हरिश्चन्द्र बाग, कञ्चनपुर, १० असार । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको ११ औँ गाउँ सभा अधिवेशन सुरु भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्न शुक्रबार बेलडाँडी गाउँपालिकाले ११ औँ गाउँ सभा अधिवेशन सुरु गरेको हो । गाउँपालिका अध्यक्ष हरिश चन्द्र रानाको सभाध्यक्षतामा आयोजित अधिवेशनमा पूर्व सांसद एवं संविधानसभा सदस्य दिवान सिंह बिष्टको प्रमुख आतिथ्य तथा जिल्ला समन्वय समिति कञ्चनपुरका उपप्रमुख राम कुमारी रानाको विशिष्ट आतिथ्यमा अधिवेशनको उद्घाटन समारोह सञ्चालन गरिएको हो ।
अधिवेशनको उद्घाटन समारोहका वक्ताहरूले शिक्षा, स्वास्थ्य, बाटोघाटो, कृषि, सिँचाइ, सिमसार क्षेत्र व्यवस्थापन, नदि नियन्त्रण, सीमा विवाद समाधान, भूमि सम्बन्धी समस्या समाधान, आरक्षपीडित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन, खेलकुद, सञ्चार तथा जनजीविकासँग जोडिएका सवालमा गाउँपालिकाले कार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नु भएको छ ।
अधिवेशनका प्रमुख अतिथि पूर्व सांसद एवं संविधानसभा सदस्य दिवान सिंह बिष्टले तीन वटै तहका सरकारको समन्वय र सहकार्यमा गाउँपालिकाको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । आफूले कञ्चनपुर क्षेत्र नम्बर १ को नेतृत्व गर्दा विकासका कार्यले गति लिएको स्मरण गर्दै बिष्टले जनहितमा रही काम गर्न गाउँपालिकाका जनप्रतिनिधिहरूलाई अनुरोध गर्नु भएको छ । अधिवेशनमा आगामी आर्थिक वर्षका लागि ४८ करोड ७८ लाख ७८ हजार ४ सय ५८ बराबरको अनुमानित बजेट प्रस्तुत गरिएको बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथले जानकारी दिनुभएको छ । उक्त बजेट माथि यही असार १४ गते गाउँ सभामा थप छलफल गरिने बेलडाँडी गाउँपालिकाका प्रवक्ता गज बहादुर बिष्टले बताउनु भएको छ ।