हरिश्चन्द्र बाग, कञ्चनपुर, ३१ असार । कञ्चनपुरको बेलौरी नगरपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ । नेपाल सरकारको स्वीकृत “साक्षर नेपाल कार्यक्रम“ अन्तर्गत १५ वर्ष देखि ६० वर्ष उमेर समूहका नागरिकहरूको साक्षरता दर बेलौरी नगरपालिकामा ९६.८३ प्रतिशत पुगेकोले शुक्रबार एक कार्यक्रमका बिच साक्षर पालिका घोषणा गरिएको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताउनु भयो । नगर क्षेत्र भित्रका निरक्षर नागरिकलाई समेत साक्षर बनाउन बेलौरी नगरपालिकाले नयाँ रणनीतिक योजना बनाइरहेको नगर प्रमुख चौधरीले उद्घोष गर्नुभयो ।
बेलौरी नगरपालिकाको सभाहल भित्र आयोजित मूल समारोहका बिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले साक्षर पालिका घोषणा भएको उद्घोष गर्नुभयो । त्यस क्रममा उहाँले नेपाल सरकार र सुदूरपश्चिम प्रदेश सरकारको समेत नीति अनुरूप बेलौरी नगरपालिकाले आवश्यक मापदण्ड पूरा गरी साक्षर घोषणा गर्ने चरणसम्म पुगेकोमा खुसी व्यक्त गर्नुभयो । सुदूरपश्चिमका ८८ वटै स्थानीय तहहरूलाई आवश्यक मापदण्ड पुर्याई साक्षर बनाउने कार्यमा प्रदेश सरकार समेत केन्द्रित रहेको मुख्यमन्त्री भट्टले बताउनु भयो । प्रदेश सरकारले अन्य विकाससँगै शैक्षिक विकासमा समेत जोड दिएको उहाँको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी, पूर्व सांसद तथा संविधान सभा सदस्य दिवान सिंह बिष्ट, शिक्षाविद् प्रेमसिंह बोहरा लगायत कार्यक्रमका वक्ताहरूले शतप्रतिशत साक्षर बनाउने अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनु भएको छ । त्यस क्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले कञ्चनपुर जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी अन्तर्गत बेलौरी नगरपालिकालाई साक्षर पालिका घोषणा गरिएकोमा बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले निर्धारित उमेर समूहका नागरिकहरू मध्ये निरक्षर नागरिकहरूलाई लक्षित गरी साक्षरता अभियान सञ्चालन गरिने बताउनु भएको छ ।
बेलौरी नगरपालिकाको साझेदारीमा वडा नम्बर १ देखि ४ सम्म नवयुग सामुदायिक सिकाइ केन्द्रले साक्षरता अभियान सञ्चालन गरेको केन्द्रका अध्यक्ष पल्लवराज भट्टले बताउनु भयो । त्यस्तै, वडा नम्बर ५ देखि ७ सम्म सूर्योदय सामुदायिक सिकाइ केन्द्रले साक्षरता अभियान सञ्चालन गरेको अध्यक्ष हरेन्द्र सिंह बिष्टले बताउनु भएको छ । बेलौरी नगरपालिका वडा नम्बर ८ देखि १० सम्म सम्झौता सामुदायिक सिकाइ केन्द्रले साक्षरता अभियान सञ्चालन गरेको अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिनुभयो । बेलौरी नगरपालिकाले साक्षरता अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सामुदायिक सिकाइ केन्द्रहरूलाई सम्मानित गरेको छ । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको बेलौरी नगरपालिका शिक्षा शाखाका संयोजक देव बहादुर चन्दले जानकारी दिनुभएको छ ।
पूर्ण साक्षरता बनाउन केही सूचक बनाइएको र सो सूचकका आधारमा साक्षर घोषणा गर्न सकिने प्रावधान तोकिएको छ । सूचकमा राष्ट्रभाषा वा मातृभाषाका वर्णका अक्षरको पढाइ र लेखाइ गर्न सक्ने, राष्ट्रभाषा वा मातृभाषामा लेखिएको मूल्य सूचि र बिलको पढाइ, आफ्ना परिवारका सदस्यहरूको नाम, उमेर लेखाइ र पढाइ, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न जान्ने, शून्यदेखि नौ सम्मका अङ्कका अक्षर लेखाइ, १ देखि १ सयसम्म सङ्ख्या गणना, लेनदेनको हिसाब राख्ने लगायतका सूचक रहेका छन् । २०७६ साल भित्र देशका सबै जिल्ला नै पूर्ण साक्षर घोषणा गरी नेपाललाई नै साक्षर देश घोषणा गर्ने लक्ष्य नेपाल सरकारको रहे पनि कोभिड १९ को महामारीका कारण कार्यक्रम प्रभावित भएको थियो ।