कञ्चनपुर, १५ पुस । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा आयोजित जैविक धार्मिक पर्यटन मार्ग दोस्रो हाफ म्याराथन प्रतियोगिता २०७६ को उद्घाटन गर्नुभएको छ । मंगलबार खुलामञ्चमा प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले खेलकुदका कार्यक्रमले पर्यटकीय क्षेत्रको प्रचारप्रसार र भविष्यका खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सोही क्रममा मन्त्री बाँस्कोटाले नगरपालिकाबाट प्रकाशित खेलकुद बुलेटिनको विमोचन समेत गर्नुभएको छ ।
महेन्द्रनगरको खुला मञ्चमा उद्घाटन गरिएको कार्यक्रम ब्रम्हदेवमा समापन गरिएको छ । प्रतियोगितामा खुलातर्फ नेपाली सेनाका जितेन्द्र दनुवार प्रथम हुनुभएको छ । गत वर्ष दोस्रो हुनुभएका दनुवार यस वर्ष प्रथम हुनुभएको हो । उहाँले एक घण्टा ७ मिनेटमा २१.१ किलोमिटर दुरी पार गर्नुभएको छ । प्रतियोगितामा दोस्रो र तेस्रोमा पनि नेपाली सेनाकै श्रीकास राई र शिव बहादुर राइमाझी हुनुभएको छ । मोहन जोशी चौथो, मुकेश पाल पाँचौँ र चन्द्र मल्ल छैठौँ हुनुभएको छ ।
यस्तै, महिला तर्फ पुष्पा पाण्डेय प्रथम हुनुभएको छ । अघिल्लो वर्षपनि पाण्डेय महिला तर्फ प्रथम हुनुभएको थियो । महिला तर्फ १५ किलोमिटर दुरी निर्धारण गरिएको थियो । प्रतियोगितामा लक्ष्मी सुनार दोस्रो, पुष्पा चन्द तेस्रो हुनुभएको छ । सुनार र चन्द दुवै नेपाली सेनाका जवान हुनुहुन्छ । त्यसैगरी छात्रछात्रा अन्तर्गत छात्र तर्फ विवेक सुनार प्रथम, लक्ष्मण भण्डारी दोस्रो, प्रविन बुढाऐर तेस्रो, सुशिल चन्द चौथो, नविन देउवा पाचौँ, विष्णू सुनार छैठौँ हुनुभएको छ भने छात्रा तर्फ लक्ष्मी पन्त प्रथम, सोभा क्षेत्री दोस्रो, गरिमा जोशी तेस्रो, मनिसा कार्की चौथो, सुनिता नेगी पाचौँ र पुष्पा बोहरा छैठौँ हुनुभएको छ ।
खुला तर्फका विजेता प्रथम ४० हजार, द्वितीय ३० र तृतीयलाई २० हजार नगद, महिला तर्फ प्रथम २०, द्वितीय १५ र तृतीयलाई १२ हजार र छात्रछात्रा तर्फ प्रथम १५, द्वितीय १२, तृतीय १०, चतुर्थ ८ , पाचौँ ६ हजार ५ सय र छैठौँलाई ४ हजार नगद पुरस्कार, प्रमाण पत्रका साथै मेडल प्रदान गरिएको छ । जैविक धार्मिक पर्यटन मार्ग दोस्रो म्याराथन प्रतियोगिताको समापन प्रतिनिधी सभा सदस्य डा. दीपक प्रकाश भट्टले गर्नुभएको छ । त्यस्तै, भीमदत्त नगरपालिकाका नगरका प्रमुख सुरेन्द विष्टले नगरको समृद्धिका साथै खेलकुदको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताउनु भयो । उहाँले गतवर्षको तुलनामा यो वर्ष प्रतियोगितामा पुरस्कारको राशी वृद्धि गरिएको बताउनु भयो ।
भीमदत्त नगरपालिका समाजिक विकास समितिका संयोजक हरकसिह धामीले भीमदत्त नगरपालिका क्षेत्रका सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत १८ वर्ष मुनीका छात्रछात्रा ५ किलोमिटर, महिला १५ किलोमिटर र खुला तर्फ २१.१ किलोमिटर दुरीमा प्रतिस्पर्धा गराइएको बताउनुभयो । संयोजक धामीले छात्र तर्फ ११० र छात्रा तर्फ १०५ गरी २१५, महिला तर्फ २५ र खुला तर्फ १२९ जना गरी ३ सय ६९ जना सहभागी भएको बताउनुभयो ।