हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ भदौ । कञ्चनपुरको कृष्णपुरमा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास गरिएको छ । मर्सिकोर, जुरिच फण्ड र निड्स नेपालद्वारा सञ्चालित समुदायको बाढी उत्थानशीलता मापन परियोजना अन्तर्गत बिहीबार कृष्णपुर नगरपालिका वडा नम्बर २ अठन्नीफाँटामा बाढीमा आधारित कृत्रिम घटना नमुना अभ्यास गरिएको हो । परियोजनाले कञ्चनपुर जिल्लाका कृष्णपुर नगरपालिका र दोधाराचाँदनी नगरपालिकाका विभिन्न ६ वटा समुदायमा बाढी उत्थानशीलताको क्षेत्रमा कार्य गरिरहेको समुदायको बाढी उत्थानशीलता मापन परियोजनाका संयोजक नवीन चन्द्र भट्टले जानकारी दिनुभयो ।
कृष्णपुरको अठन्नीफाँटामा गरिएको बाढीमा आधारित कृत्रिम घटना नमुना अभ्यास कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुदूरपश्चिम समितिका प्रशिक्षक लक्ष्मण दत्त भट्टले विपद्को समयमा गरिने गतिविधिको स्थलगत अभ्यास सहजीकरण गर्नुभयो । बाढी आउनु पूर्वको मौसमी विवरण, पूर्व सूचना प्रणाली, जनसमुदायले अपनाउनु पर्ने सतर्कता, बाढी आउँदा ध्यान दिनु पर्ने कुरा, प्रभावितहरूको खोज तथा उद्धार, प्राथमिक उपचार, राहत वितरण र पुनर्स्थापन तथा व्यवस्थापन जस्ता गतिविधिहरू नमुना अभ्यासका रूपमा प्रस्तुत गरिएका थिए । नमुना अभ्यासपछि आयोजित समीक्षाका क्रममा स्थानीय समुदायका व्यक्तिहरूले उक्त अभ्यासबाट विपद्को तीन चरणमा गर्नुपर्ने कार्यको बारेमा जानकारी प्राप्त गरेको प्रतिक्रिया दिनुभएको छ । विपद्को समयमा समुदाय स्तरमा कार्य गर्न थप सहज हुने अभ्यासमा सहभागीहरूको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णपुर नगरपालिकाका उपप्रमुख द्रोपति रानाले विपद्को पूर्व तयारीमा कृष्णपुर नगरपालिका समेत केन्द्रित रहेकोले पालिका तथा सामाजिक संघसंस्थाहरूसँग समन्वय गरेरै कार्य गरिने धारणा राख्नुभयो । उहाँले कृष्णपुर र आसपासका क्षेत्र भएर बग्ने नदी तथा खोला नालाहरूले उर्वरा भूमि कटान तथा डुबानको समस्या सृजना गर्ने गरेकोले तिनको व्यवस्थापनमा नगरपालिका सकारात्मक रहेको बताउनु भयो । त्यस्तै कृष्णपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष अर्जुन साउँदले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्व अभ्यासले महत्त्वपूर्ण सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले विपद्को समयमा प्रभावित समुदायको व्यवस्थापनमा सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
बाढीमा आधारित कृत्रिम नमुना अभ्यासका क्रममा आयोजित औपचारिक कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका आयोजक निड्स नेपालका अध्यक्ष अन्जु जोशी भट्टले विपद् व्यवस्थापनका क्षेत्रमा समेत क्रियाशील रहेको संस्था निड्स नेपालले थुप्रै ठाउँहरूमा जनचेतनामूलक कार्यक्रम गर्ने गरेको बताउनु भएको छ । पूर्व सूचना प्रवाह, खोज तथा उद्धार र प्राथमिक उपचार लगायतका सन्दर्भमा नमुना अभ्यासबाट धेरै सिकाइ भएको उहाँले विश्वास व्यक्त गर्नुभयो । विगतदेखि निरन्तर सिकाइको क्रम जारी रहँदा सिकेका विषयवस्तुलाई आवश्यक परेको समयमा व्यवहारमा लागु गर्न सक्नुलाई नै उपलब्धिका रूपमा लिन सकिने उहाँको भनाइ छ । विपद्को समयमा समुदायकै व्यक्तिहरू उद्धार कार्यका खटिनु पर्ने हुँदा पूर्व तयारी अवस्थामै रहन उहाँले आग्रह गर्नुभयो ।
कृष्णपुर नगरपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन प्रेम बोगटी, स्थानीय जनप्रतिनिधिहरू, नेपाल प्रहरी तथा जय महांकाल युवा समितिका प्रतिनिधि, सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरू, स्थानीय समुदायका नागरिकहरू, निड्स नेपाल र सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार समेतको उल्लेख्य सहभागितामा बाढीमा आधारित कृत्रिम घटना नमुना अभ्यास गरिएको हो ।