हरिश्चन्द्र बाग, अछाम, ०२ भदौ । अछाम प्रहरीले साउन महिनाको प्रमुख कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कैलाश सिंह बिष्टद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत बिहीबार साउन महिनामा सम्पादित प्रमुख कार्य प्रगति विवरण सार्वजनिक गरिएको हाे । अछाम जिल्लामा सार्वजनिक शान्ति सुरक्षा विरुद्धका अपराध तथा घरेलु लैङ्गिक हिंसाको मुख्य रूपमा मानिएको अवैध मदिरा नियन्त्रण कार्यलाई अभियानका रूपमा सञ्चालन गरिएकोमा साउन महिनामा ३२५ लिटर अवैध मदिरा बरामद गरी नष्ट गरिएको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, लागु औषध नियन्त्रण अभियान अन्तर्गत साउन महिनामा ८ रोपनी क्षेत्रफलमा अन्दाजी ५१० बोट गाँजा नष्ट गरिएको जनाइएको छ । साउन महिनामा कर्तव्य १, ज्यान मार्ने उद्योग १, भवितव्य ३, झुन्डिई आत्महत्या २, चोरी २ गरी जम्मा ९ (नौ) वटा मुद्दा दर्ता र ७ जना अभियुक्त पक्राउ गरी कानुन बमोजिम कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कैलाश सिंह बिष्टले जानकारी दिनुभयो । साउन ११ गते राती अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोला स्थित घरमा आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरी बीभत्स हत्या गरी वारदात मितिदेखि फरार प्रतिवादी पैलु भन्ने पदम कामीलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको अछाम प्रहरीले जनाएको छ ।
साउन ०९ गते राती परेको अविरल वर्षाका कारण अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलु स्थित रहेको अम्मर विष्टको घरको माथिबाट पहिरोका कारण घर पुरिन गई उक्त स्थानमा प्रहरी टोली तत्कालै खटिई घाइतेको उद्धार गरी मृतकको सनाखत गरेको, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साउन महिनामा जिल्ला भरी छाउपडी प्रथा, लैङ्गिक हिंसा, बाल विवाह, लागु औषध दुर्व्यसनी जस्ता २६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ७४२ जना लाभान्वित भएका, दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापन गर्ने प्रयास अन्तर्गत साउन महिनामा ट्राफिक नियम उल्लङ्घन गरेकोमा ४२८ वटा सवारी साधनलाई कारबाही गरी २ लाख ३७ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गरिएको सूचना अधिकारी बिष्टले बताउनु भयो ।
साउन महिनामा घरेलु हिंसा सम्बन्धी ४ वटा उजुरी दर्ता गरी कसुरदारलाई कानुनी दायरामा ल्याइएको, साउन महिनामा बालक १, बालिका १ र महिला १ गरी जम्मा ३ जना हराएका महिला तथा बालबालिका खोजतलास गरी फेला पारी अभिभावकको जिम्मा लगाइएको, साउन महिनामा बेवारिसे अवस्थामा फेला परेका ३ बालिका र २ बालकलाई आफन्तसँग भेटाइ जिम्मा लगाइएको र साउन महिनामा जिल्ला प्रहरी कार्यालय अछामको नागरिक सहायता कक्षबाट पुरुष १६५ र महिला ४४ गरी जम्मा २०९ जनालाई नागरिक सेवा प्रवाह गरिएको अछाम प्रहरीले जनाएको छ ।
