मोहन बिष्ट, कञ्चनपुर, १२ पुस । सुदूरपश्चिममा खेलिने भुवाँ खेल कञ्चनपुरमा समेत खेलिदै छ । सुदूरमा खेलिने देउडा जस्तै भुवाँ खेल पनि खेलिन थालेको छ । खप्तड समाज कञ्चनपुरको आयोजनामा शनिबारदेखि महेन्द्रनगरमा भुवाँ खेल खेलिन लागिएको छ । लोक संस्कृति संरक्षणका लागि भुवा खेल खेलेर पर्व संरक्षण गर्न लागिएको हो ।
खप्तड समाजका अध्यक्ष महेन्द्र बहादुर खडकाले परापुर्वकालदेखि मनाउदै आएको भुवाँ पर्वको संरक्षणका लागि खेल खेलिन लागिएको बताए । उनका अनुसार चारदिनसम्म महेन्द्रनगरको शिवधाम क्षेत्रमा खेल खेलिने छ । भुवाँ खेलको सुदूरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खडकाले उद्घाटन गर्दै भुवाँ खेलको संरक्षणमा जोडदिए । नयाँ पुस्तालाई समेत भुवाँ पर्वबारे संस्कृति हस्तान्तरण आवश्यक रहेको प्रदेश सभा सदस्य खडकाको भनाई थियो ।
भुवाँखेलका जानकार पण्डित लक्ष्मीकान्त जोशीले प्राचिन समयमा भगवान र हिरण्य राक्षस विचको लडाईमा भगवानले जितेको खुसियालीमा भुवाँ पर्व मनाईने बताए । श्रृष्टीको शुरुवातमा ब्रम्मा जीले स्वमान्धुर र सतरुपालाई श्रृष्टीकर्तामा नियुक्ती गरेपछि भुमि अर्थात पृथ्वी पानीमा डुबेको थियो । ‘श्रृष्टीकर्ताले पानीमा घुसेर डुबेको भूमी फिर्ता गराएको किम्बदन्ती छ, ‘पण्डित जोशीले भने, ‘ब्रह्माले विष्णूको प्राथना गर्दा विष्णूले ब्रह्माको नाकबाट झिगाको रुपमा बाहिर निस्किए ।’
पण्डित जोशीका अनुसार रुप परिर्वतन गर्ने झिँगा विष्णूले बदेलको रुपमा परिर्वतन गरेर पानी भित्रको पृथ्वी अर्थात भूमीलाई दाँतले उचालेपछि हिरण्य राक्षसले पुथ्वीलाई दिएको हो, झिगा मितिजस्ता बदेलले पृथ्वीमा अधिकार जमाउँन पाईदैन भन्दा भगवान र राक्षस विच लडाई भएको थियो । कहिलेकाही भूमी निवासी हामी बदेल र तिमि जस्ता भुकुरको खोजिमा पानी पनि केही होईन भनेर विवाद हुने गरेको छ ।
पण्डित जोशीका अनुसार मंसिर पुँणिमा भुवा जगाईन्छ । पुषको औषीमा भुवा समापन गरिने प्रचलन छ । ‘पुषदेखि यता १५ दिन सेनालाई तालिम दिने हातहतियार निर्माण गर्ने हो, पञ्चेबाजा बजाई सेनालाई दुस्मनसंग युद्धमा लड्न तयारी थालिन्छ, ‘उनले भने, ‘यो भूमीको रक्षाका लागि शासकले तयारी थाल्ने समयलाई भुवा पर्वमा परिणत गरिदियो ।’ पञ्चेबाजागाजा सहित हात हातमा ढाल तरबारका साथ देउडा जस्तै पाईला मिलाएर भुवाँ खेलिन्छ । खेलबाट शारिरिक एव मानसिक रुपमा अभ्यास हुने गर्छ ।
भुवाँमा समाजिक, धार्मिक एव एकता महिना रहेको पण्डित जोशीले बताए । उनका अनुसार समाजिक एक रुपता, नयाँ खोजबिन, संस्कृति संरक्षण, राजा रजौटाले मातृभूमीका लागि गर्ने तयारी बन्दोबस्त, आफ्नो भूमी जोगाउने, भूमी संरक्षणका लागि पृथ्वीबाट हिरण्य राक्षसी प्रवृति हटाउने र भगावन जस्ता असल व्यक्तित्वको सुरक्षाका लागि भुवाँ पर्वलाई लिईन्छ ।
कञ्चनपुरको महेन्द्रनगर, दोधारा चाँदनी सहितका विभिन्न ग्रामिण भेगमा धुमधामका साथ भुवाँ पर्वको खेल खेलिन्छ । प्रदेश सरकारले समेत सुदूरपश्चिममा १० पुषमा भुवा पर्वको अवसरमा पहिलो पटक सार्वजनिक विदा दिएको छ । भुवाँ पर्वलाई सुदूरपश्चिम प्रदेशको मुख्य लोक संस्कृतिको रुपमा लिईन्छ ।