कञ्चनपुर, १८ असार । कञ्चनपुरको बेलौरीमा इन्जिनियरिङ कन्सल्टेन्सी सञ्चालनमा ल्याइएको छ । इन्जिनियरिङ तथा निर्माणको क्षेत्रमा क्रियाशील युवाहरूको समूहले बेलौरीमा नवलक्ष्मी इन्जिनियरिङ सोलुसन प्रा.लि. नामको कन्सल्टेन्सी सञ्चालनमा ल्याएको हो । शनिबार उक्त कन्सल्टेन्सीको उद्घाटन गर्दै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले सम्भवतः पहिलो पटक बेलौरीमा स्थापना भएको कन्सल्टेन्सीले यस क्षेत्रका कार्यालय तथा संघसंस्थाहरू, निर्माण व्यवसायी र नागरिकलाई समेत निर्माणका कार्यमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । अनुभवी युवाहरूको समूहले स्थापना गरेको कन्सल्टेन्सीले लक्षित वर्गलाई सस्तो सुलभ सेवा प्रदान गर्न समेत उहाँले प्रेरित गर्नुभयो ।
उद्घाटन समारोहका सभाध्यक्ष ओब्जंग शाहले इन्जिनियरिङ तथा निर्माणको क्षेत्रमा क्रियाशील युवाहरूलाई बेलौरीमा कन्सल्टेन्सी सञ्चालन गर्न उत्प्रेरणा प्रदान गरेको बताउँदै निरन्तर सेवा दिन आग्रह गर्नुभयो । उद्घाटन समारोहमा बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी, बुद्धिजीवी प्रेमसिंह बोहरा सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग व्यवसायी, निर्माण व्यवसायी तथा युवाहरूको समेत उपस्थिति रहेको थियो ।
बेलौरी नगरपालिका कार्यालयको उत्तर–पूर्वी कर्नरमा कार्यालय स्थापना गरेको नवलक्ष्मी इन्जिनियरिङ सोलुसन प्रा.लि.ले आधुनिक डिजाइनका घर नक्सा, थ्री डी डिजाइन, सम्पत्ति मूल्याङ्कन, ईआइए र आइइइ रिपोर्ट, रोड डिजाइन, बिल्डिङ सुपर भिजन, सम्भाव्यता अध्ययन, डिपिआर, सर्भे, सीपमूलक तालिम, सफ्टवेयर तालिम, बिल इस्टिमेट, साइट प्लानिङ र इन्जिनियरिङ सम्बन्धी ट्युसन कक्षा लगायतका सेवा उपलब्ध गराउने कन्सल्टेन्सीका प्रतिनिधि सौगात उपाध्यायले बताउनु भयो ।