हरिश्चन्द्र बाग, कञ्चनपुर, ०८ भदौ । कञ्चनपुरमा निड्स नेपालले कोभिड–१९ खोपका लागि समुदाय परिचालन परियोजना कार्यान्वयन गरिरहेको छ । जिआइजेडको स्वास्थ्य क्षेत्र कार्यक्रमको सहयोगमा निड्स नेपालले उक्त परियोजना लागु गरेको हो । कोभिड खोपको कभरेज १०० प्रतिशत पु¥याउने नेपाल सरकारको योजनालाई सहयोग गर्ने लक्ष्यका साथ परियोजनाले कार्य शुभारम्भ गरिरहेको परियोजना संयोजक विनोद सिंह कडाराले जानकारी दिनुभयो । कञ्चनपुर जिल्लामा सामुदायिक परिचालक र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई संलग्न गराई कोभिड–१९ विरुद्धको खोप अभियानबारे समुदायलाई जानकारी गराउने, परिचालन गर्ने र गतिविधिहरूलाई तीव्र पार्ने उद्देश्यले कञ्चनपुरका सबै ९ वटै पालिकाहरूमा परियोजनाले कार्य गर्ने उहाँको भनाइ छ । उक्त परियोजनाको कार्यक्रम कार्यान्वयन पश्चात् स्थानीय समुदायमा कोभिड–१९ को खोप कभरेजमा वृद्धि हुने अपेक्षा गरिएको छ । जुलाई २५ तारिखदेखि लागु भएको परियोजनाले यसै वर्षको डिसेम्बर १० तारिखसम्म काम गर्ने बताइएको छ ।
जिल्ला स्तरीय परियोजना जानकारी तथा शुभारम्भ बैठक, स्थानीय पालिकाहरूमा परियोजनाको जानकारी तथा कार्य योजना निर्माण बैठक सञ्चालन पश्चात् महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई अभिमुखीकरण, मासिक समीक्षा बैठकहरू, कोभिड १९ को जानकारी तथा भ्याक्सिनको बारेमा एफ.एम.बाट जानकारी प्रदान, आइइएस सामग्रीहरू वितरण, दुर्गम क्षेत्रहरूमा घुम्ती खोप शिविरहरू सञ्चालन गर्न सहयोग, समुदाय परिचालन गतिविधिहरू तथा प्रचारप्रसार, गड्डाचौकी नाकामा खोप कार्यमा सहयोग, नियमित अनुगमन र सुपरिवेक्षण तथा पूर्ण कोभिड १९ भ्याक्सिन पालिकामा सहयोग लगायतका क्रियाकलाप परियोजनाले गर्ने बताइएको छ । जम्मा ६३ लाख ७४ हजार ६ सय ५० रुपैयाँ बराबरको बजेट रहेको उक्त परियोजनाले ७१ प्रतिशत रकम कार्यक्रम कार्यान्वयनमा र २९% रकम व्यवस्थापनमा खर्च गर्ने जनाइएको छ ।
यसै क्रममा बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकामा समेत कोभिड १९ विरुद्धको खोप अभियानका सन्दर्भमा सरोकारवालाहरूबिच अन्तरक्रिया गरिएको छ । निड्स नेपालको आयोजनामा पालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखा र पालिका भित्रका स्वास्थ्य संस्थाहरूका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा सरोकारवाला अन्य पक्षको उपस्थितिमा अन्तरक्रिया गरिएको बताइएको छ । निड्स नेपालका सहसचिव दुर्गा खरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा कोभिड १९ विरुद्धको खोपको अवस्था, खोप लगाएका व्यक्तिहरूको तथ्याङ्क र खोप लगाउन बाँकी नागरिकहरूलाई खोप प्रदान गर्ने रणनीतिका बारेमा सरोकारवालाहरूबिच छलफल गरिएको परियोजना संयोजक विनोद सिंह कडाराले जानकारी दिनुभयो ।