कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा नगर स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ । बेलौरी नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखाको आयोजनामा सोमबार महाकाली माध्यमिक विद्यालय बेलौरीमा एक कार्यक्रमको आयोजना गरी नगर भित्र रहेका आधारभूत र माध्यमिक तहका सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागितामा नगर स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको हो । नगर स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा प्रतियोगिताको शीर्षक “भाषा,कला,साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्धनमा विद्यार्थीको भूमिका” राखिएको थियो ।
माध्यमिक तहको नगर स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा श्री सिद्धार्थ बोर्डिङ स्कुल बेलौरीका विद्यार्थी पुष्पा भट्ट प्रथम हुँदै १५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । भगवानपुर माध्यमिक विद्यालय भुडाका विकास बिष्ट द्वितीय स्थान हासिल गर्दै १३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । लिटिल गार्डेन बोर्डिङ स्कुल गोकुलपुरका नेहा नेपाली तृतीय स्थान हासिल गर्दे १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । यस्तै आधारभूत तहतर्फ श्री सिद्धार्थ बोर्डिङ स्कुल बेलौरीका विद्यार्थी भावना देउवा प्रथम हुँदै १३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । वात्सल्य विद्या निकेतन बेलौरी रिछाहाका सान्त्वना पोखरेल द्वितीय स्थान हासिल गर्दै ११ हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । लिटिल गार्डेन बोर्डिङ स्कुल गोकुलपुरका रोशनी खनाल तृतीय स्थान हासिल गर्दे नगद १० हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा बेलौरी नगरपालिकामा रहेका माध्यमिक तहका २२ र आधारभूत तहका २५ ओटा सामुदायिक तथा संस्थागत विद्यालयहरूको सहभागिता रहेको बेलौरी नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखामा कार्यरत प्राविधिक सहायक अमित प्रसाद भट्टले जानकारी दिनुभएको छ । कुनै पनि विद्यार्थी सफल र अगाडी बढ्नका लागि किताब मात्र पढेर होइन समग्र बाहिरी ज्ञानको धेरै आवश्यकता पर्ने भएकोले यस्ता प्रतियोगिताले थप मद्दत गर्ने बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरीले बताउनु भयो । आगामी दिनमा बेलौरी नगरपालिकाले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्ने पनि उहाँले बताउनुभएको छ । यस्तै विद्यालयको पाठ्यक्रमले तोकिएको शिक्षण सिकाई क्रियाकलापहरूलाई सहयोग गर्ने खालका अतिरिक्त क्रियाकलापको माध्यमबाट बालबालिकाहरूको बौद्धिक, शारीरिक र संवेगात्मक विकाश गर्ने लक्ष्य राख्ने भएकाले विद्यालयहरूले पनि यस्ता प्रतियोगिता राख्नु बेलौरी नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख देव बहादुर चन्दले आग्रह गर्नुभएको छ ।
विद्यार्थीको चौतर्फी विकासका लागी बेलौरी नगरपालिकाले विभिन्न खालका शैक्षिक सामाग्री,शिक्षण सिकाई क्रियाकलाप र अतिरिक्त क्रियाकलापको माध्यमद्वारा विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गर्ने प्रयास गरिरहेको शाखा प्रमुख चन्दले बताउनुभयो । शिक्षा युवा तथा खेलकुद विकास शाखा प्रमुख देव बहादुर चन्दको सभापतित्वमा रहेको कार्यक्रमको प्रमुख अतिथिमा बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी रहनुभएको थियो । विशिष्ट अतिथिमा बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी, महाकाली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह बोहरा, महाकाली बहुमुखी क्याम्पस बेलौरीका क्याम्पस प्रमुख धर्मराज जोशी रहनु भएको थियो । प्रतियोगितामा सहभागी सबै विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू, शिक्षा शाखामा कार्यरत कर्मचारी, पत्रकार तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।