हरिश्चन्द्र बाग, कञ्चनपुर, १० साउन । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगर स्थित शारदा माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फ कृषि बाली विज्ञान (१८ महिने कृषि जेटिए) विषयमा पढाइ हुन थालेपछि ग्रामीण क्षेत्रका थुप्रै विद्यार्थीहरू लाभान्वित भएका छन् । उक्त विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट मान्यता प्राप्त गरी तीन वर्ष अघिदेखि कृषि जेटिए विषयका १८ महिने कक्षा सञ्चालन गरिरहेको छ ।
परम्परागत शिक्षा प्रणालीबाट धेरै व्यक्तिहरू बेरोजगार रहेको परिदृश्यलाई मध्यनजर गरी शारदा माध्यमिक विद्यालयले वि.सं. २०७६ मङ्सिरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट कृषि बाली विज्ञान (१८ महिने कृषि जेटिए) विषय अध्यापनका लागि मान्यता प्राप्त गरेको थियो । त्यसयता उक्त विद्यालयले प्राविधिक विषय १८ महिने कृषि जेटिएमा ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई शिक्षा प्रदान गरिरहेको शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद तिवारीले बताउनु भयो ।
घरकै खाना खाई आफ्नै गाउँ ठाउँमा कम खर्चमै कृषि जेटिए पढ्न पाएकोमा विद्यार्थीहरू पनि हर्षित देखिन्छन् । विद्यार्थीहरूले विद्यालयमै पनि पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत अढाइ बिघा जमिनमा केरा खेती गरिरहेका छन् । त्यस्तै, मौसम अनुसार ५ कट्ठा जमिनमा एसआरआई विधिबाट धान र गहुँ खेती तथा २ कट्ठा जमिनमा मौसमी तथा बेमौसमी शुद्ध अर्ग्यानिक तरकारी बाली उत्पादन गर्ने गरिएको छ । कृषिमा नयाँ ज्ञान, सीप र प्रविधिको प्रयोग गर्दै आधुनिकीकरण र व्यवसायीकरण गर्ने विद्यार्थीहरूको चाहना छ ।
१८ महिने कृषि जेटिए अन्तर्गत विद्यार्थीहरूलाई १ वर्ष पढाइ र ६ महिना फिल्ड ओजेटीमा पठाउने गरिन्छ । नयाँ शैक्षिक सत्रका लागि समेत विद्यालयले आवश्यक तयारी गरिरहेको छ । एसइई परीक्षा दिई राम्रो ग्रेड ल्याई उत्तीर्ण भएका मात्र नभई ननग्रेड ल्याई अन्य विषय पढ्न नपाउने विद्यार्थीहरूले समेत कृषि जेटिए पढ्न पाउने हुँदा यस वर्ष विद्यार्थी सङ्ख्यामा थप बढोत्तरी हुने विद्यालयको अपेक्षा छ । कृषिमा प्रचुर सम्भावना बोकेको क्षेत्रमा कृषि प्राविधिकहरूको सङ्ख्या बढाउन सकेमा कृषि उत्पादनमा वृद्धि गर्न सकिने कृषि जेटिएका कार्यक्रम संयोजक मन्तुराम चौधरीको भनाइ छ ।
विद्यार्थीहरूको प्रत्यक्ष सहभागितामा उक्त विद्यालयले रासायनिक मलको प्रयोग न्यूनीकरणका लागि गँड्यौला मल उत्पादन समेत गरिरहेको र निकट भविष्यमा गँड्यौला मलको बजार प्रवर्द्धन गर्ने, विद्यार्थी समूह दर्ता गरी थप कार्यक्रम वृद्धि गर्ने, थप जमिन लिजमा लिएर केरा खेतीलाई ५ बिघासम्म र तरकारी खेतीलाई ७ कट्ठासम्म पुर्याउने विद्यालयको लक्ष रहेको छ । ग्रामीण क्षेत्रका विद्यार्थीहरूको सहज आवागमनका लागि स्कुल बस भित्र्याउन भारतीय राजदूतावासमा समेत पहल गरिरहेको उक्त विद्यालयका शिक्षक अमर सिंह बिष्टले जानकारी दिनु भएको छ ।