धनबहादुर बिक, कञ्चनपुर, ०६ असार । कञ्चपुरकाे पुनर्वासमा स्थानीय बाल अधिकार समिति गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सानै छु म बढ्न देऊ, बाल विवाह होइन पढ्न देऊ भन्ने नारा सहित पुनर्वास नगरपालिकामा सम्पन्न भएको बैठकले नगर उपप्रमुख भुलिया कुमारी रानाको अध्यक्षतामा १५ सदस्यीय नगर स्तरीय बाल अधिकार समिति गठन गरेको हो । समितिको सदस्यमा वडा सदस्य गोमति बिष्ट, सदस्य प्रदीप सिंह, नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भट्ट, स्वास्थ्यकर्मी रामबहादुर धामी, चिकित्सक मोसा तामाङ, प्रहरी प्रमुख नरेशराज मल्ल, प्रधानाध्यापक मानबहादुर तामाङ, समाजसेवी हरि प्रसाद अधिकारी, समाजसेवी कञ्चन गिरी, पत्रकार धनबहादुर बिक तथा सदस्य सचिवमा रिता मल्ल रहनु भएको छ । एक जना कानुन व्यवसायी र एक जना स्थानीय संघसंस्थाबाट तथा एक जना बाल सञ्जालबाट थपी समितिलाई पूर्णता दिइने सदस्य सचिव रिता मल्लले जानकारी दिनुभयो ।
बाल अधिकार समितिले दीर्घकालीन नीति, योजना र वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा गर्ने र बालबालिकाको अधिकारको सम्मान, संरक्षण, प्रवर्द्धन र परिपूर्तिको लागि आवश्यक स्थानीय नीति, कानुन, योजना, कार्यक्रम र संस्थागत संयन्त्रको व्यवस्था गर्न नगरपालिकालाई सुझाव दिने छ । त्यसै गरी नगरपालिकामा सञ्चालित बालबालिका सम्बन्धी कार्यक्रमको अनुगमन, मूल्याङ्कन तथा समीक्षा गरी सुझाव दिने, बाल अधिकार सम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि नेपाल सरकार, प्रदेश सरकार, अन्य स्थानीय तह र सरोकारवालाहरूसँग समन्वय तथा सहकार्य गर्ने, नेपाल पक्ष रहेका बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय, क्षेत्रीय सन्धिसँग सम्बन्धित स्थानीय तह स्तरीय आवधिक प्रतिवेदन तयार गर्न सहजीकरण गर्ने र नगरपालिका भित्र हुनसक्ने बालविवाह, बालश्रम, शारीरिक तथा मानसिक पीडा एवं बाल यौन दुर्व्यवहार जस्ता सबै प्रकारका बाल हिंसाको रोकथाम, निषेध र नियन्त्रणका कार्यक्रमहरू, सडक नाटक, जोखिममा परेका बालबालिकाको उद्धार, पुनः स्थापना लगायतका विषयमा नगरपालिकासँग समन्वय गरी कार्यक्रमको आयोजना गर्ने समितिको काम कर्तव्य अधिकार भित्र पर्ने सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख धर्मराज जोशीले जानकारी दिनुभयो ।
समिति गठन कार्यक्रममा नगर प्रमुख तोय प्रसाद शर्माले बाल अधिकारका विषयमा नगरपालिकाबाट सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगर उपप्रमुख तथा समितिका अध्यक्ष भुलिया कुमारी रानाले नगर भित्रका कुनै पनि बालबालिकालाई बाल अधिकार हननका क्रियाकलाप हुन नदिन आफू कटिबद्ध भई लाग्ने बताउनुभयो । सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रमुख धर्मराज जोशीको सभापतित्वमामा भएको कार्यक्रममा नगर प्रमुख तोय प्रसाद शर्मा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको उद्देश्य माथि सामाजिक विकास कार्यालय कञ्चनपुरका प्रतिनिधि लक्ष्मी विकले प्रकाश पार्नु भएको थियो भने सहजीकरण नगरपालिकाका कर्मचारी ओमनाथ ढकालले गर्नु भएको हो ।