हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ असार । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले कार्यपालिकाबाट गरिएका निर्णयहरू सार्वजनिक गरेको छ । बुधबार दिउँसो गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष हरिश चन्द्र राना र उपाध्यक्ष शान्ति नाथको समुपस्थितिमा गाउँपालिकाका प्रवक्ता गजबहादुर बिष्टले ३ पटक बसेको कार्यपालिका बैठकका निर्णयहरू सार्वजनिक गर्नुभएको हो ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिए अनुसार, बेलडाँडीमा १५ शय्याको अस्पताल निर्माणको कार्यलाई गति दिने, आरक्षपीडित, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा उपलब्ध गराउन आवश्यक पहल गर्ने, सिमसार क्षेत्रलाई पुनरुत्पादन योग्य बनाउन ढल निर्माण गर्ने, गाउँमै विज्ञान बहुमुखी शिक्षालय स्थापना गर्ने, शिक्षामा थप दरबन्दी माग गरी सामुदायिक विद्यालयको स्तर वृद्धि गर्ने, खेलकुद विकासका लागि खेलकुद मैदान, कवर्ड हल तथा रङ्गशाला निर्माण, रेडक्रस उपशाखा स्थापना, विद्युत् महसुल काउन्टर स्थापना गर्ने जस्ता निर्णय गरिएका छन् ।
त्यस्तै, गर्भवती तथा सुत्केरी महिलालाई एम्बुलेन्स सेवामा पालिका भित्र निःशुल्क र पालिका बाहिर ५० प्रतिशत छुट गर्ने, छोरी जन्मिए ३ हजार भत्ता दिने, विपन्न परिवारलाई ३० युनिट सम्मको विद्युत् महसुलमा पूर्ण छुट सुविधा दिने, पालिका भित्रका मठमन्दिरका पुरोहित, पाष्टर, भलमन्साहरूलाई वार्षिक रु. ५ हजार रकम सहयोग स्वरूप दिने, ‘गरिबसँग बिपी कार्यक्रम’ मार्फत विपन्न गरिब एवं अशक्त नागरिकको जीवन स्तरोन्नतिका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको प्रवक्ता बिष्टले सुनाउनु भयो ।
सुशासन कायम गर्दै विकासका कार्य गर्ने योजना अघि सारेको बेलडाँडी गाउँपालिकाले विभिन्न समितिहरूको जिम्मेवारी समेत बाँडफाँड गरेको छ । बेलडाँडी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गज बहादुर विष्टलाई गाउँपालिका प्रवक्ता सहित सामाजिक विकास समिति संयोजक, वडा नम्बर २ का वडाध्यक्ष नारद सिंह उ¥याललाई विधेयक समिति संयोजक, वडा नम्बर ३ का वडाध्यक्ष दुर्गा प्रसाद चौधरीलाई पूर्वाधार विकास समिति संयोजक र सदस्य तारा गिरीलाई सार्वजनिक सुशासन समिति संयोजक, वडा नम्बर ४ का वडाध्यक्ष वीर बहादुर खड्कालाई वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक र वडा नम्बर ५ का वडाध्यक्ष इन्द्र खड्कालाई आर्थिक विकास समिति संयोजकको जिम्मेवारी दिइएको बेलडाँडी गाउँपालिकाले जनाएको छ ।
पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरूका प्रश्न र जिज्ञासाहरूलाई सम्बोधन गर्दै बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाले समृद्ध बेलडाँडीका लागि आफूहरू केन्द्रित भएको उल्लेख गर्नुभयो । गाउँवासीका आधारभूत आवश्यकतालाई प्राथमिकता दिँदै काम गरिने उहाँको भनाइ छ । बेलडाँडी गाउँपालिकाले यही असार १० गते गाउँ सभाको आयोजना गरी आगामी आर्थिक वर्ष २०७९।०८० को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने तयारी गरेको अध्यक्ष रानाले जानकारी दिनुभयो । त्यस्तै, बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथले महिलाका सवाल र जनजीविकालाई प्राथमिकतामा राखेर सुधारका योजना बनाइरहेको बताउनु भयो । महिलालाई सक्षम र आत्मनिर्भर बनाएर हिंसा मुक्त समाज निर्माणको परिकल्पना गरिएको उहाँले सुनाउनु भयो ।