हरिश चन्द्र बाग, कञ्चनपुर, १३ पुस । “थारू एकता हमार सान, शिक्षा, भाषा, संस्कृति पौरहैती लैजैना हमार साझा अभियान” भन्ने नाराका साथ कञ्चनपुरको बेलौरीमा "ड्वासर बेलौरी माघ म्याला" आयोजना हुन गईरहेको छ । थारु कल्याणकारिणी सभा बेलौरीको आयोजनामा थारु समुदायको मुख्य चाड माघीको अवसर पारेर मेला आयोजना गरिएको मेला मुल आयोजक समितिले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
कार्यक्रमका लागि थारू कल्याणकारिणी सभा कञ्चनपुरका उपसभापति सुनिता चौधरीको संयोजकत्वमा २१ सदस्यीय मुल आयोजक समिति तथा विभिन्न उपसमिति समेत गठन गरिएको छ । थारु समुदायको पहिचान, भाषा र संस्कृतिको जगेर्ना गर्ने मुल उद्देश्यका साथ मेला आयोजना गरिएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण गम्वाले बताउनु भयो । पुस २६ गते बिहान ८ देखि साँझ ६ बजेसम्म गरी २८ गतेसम्म मेला लाग्ने समेत गम्वाले जानकारी गराउनु भयो ।
मेलामा प्रथम दिन रक्तदान कार्यक्रम, कान चेकजाँचको नि:शुल्क शिविर तथा एसइइ फारवेस्ट आईकन २०१८ बिजेता भावना चौधरी, बेलौरी नगरपालिका भित्रका गुरूवाहरू, यसईई २०७५ मा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रा, उत्कृष्ट किसान, मिस्टर एण्ड मिस रानाथारू कल्चर आईडल २०७६ विजेतालाई समेत सम्मान गरिने स्वागत तथा सम्मान व्यवस्थापक उपसमितिका संयोजक रेशम चौधरीले बताउनु भयो ।
साथै प्रत्येक दिन थारु समुदायको मुख्य परिकार, रहनसहन र भेषभुषा सम्बन्धी ३० ओटा सांस्कृतिक स्टल रहने तथा थारु जातिको परम्परागत कला संस्कृति झल्कने झाँकी, मघौटा नाच, मुङ्गह्रवा नाच, झुम्रा नाच, थारु र गैरथारु राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने सांस्कृतिक तथा झाँकी व्यवस्थापक उपसमितिका संयोजक बिक्रम चौधरीले बताउनु भयो ।
कार्यक्रममा नेपाल खानेपानी संस्थानका अध्यक्ष जिउलाल चौधरीले आफ्नो संस्कृति बचाउनका लागि यो कार्यक्रमले सकारात्मक सन्देश दिने बताउनु भयो । यस्तै मेला आयोजक समितिका संयोजक सुनिता चौधरीले बेलौरीको विकासका निम्ती थारु समुदायको विकास हुन अति आवश्यक रहेको र आफु परिवर्तन भएमात्र समुदायलाई परिवर्तन गर्न सकिने बताउनु भयो ।
मेला संचालनका लागि झण्डै ११ लाख बराबर खर्च हुने अनुमान गरिएको छ । जसमध्ये ५ लाख रुपैयाँ सहआयोजक समेत रहेको बेलौरी नगरपालिका कार्यालयले उपलब्ध गराउने छ भने बाँकी विभिन्न क्षेत्रबाट प्रायोजक तथा सहप्रायोजक सहित सहयोगी हातहरुको खोजी भइरहेको आर्थिक व्यवस्थापक उपसमितिका संयोजक दिनेश चौधरीले जानकारी दिनुभयो । मेलाको उद्घाटन खानेपानी मन्त्री विना मगरले गर्ने तयारी रहेको छ ।