कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले हक्की खेलाडीहरुलाई खेलकूद सामग्री प्रदान गरेको छ । भीमदत्त नगरपालिका कार्यालयमा शनिबार खेलाडीहरुलाई सामग्री प्रदान गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा नगर प्रमुख विष्टले हक्कीका प्रशिक्षक नर बहादुर चन्दलाई सामाग्री हस्तान्तरण गरे ।
कार्यक्रममा नगर प्रमुख विष्टले खेलाडीलाई सामग्री वितरण सुरुवात भएको उल्लेख गर्दै आगामी दिन हक्कीको प्रवद्र्धन र विकासमा नगरपालिका सधैं तत्पर रहने बताए । ‘यस वर्ष पोशाक वितरण गरी सुरुवात गरेका छौ, पहिलो वर्ष भएकाले यो ठूलो सहयोग होइन, यसलाई सुरुवातका रुपमा लिई दिन हुन अनुरोध गर्छु’ उनले भने । हक्कीका खेलाडीहरुले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा भीमदत्त नगरपालिका, सुदूरपश्चिम प्रदेश र नेपालको पहिचान गराएकोमा नगर प्रमुरख विष्टले सबैलाई धन्यवाद दिए ।
‘नगरपालिका, प्रदेश र देशको इज्जत बढाउनु भएको छ , यसका लागि भीमदत्त नगरपालिका धन्यवाद ज्ञापन गर्छ,’ उनले भने,‘खेलाडीहरुको हौसला बढाउन सक्दो सहयोग गछौ ।’ नगरपालिकाले चालु आर्थिक वर्षमा खेलाडीहरुका लागि एक लाख बजेट विनियोजन गरेको थियो । हक्कीका खेलाडी तथा प्रशिक्षक कान्तुराम पनेरुले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा भएका सबै खेलमा हक्कीले पदक जितेको बताए ।
उनले कबर्ड हलमा खेलाडीले अभ्यास गर्दै आएकोले खेल मैदानको सबैभन्दा ठूलो समस्या भएको बताए । ‘अहिले त्यहाँ अभ्यास गरिरहेका छौ, खेल मैदानको ठूलो समस्या छ’ उनले भने,‘यसका लागि पहल गर्न समेत म नगरपालिकालाई आग्रह गर्छु ।’
कार्यक्रममा भीनपा वडा नं. ४ का अध्यक्ष लक्ष्मीदत्त बोहरा, हक्कीका प्रशिक्षक नर बहादुर चन्द, कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी, होटल व्यवसायी संघका उपाध्यक्ष जगदीशचन्द्र भट्ट लगायतका खेलाडी सहभागी भएका छन् । भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत हरिसिह धामीले कार्यक्रम सञ्चालन गरेका थिए ।