हरिश चन्द्र बाग, कञ्चनपुर, १५ पुस । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले देशले समृद्धिको बाटो अवलम्बन गरेको उल्लेख गर्नुहुँदै विभित्र परियोजनामा हुने ढिलासुस्ती क्रमिक रूपमा घट्दै गएको दाबी गर्नु भएको छ ।
प्रेस संगठन नेपाल कञ्चनपुरले मंगलबार बिहान महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा मन्त्री बाँस्कोटाले वैदेशिक लगानी भित्रिरहेकोले सुखी नेपाली, समृद्ध नेपालको नारा छिट्टै पूरा हूने बताउनु भयो ।
मन्त्री मण्डल पुनर्गठन सम्बन्धमा पत्रकारहरूले राखेको जिज्ञासामा मन्त्री बाँस्कोटाले समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सतहमा आएको चर्चाका सन्दर्भमा सरकारले अहिले नै कुनै छलफल नचलाएको उल्लेख गर्नुभयो ।
त्यस्तै मन्त्री बाँस्कोटाले भारतले आफ्नो नक्सामा समेटेको दार्चुलाको लिम्पियाधुरा, लिपुलेक क्षेत्र नेपालको भूमि भएकोले यस विषयमा द्विविधामा नरहन सबैलाई आग्रह गर्नुभयो । उक्त विषयमा नेपाल सरकारले यसअघि नै भारत सरकारलाई पत्र सम्प्रेषण गरिसकेको स्मरण गराउँदै द्विपक्षीय छलफलबाट समस्या समाधान गरिने उहाँले बताउनु भएको छ ।
पछिल्लो समयमा बढिरहेका जघन्य आपराधिक घटना न्युनीकरण गर्न सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले निर्मला पन्त हत्याकाण्ड र त्यस प्रकृतिका अन्य आपराधिक गतिविधि प्रति सरकार गम्भीर रहेको बताउनु भयो ।
सभामुखको चयन सम्बन्धमा नेकपाका नेता समेत रहनुभएका बाँस्कोटाले अन्य दलले अहिले नै सभामुख पाउन नसक्ने ठोकुवा गर्नुभयो ।