हरिश्चन्द्र बाग, कञ्चनपुर, १९ साउन । विपद्को समयमा हुने जोखिमलाई न्यूनीकरण गर्न कञ्चनपुरमा प्रविधि सम्बन्धी प्रदेश स्तरीय क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । बिहीबारबाट सञ्चालित तालिम शुक्रबारसम्म जारी रहने छ । निड्स नेपालद्वारा सञ्चालित समुदायको बाढी उत्थानशीलता मापन परियोजनाको आयोजना र मर्सिकोरको आर्थिक सहयोगमा द्विदिवसीय प्रदेश स्तरीय क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको हो ।
कञ्चनपुर, कैलाली, डडेल्धुरा र बैतडी गरी ४ जिल्लाका विभिन्न ८ पालिकाहरूमा कार्यरत विपद् फोकल पर्सन र सूचना अधिकृत, जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रतिनिधि, प्रदेश स्तरीय विपद् फोकल पर्सन र विपद्को क्षेत्रमा क्रियाशील सङ्घसंस्थाहरूको प्रतिनिधित्व हुने गरी प्रदेश स्तरीय तालिम सञ्चालन गरिएको निड्स नेपालका अध्यक्ष अञ्जु जोशी भट्टले बताउनु भयो ।
विपद् सम्बन्धी सबै जानकारी एउटै अनलाइन पोर्टलबाट थाहा पाउन सकिने गरी सूचना प्रणालीलाई व्यवस्थापन गर्न तालिमले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । सही सूचना सही समयमा उपलब्ध हुन सकेमा जोखिम न्यूनीकरण गर्न मद्दत पुग्ने र उद्धार तथा राहतका कार्यक्रम समेत समयमै गर्न सकिने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईको भनाइ छ ।
अनलाइन विपद् पोर्टलमा प्रविष्टि गर्ने सन्दर्भमा जानकारी प्राप्त भएको र त्यसबाट विपद्को जोखिम न्यूनीकरण गर्न सकिने तालिममा सहभागी स्थानीय तहका कर्मचारीहरूको भनाइ छ । ४२ ओटा प्रकोप मध्ये उक्त परियोजनाले ६ वटा प्रकोपको विपद् व्यवस्थापनका क्षेत्रमा कार्य गर्ने गरेको छ । परियोजनाले कञ्चनपुर जिल्लाका कृष्णपुर नगरपालिका वडा नम्बर २ र दोधारा चाँदनी नगरपालिकाको वडा नम्बर ३, ७ तथा १० लाई कार्यक्षेत्र बनाएको समुदायको बाढी उत्थानशीलता मापन परियोजनाका संयोजक नवीन चन्द्र भट्टले जानकारी दिनुभयो ।
वर्षेनी विपद्का घटनाहरू क्रमिक रूपमा बढिरहेको परिस्थितिमा विपद् व्यवस्थापनका लागि प्रविधिको उच्चतम प्रयोग गर्न सकेमा विपद् सम्बन्धी पूर्व सतर्कता, तयारी र आवश्यक व्यवस्थापन गर्न सहज हुने देखिन्छ । यद्यपि स्थानीय तहहरू लगायत सरोकारवाला सङ्घसंस्थाहरूले भने प्रविधिको भरपुर प्रयोग गर्न आवश्यक छ ।