हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ भदौ । कञ्चनपुरमा निड्स नेपालले कोभिड–१९ खोपका लागि समुदाय परिचालन परियोजना कार्यान्वयन गरिरहेको छ । जिआइजेडको स्वास्थ्य क्षेत्र कार्यक्रमको सहयोगमा निड्स नेपालले उक्त परियोजना लागु गरेको हो । कोभिड खोपको कभरेज १००% पु¥याउने नेपाल सरकारको योजनालाई सहयोग गर्ने लक्ष्यका साथ परियोजनाले कार्य शुभारम्भ गरिरहेको परियोजना संयोजक विनोद सिंह कडाराले जानकारी दिनुभयो । कञ्चनपुर जिल्लामा सामुदायिक परिचालक र महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरूलाई संलग्न गराई कोभिड–१९ विरुद्धको खोप अभियानबारे समुदायलाई जानकारी गराउने, परिचालन गर्ने र गतिविधिहरूलाई तीव्र पार्ने उद्देश्यले कञ्चनपुरका सबै ९ वटै पालिकाहरूमा परियोजनाले कार्य गर्ने उहाँको भनाइ छ । उक्त परियोजनाको कार्यक्रम कार्यान्वयन पश्चात् स्थानीय समुदायमा कोभिड–१९ को खोप कभरेजमा वृद्धि हुने अपेक्षा गरिएको छ । जुलाई २५ तारिखदेखि लागु भएको परियोजनाले यसै वर्षको डिसेम्बर १० तारिखसम्म काम गर्ने बताइएको छ ।
जिल्ला स्तरीय परियोजना जानकारी तथा शुभारम्भ बैठक, स्थानीय पालिकाहरूमा परियोजनाको जानकारी तथा कार्य योजना निर्माण बैठक सञ्चालन पश्चात् महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई अभिमुखीकरण, मासिक समीक्षा बैठकहरू, कोभिड १९ को जानकारी तथा भ्याक्सिनको बारेमा एफ.एम.बाट जानकारी प्रदान, आइइएस सामग्रीहरू वितरण, दुर्गम क्षेत्रहरूमा घुम्ती खोप शिविरहरू सञ्चालन गर्न सहयोग, समुदाय परिचालन गतिविधिहरू तथा प्रचारप्रसार, गड्डाचौकी नाकामा खोप कार्यमा सहयोग, नियमित अनुगमन र सुपरिवेक्षण तथा पूर्ण कोभिड १९ भ्याक्सिन पालिकामा सहयोग लगायतका क्रियाकलाप परियोजनाले गर्ने बताइएको छ । जम्मा ६३ लाख ७४ हजार ६ सय ५० रुपैयाँ बराबरको बजेट रहेको उक्त परियोजनाले ७१% रकम कार्यक्रम कार्यान्वयनमा र २९% रकम व्यवस्थापनमा खर्च गर्ने जनाइएको छ ।
पालिका स्तरीय परियोजना जानकारी बैठक तथा अन्तरक्रिया ।।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा कोभिड १९ विरुद्धको खोप अभियानका सन्दर्भमा सरोकारवालाहरूबिच अन्तरक्रिया गरिएको छ । निड्स नेपालको आयोजनामा स्वास्थ्य कार्यालय कञ्चनपुर, पुनर्वास नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखा र पालिका भित्रका स्वास्थ्य संस्थाहरूका प्रतिनिधिहरू, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा सरोकारवाला अन्य पक्षको उपस्थितिमा मंगलबार अन्तरक्रिया गरिएको हो । पुनर्वास नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तथा कार्यवाहक नगर प्रमुख तुलसी अर्याल (विनोद)को अध्यक्षतामा आयोजित कार्यक्रममा कोभिड १९ विरुद्धको खोपको अवस्था, खोप लगाएका व्यक्तिहरूको तथ्याङ्क र खोप लगाउन बाँकी नागरिकहरूलाई खोप प्रदान गर्ने रणनीतिका बारेमा सरोकारवालाहरूबिच छलफल गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक बहादुर कुँवरले कञ्चनपुर जिल्लाभर लक्षित उमेर समूहका नागरिकहरू मध्ये पहिलो मात्रा खोप ९०.९ प्रतिशत, दोस्रो मात्रा खोप ८७.५ प्रतिशत र तेस्रो मात्रा खोप ३१.८ प्रतिशतलाई प्रदान गरिएको जानकारी दिनुभयो । खोप अनुसार कुनै कुनै खोप एक वा दुई पटक मात्रै दिए पनि पुग्ने भएकोले तेस्रो मात्रा लगाउने नागरिकहरूको सङ्ख्या कम देखिएको उहाँले प्रष्ट पार्नुभयो । खोपको मात्रा नपुगेका नागरिकहरूलाई खोप प्रदान गर्न स्वास्थ्य कार्यालय कञ्चनपुरले सबै स्थानीय तहहरूमा खोप उपलब्ध गराउने छ । स्थानीय तहहरूले आवश्यक व्यवस्थापन सहित यथाशीघ्र खोप सेवा प्रदान गर्नुपर्ने अधिकृत कुँवरले बताउनु भयो ।

