार्यालय सिँचाई वा सडकबाट पत्र लिएर अनुमति मागे दिने बताए । ‘हामीसँग झाडी सफाइका लागि अनुमति माग्दैनन्, बाहिर के के बोल्छन्, ‘उनले भने, ‘सडक सफाइका लागि हामी अनुमति दिन्छौँ, सम्बन्धित निकायले कार्यालयमा आउनु प¥यो ।’ ०७९ वैशाखदेखि भदौ तेस्रो सातासम्म पाँच महिनाको अवधिमा जङ्गली हात्तीको आक्रमणमा परेर कञ्चनपुर बेदकोट १ की एक महिलालाई घाइते, शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटाकी अर्की महिलाको मृत्यु, बेलडाँडी गाउँपालिका २ का एक स्थानीयको घर भत्काएको छ । भने बिघाैँ जमिनको अन्नबाली नष्ट गरिदिएको छ । हात्ती नियन्त्रणका लागि कागजी प्रयास, भाषण, छलफल, अन्तरक्रिया बाहेक अन्य केही प्रभावकारी प्रयास भएका देखिएका छैनन् ।