हरिश्चन्द्र बाग, कञ्चनपुर, ०९ असार । जुन २३ तारिख, अन्तर्राष्ट्रिय एकल महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर १२ औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइएको छ । ‘अदृश्य महिलाको अदृश्य समस्या’ भन्ने मूल नारा सहित बिहीबार यो दिवस मनाइएको हो । दिवसका अवसरमा एकल महिला समूह र सम्बन्धित क्षेत्रमा क्रियाशील संघसंस्थाहरूको सक्रियतामा देशका विभिन्न भूभागहरूमा महिला सम्मान तथा भेला, अन्तरक्रिया, छलफल, गोष्ठी, सेमिनार लगायतका विविध कार्यक्रमहरूको आयोजना गरिएको छ ।
यसैबिच कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा समेत १२औँ अन्तर्राष्ट्रिय एकल महिला दिवसका अवसरमा संवाद कार्यक्रम गरिएको छ । वुमनकाइन्ड वल्र्डवाइडकाे सहयोगमा मानव अधिकारको लागि महिला एकल महिला समूहले उक्त संवाद कार्यक्रमको आयोजना गरेको हो । नेपालमा सीमान्तकृत महिलाको आवाज र सहभागिता विषयमा स्थानीय सरकार र सीमान्तकृत एकल महिलाबिच संवाद कार्यक्रम गरिएको मानव अधिकारको लागि महिला एकल महिला समूह बेलडाँडीका सामाजिक परिचालक दीपा जोशीले जानकारी दिनुभयो । कार्यक्रममा एकल महिलाको वर्तमान अवस्था, अवसर र चुनौतीबारे संवाद गरिएको मानव अधिकारको लागि महिला एकल समूह अन्तर्गतको पेप परियोजनाका जिल्ला संयोजक वीर बहादुर नेपालीले बताउनु भयो ।
मानव अधिकारको लागि महिला एकल महिला समूह कञ्चनपुरका जिल्ला सदस्य चन्द्रा खडायतको अध्यक्षतामा आयोजित कार्यक्रममा बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र राना, उपाध्यक्ष शान्ति नाथ, जिल्ला समन्वय समितिका उपप्रमुख राम कुमारी राना, वडाध्यक्ष तथा सदस्यहरू, कार्यपालिका सदस्यहरू, निवर्तमान उपाध्यक्ष कमला कार्की सहित निवर्तमान जनप्रतिनिधिहरू, सम्बन्धित फाँटका कर्मचारीहरू, पत्रकार तथा सरोकारवालाहरूको सहभागिता रहेको बताइएको छ । संयुक्त राष्ट्रसंघको महासभाले सन २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रूपमा घोषणा गरेपछि सन २०११ देखि दिवस मनाउन लागिएको हो । राष्ट्रसंघले श्रीमान् गुमाएका, श्रीमान् हराएका, सम्बन्ध विच्छेद गरेका र बिहे नगरी बसेका महिलालाई एकल महिला भनी उल्लेख गरेको छ ।