पूर्वी नेपाल भ्रमण :
हरेक समयले नयाँ परिवर्तन समेटेको हुन्छ । जिज्ञासु मनले नव परिवर्तनलाई आत्मसात् गर्न खोज्दछ । पेसागत जीवनको प्रगतिलाई केन्द्रमा राखी २०७९।५।८ गते दिनको ११ः३० बजेको बसमा कैलालीको धनगढी स्थित सहिद गेटको अलि अगाडीबाट पूर्व चल्ने गाडीमा प्रदेश नं. १ को केन्द्र विराटनगर तर्फ प्रस्थान गर्यौँ, साथमा जोसिला तथा समकक्षी मित्र भोज समेत । विभिन्न ठाउँबाट यात्रु चढ्दै गर्दा गाडीले कैलाली जिल्लाको गोदावरी, गौरीगङ्गा, घोडाघोडी, बौनिया तथा लम्कीचुहा एवं बर्दियाको ठाकुरबाबा, बारबर्दिया, बाँसगढी तथा बाँके जिल्लाको बैजनाथपछिको राजमार्गको दोस्रो पालिका कोहलपुर चप्परगौडीमा खाजा खाइसकेपछि राप्ती सोनारी पालिका पार गरी सके पछि लुम्बिनी प्रदेशको प्रस्तावित राजधानीको जिल्ला सुरु भयो ।
लमही नगरपालिकाकाे राजमार्ग चोकबाट रोल्पा, रुकुम तथा सल्यान जाने बाटो छुट्टिने तथा राप्ती गाउँपालिकाको भालुवाङबाट स्वर्गदारी जाने बाटो छुट्टिने रहेछ । बसको मिहिन सिसाबाट यी विषय स्थानहरूको प्रत्यक्षानुभव भइरहेको थियो । राप्ती पछि गढवा गा.पा. अन्तर्गत लाालमटियामा रहेको सानो बजार समेत अवलोकन गरी तराइको जिल्लाको पहाडको समेत अनुभव लिई हामी कपिलवस्तु जिल्लाको शिवराज न.पा. १ दोबाटा हुँदै अगाडी बढिरहेका थियौँ । विभिन्न प्रासङ्गिक गीत समेतले बसभित्र बेग्लै आनन्द प्रदान गरिरहेका थियो । रात्रिकालीन प्रहरहरूसमेत आफ्नै गतिमा अगाडी बढिरहेका थिए । कपिलमुनिको नामबाट प्रख्यात यस जिल्लाका राजमार्ग छेउका विभिन्न पालिका हानिने क्रममा हामी बुद्ध भूमि, वाणगंगा हुँदै रुपन्देहीको प्रख्यात बुटवल उपमनपा पुग्यौँ,जहाँबाट गुल्मी, पाल्पा, स्याङ्जाका लागि बाटो छुट्टिँदो रहेछ ।
रुपन्देहीको देवदह न.पा पार गरिसकेपछि हामी नवलपरासीको विनयी त्रिवेणी,मध्यविन्दु,कावासोती पालिका हुँदै महेन्द्रनगर राजमार्ग पछ्याइ रहँदा चितवन जिल्ला बाग्मती प्रदेश प्रवेश गर्यौँ । भरतपुर म.न.पा, खैरहनी न.पा. सँगै मकवानपुरको हेटौडा एवं बाराको पथलैया पछि रौतहटको चन्द्रनिगाहपुर (चपुर) पुगी सक्दा ९ गते बिहानको ७ बजी सकेको थियो । त्यहाँ नित्यकर्म पश्चात् हामी प्रदेश नं. २ का जिल्लामा हुत्तिँदै अगाडी बढ्यौँ । रौतहट पछि सर्लाहीमा रहेको बाग्मती सिचाई आयोजनाको बसबाटै अवलोकन गर्यौ ,बडो आकर्षक थियो । सो पछि विभिन्न पालिका हुँदै महोत्तरीको बर्दिबास पुग्यौँ । बर्दिबासबाट सिन्धुलीको खुर्कोट हुँदै काठमाडौँ आउने बाटोमा हाइसहरू प्रशस्तै देखिन्थे । सो पश्चात् धनुषा जिल्ला हुँदै सिराहाको लहान भएर सप्तरी पुग्यौँ ।
कञ्चनरुप न.पा. मा दिउसोको खाजा पश्चात् अगाडी बढ्यौ, हनुमाननगर कंकालिनी न.पा. हुँदै अगाडी बढिरहँदा भारदह, भन्टाबारी लगायतका विभिन्न स्थलहरू देखिन्थे । मधेस प्रदेशका जिल्लाहरूमा खासै कुनै विकास देख्न सकिएन ।सप्तरीको बरमझीयामा बाजेको पेठा नामका थुप्रै पेठा पसल देखिन्थे । बाटाभरि बैङ्कका होर्डिङ बोर्ड पर्याप्त देखिन्थे । सो पश्चात् ५६ ढोका भएको कोशी नदी पुग्यौँ । अथाह पानी रहेछ,कोशीमा । बिहारको मात्र नभई नेपालको समेत दुःख रहेछ ,कोशी । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको फोटो अङ्कित बेटी बचाउ, बेटी पढाऊका थुप्रै ब्यानर रोडमा देखिन्थे । पुलमा कोशी बराज कन्ट्रोल लेखेको भारतीय अधिकारीको अफिस देखियो । अगाडी बढिरहँदा सुनसरीको कोशी गा.पा. पुग्यौँ ।
सुनसरीको अधिकांश र सप्तरीको केही भाग कोशीको दलदलले काम नलाग्ने भएको रहेछ । जलकुम्भी र कमल मात्रै देखिन्थे । कोशी नदी आस(पासको छेउ कोशी कटानका नामले प्रख्यात थियो । तत्पश्चात् हामी भोक्राहा नरसिंह गा.पा पुग्यौँ । सनपाट प्रायः देखिन्थे, यहाँ । रामधुनी न.पा.को झुम्का क्षेत्र प्रख्यात रहेछ । सशस्त्र प्रहरीको बराह बाहिनी पकली समेत यतै रहेछ । सो पछि इनरुवा हुँदै इटहरी उमनपामा गाडीबाट झर्यो र नेपालगञ्जबाट विराटनगरका लागि छुटेको गाडीमा बसी दुहबी न.पा.को कार्यालयमा उत्रियौँ । इटहरी पश्चिमको अत्तरिया जस्तै जङ्कसन रहेछ । साबिक कोशी र मेची अञ्चल लगायत विभिन्न जिल्ला जाने चौराहा । दुहबी न.पा मा २०७५ सालमा विद्यालय निरीक्षकमा १ नं. मा सिफारिस हुन सफल विकास घिमिरे, दुहबी शिक्षा उपसचिव नीलमणि खनाल,प्रा.स. दीपक चन्दलाई भेटी नास्ता समेत गरी मेजीकमा बसी विराटनगरका लागि हानियौँ । करिब ३ बजे १.नं. प्रदेशको राजधानी विराटनगर पुग्यो । विराटनगर म.न.पा पुग्नु पूर्व बुढीगंगा गा.पा. समेत पर्दो रहेछ बाटामा ।
सङ्घीय राजधानीलाई चुनौती दिने विराटनगर सहर स्थित चेम्बर । एयरपोर्ट रोड, स्थित होटेल मेंगो ट्रीमा २ दिनका लागि बस्ने निधो गर्यौँ । पहिले नै त्यहाँ पुगेका मीन खड्का सरले बस्दै गरेको कोठामा बस्यौँ । धर्मदेवी न.पा. सङ्खुवासभाका प्रा.स. पदम बस्नेत सरसँग समेत परिचय भयो । रिफ्रेस पश्चात् एयरपोर्ट सम्म हिनेरै अवलोकनका लागि गइयो । गोर्खाका राजु धिताल (होटेल व्यवस्थापक) खुब मिजासिला थिए । छैटाैँको सपना बोकी आएका सिन्धुलीको कमलामाई न.पाका जानुका खातीसँग समेत भेट भयो । कोठामा एसी चलाए पश्चात् अत्यन्त चिसो हुने, गर्मी मैनामा तराइको जिल्लामा यती चिसो, विभिन्न तर्क वितर्क यस विषयमा भए । शैक्षिक अनि समसामयिक विभिन्न विषयमा गफ पछि २०७९ भाद्रको १० गते सुरु भयो । दिउँसो २ बजे म गोग्राह मा.वि. बरगाछी क केन्द्र, भोज सर इडेन स्कुल आयल निगम पूर्व र मीन सर कोशी क्याम्पसका लागि निस्क्याैँ ।
सो पश्चात् बेलुकातिर हामी विराटनगरको भाटभटेनी चोक हुँदै रानी भन्सार तथा बिहारको जोगवनी नाका हेर्न गयौँ । थुप्रै मानिसहरूको भिड, सामान्य दिनमा समेत, । बोर्डर छेउबाटै भारतले रेल सेवा सुरु गरेको रहेछ । ड्राइपोर्ट लेखेको बोर्ड समेत देख्यौँ । प्रदेश सरकारका विभिन्न अफिसहरू समेत देखिए । २०७९ भाद्र ११ गते पुन केन्द्र पुगी त्यहाँबाट विराटनगर मनपा कार्यालय, गोश्वारा रोड लगायत जैन मन्दिर हेरियो । अचानक केही समयका लागि भारी वर्ष समेत भयो । सोही दिन हामीले बेलुका जानकी मन्दिर जाने सोच समेत बनाइरहँदा राती ढल्केवर बस्नु पर्ने बाध्यताका कारण योजना सफल हुन सकेन र हामी दाङको गाडीमा बसी लमही बसपार्कमा २०७९।५।१२ दिउसो ३ बजे पुग्यौँ ।
गाडीले डाइरेक्ट धनगढी मेल गर्ने भने पनि किस्ताबन्दीमा आउनु पर्ने अवस्था आयो । लमहीबाट कोहलपुर हाइसमा आयौँ । पूर्वबाट गाडीमा आउँदाका ज्ञानु गिरी समेत खुब गफाडी थिए । कोहलपुरबाट महेन्द्रनगर आउने हाइस समेत समयमै भेटिए पछि अगाडी बढ्यौँ । प्रकाश न्यौपाने बि.डि.यस सर्जनका आमासँग समेत समसामयिक विषयमा चर्चा भयो, गाडीमा भेटिएका यात्री । टिकाराम थारु समेत रमाइला थिए । चिसापानीमा खाजा पश्चात् रातिको ११ः३० बजेतिर धनगढी सहिद गेट पुगियो । बाटोमा असाध्यै बाक्लो पानी परिरहेको थियो । महेश काका गेट छेउमै लिनका लागि कुर्नु भएको थियो, बाइकमा दुवै जना घर पुगेपछि नुहाइधुवाइ र खाना पश्चात् यात्रा स्मरण चर्चा गर्दा निन्द्रामा विलाप भयौँ ।
भारत भ्रमण :
भारत उत्तराखण्ड राज्यको हरिद्वार तथा देहरादुन जाने कार्यक्रम मौसमी प्रतिकुलताका कारण परिवर्तन भए पश्चात् उत्तरप्रदेशको आग्रामा पर्ने ताजमहल समेत मनमोहक रहेको र त्यहाँ जाने मोटामोटी कुरा भयो । आग्रा गइरहँदा मथुरा वृन्दावन समेत नजिकै रहेको र दिल्ली समेत नजिकै पर्ने र त्यहाँ समेत जाने विषयमा सहमति पश्चात् ४ सदस्यीय टोली २०७९।३।२५ बेलुका महेन्द्रनगरबाट भा.रु. बनाइ दिल्लीका लागि प्रस्थान गर्यौँ । नेपाल भारतको सात नं. पिल्लरमा सामूहिक फोटो खिची फेसबुकबाट सर्व जाहेरी पश्चात् हामी चेक पोस्ट हुँदै अगाडी बढ्यौँ । बनबासा पुलमा रमाइलोको भिडियो बनाइ अगाडी बढेसँगै अटो समाइ बस स्टेण्ड पुग्यौँ, नास्ता खाएपछि बसमा बस्यौँ दिल्लीका लागि, एक जना बेंगलोर जाने व्यक्ति समेत बसमा भेटिए ।नानकमत्ता भन्दा अल्लि अगाडी राती साढे आठ बने खाना पश्चात् अगाडी बढ्यौँ । इन्डिया कहिल्यै नसुत्दो रहेछ ,रातभरि गाडी चलेका चल्यै । २ बजे तिर चिया खाएसँगै फेरी गाडी अगाडी बढ्यो ,रामपुर ,विलासपुर लगायतका ठाउँ यतै पर्दा रहेछन् । करिब ३ बजे भारतको सङ्घीय राजधानीमा गाडीले हामीलाई उतार्यो । कहिल्यै नगएको ठाउँ,एकदमै चमकयुक्त लागिरहेको थियो ।
ओभर ब्रिजबाट रात्रिकालीन दिल्लीका दृश्यहरू हेर्यौँ । करिब ६ बजे आनन्द विहार मेट्रो स्टेसनबाट अक्षर धामका लागि रमाना भयौ, २०७९।३।२६ मा । बिचमा अर्को रुटको मेट्रो बदल्नु पर्दो रहेछ । मेट्रो स्टेसनमा चढ्दा र उत्रिदा कडा सुरक्षा निगरानी हुँदो रहेछ । अक्षर धाम मन्दिर त १० बजे मात्रै खुल्दो रहेछ । त्यहाँबाट पुनः मेट्रोमा बसी इन्डिया गेट तर्फ प्रस्थान गर्याैँ । फोटोमा देखिने गेट र राष्ट्रपति भवनसँग प्रत्यक्ष साक्षात्कार भयो । त्यहाँ फोटो खिच्यौँ । कडा सुरक्षाका कारण छेउमै जान नमिल्दो रहेछ ।दायाँतिरको राष्ट्रपति भवनलाई समेत बाहिरबाटै हेर्यौँ । वाणिज्य भवन, हैदरावाद हाउस लगायतको अवलोकन पश्चात् लालकिल्ला तर्फ जान अटोमा हानियौँ । दिल्ली पुलिसको मुख्यालय समेत बडो भारी रहेछ । किल्ला प्रस्थान बाटोमा ७० रुपैयाँ भारुका हिसाबले प्रतिव्यक्ति खाना खायौँ । होटेलवाला भन्दै थिए, ए दिलवालौ की दिल्ली है । बडो थकान समेत भइरहेको थियो । गाडीको रात्रि यात्रा र अनिन्द्राको परिणाम । लाल किल्लामा इन्ट्री पूर्व बढो कडा सुरक्षा बिच चेकजाँच गराइ अगाडी बढ्यौँ । प्रस्तरै प्रस्तरैले सजिएको किल्ला हेर्दा मात्रै थकान लाग्ने थियो, त्यति ठुलो । प्राचीन राजाको दरबारका रूपमा त्यो किल्ला रहेको रहेछ । भित्र सिनेमा, सङ्ग्रहालय लगायत विभिन्न सांस्कृतिक सामग्री बेच्ने पसल थिए ।
हामीले एउटा ”हेट“ किन्यौँ गर्मी छेक्न, पछि त्यो हेटले फोटोमा समेत सौन्दर्यता थप्दै थियो । लाल किल्ला बाहिरको इलाका काठमाडौँको रत्नपार्क जस्तै रहेछ । त्यहाँबाट हामीले दिल्लीका स्पोट घुमाउने गाडी समाइ महात्मा गान्धी समाधि स्थल राजघाट पुग्यो । फोटो खिच्यौँ, चौधरी चरण सिंहको समाधि स्थल समेत हेरी इन्डिया गेट, संसद् भवन, पिएम निवास लगायतका स्थल हेरी इन्दिरा गान्धी म्युजियम पुग्यौँ । प्रथम भारतीय महिला प्र.म.का. विविध पक्ष सङ्ग्रहालयमा संरक्षित थिए । सो पश्चात् हामी कुतम मिनारमा लागि अगाडी बढ्यौँ ,बाटामा एम्स हस्पिटल लगायत हेरी अग्लो मिनारलाई बाहिर बाटै हेरी नाःन रोटी खाइ बस स्टेण्डमा आराम गर्यौँ । इदको दिन भएकाले खुट्टा बढाउन सम्म मुस्किल पर्ने भिड थियो । त्यहाँबाट हामी लोटस टेम्पल तर्फ आयौँ ।
ओखला स्टेसनमा बसबाट झरे सँगै ३।२६ को यात्रा सकियो र बास बस्न द्वारका सेक्टर २१ तर्फ गर्यौँ । गुरुग्राम (गुडगांव), इन्दिरा गान्धी एयरपोर्ट हुँदै हामी अपार्टमेन्ट पुग्यौ र ज्योति परिवारको सुखद स्वागतबाट अत्यन्त प्रभावित भइयो । रात्रि समयमा त्यहाँको स्थानीय बजार समेत हेरियो । तत् ठाउँबाट हरीयाणाका घरहरूसमेत मज्जैले देखिन्थे । दोस्रो दिन ३।२७ मा बिहानै हामी २ वटा गाडी बदली गरी मेट्रो स्टेसन पुग्यौँ र सुप्रीम कोर्ट स्टेसन उत्रियौँ । त्यहाँबाट अटो समातेर सिधै केन्द्रीय प्राणी उद्यान पुग्यौँ , इ टिकट बाट मात्र प्रवेश हुने व्यवस्थाका कारण भित्र प्रवेश हुन नसके पनि बाहिरबाटै फोटो खिच्यौँ र बंगलासाहेवका लागि प्रस्थान गर्यौँ । सुनको जलपले छाइएको गुरुद्वारामा बाहिरी गेटमा फोटो खिची अगाडी बढ्यौ र भित्र पुग्ने बित्तिकै चिसो पानी खान पाउँदा अत्यन्त सन्तुष्टि मिल्यो । तत्पश्चात् केही समय सत्सङ्ग सुनी,अडिटोरियममा भिडियो हेरी,खाना खाइ सराय काले खां बस अड्डाका लागि निस्क्यौँ, मथुरा जानका निम्ति ।
बस अड्डा पुग्ने बित्तिकै रू. २०० मा वृन्दावन पुर्याउने एसी बस भेटियो, सो एसी बसमा बसी नोयडा सिटीसँगै यमुना एक्सप्रेस हाइवेबाट दाउजी जाने ठाउँमा उत्रियौँ । पुरानी गोकुल महावन ८४ खम्बाको दर्शन पश्चात् हामीले रमणरेती मन्दिरको दर्शन एवं जनावरको अवलोकन पछि अटोमा प्रेम मन्दिरका लागि प्रस्थान गर्यौँ । करिब पौने घण्टाको दुरी रहेछ,बिचमा यमुना नदी समेत पर्दो रहेछ । करिब ७ः४५ तिर हामी प्रेम मन्दिर पुग्यौँ । चकमन्न लाइटिंग सहित सजिएको विशाल मन्दिर अत्यन्त मोहक थियो ,फेसबुकमा लाइभ भिडियो समेत प्रसारण गर्यौँ । साह्रै मोहक स्थल रहेछ,रात्रिमा झन् चमक आउँदो रहेछ । गुरु पूर्णिमा समेतको दिन भएकाले दर्शनार्थीको अत्यन्त भिड थियो ,बस्नका लागि धर्मशाला समेत नपाइने अवस्था । रात्रिको करिब ११ बजे मध्य प्रदेश निवासी एक जना भक्तको धर्मशाला पुग्यौँ, खाना खाइसक्दा १२ बजिसकेको थियो ।
दोस्रो दिन बिहानै बाँके विहारी मन्दिर, राधा वल्लभ मन्दिर , निधीवन लगायतको अवलोकन पछि इस्कोन मन्दिर दर्शन पछि गोवर्धन गयौँ । गुरु पूर्णिमा अवसरमा आयोजित पदयात्रामा १० कि.मी जति पैदल यात्रा गयौँ ,बाटामा खाना,पानीका विभिन्न परिकार सहितका निःशुल्क धर्मशालामा सेवा गर्न मानिसहरू उद्यत थिए । घरका लागि आवश्यक प्रसादी किनी हामी आग्राका लागि मेन हाइवे तर्फ प्रस्थान गर्यौँ । गुरु पूर्णिमा अवसरमा भक्तजन उतार्न परिवहन निगमका सबै गाडी खटिएका थिए । त्यहाँबाट हामीले आग्राका लागि जिप समायौँ र रातिको करिब ९ बजे भगवान् टाकीज आग्रा पुगियो । अटो चढी हामी बेंगल लजमा रात्रिको रू. २ हजार किराया सहितको एसी कोठामा बास बसी बिहान ताजमहल हेर्न ७ः३० मा निस्क्यौँ । केराबाट बनेका साडी लगायतका सामग्रीको पसल हेरी ताज महल भित्र अत्यन्त कडा चेक जाँच पछि प्रवेश गर्यौँ ।
वास्तवमै हेर्न लायक रहेछ ताजमहल, बढो आलिसान । छेउमै रहेछ नदी । सङ्ग्रहालय समेत हेरी आग्राको प्रसिद्ध पेडा किनी बस स्टेण्ड पुग्यौँ, खानापछि बरेलीका लागि एसी बसमा बसी फिरोजावाद, एटा, कासगंज, बदायु हुँदै राती ९ बजे बरेली पुग्यौँ, चकमन्न बरेलीमा केही लुगाफाटा किनी सेटेलाइट बस अड्डा आयौँ र खाना खाइ बनबासा, टनकपुर आउने बसको प्रतीक्षा १२ः३० सम्म गर्यौँ । दुई,अढाई घण्टा बसपार्क वरपरको रमाइलो हेर्दै, मोबाइल चलाउँदै, चिया खाँदै बितायौँ र जिपमा बसी ३ः३० बजेतिर बनबासा पुग्यौँ, एक छिन मन्दिर छेउ आराम गरी चिया खाइ पुलका लागि अटोमा बस्यौँ, शारदा इन्टर कलेज छेउको गेट ६ बजे मात्र खुल्ने हुँदा त्यहाँबाट हिँडेर पुल हुँदै ७ नंं. पिल्लर पुग्यौँ र चन्द्रदाईको अटोमा ४ जना यात्रा स्मरण गर्दै २०७९।३।३० बिहान ७ बजे सकुशल घर पुग्यौँ । समग्रमा यात्रा फलदायी र रमणीय एवं स्मरणीय रह्यो । भ्रमण ज्ञानको एक व्यवहारिक श्रोत रहेछ भन्ने कुराको भान भयो ।
भ्रमण टोलीका सदस्य :
१. अमित प्रसाद भट्ट
२. राजन भट्ट
३. पङ्कज राज जोशी
४. मुकेश प्रसाद पाण्डे
पंक्तिकार ः
अमित प्रसाद भट्ट
भीमदत्त न.पा. ७ हल्दुखाल, राममन्दिर टोल,कञ्चनपुर
कार्यसमिति सदस्य : महाकाली साहित्य सङ्गम तथा गुगुल्डि वाङ्मय प्रतिष्ठान
मोबाइल नम्बर : ९८४८७४४५३५
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९ ०६:१३